Comments Add Comment

ठूलो परिमाणको रकमसहित जनकपुरमा ४ हुन्डी कारोबारी समातिए

२२ पुस, काठमाडौैं । प्रहरी जनकपुर उपमहानगरपालिका–११, किशोरीनगरबाट ठूलो रकमसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय, धनुषाबाट खटिएको संयुक्त टोलीले हुन्डी कारोबार गर्न लागिएको ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना कारोबारीलाई पक्राउ गरेको हो ।

प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरिबहादुर पालका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक मधुवनी, बासोपट्टी बस्ने ४० वर्षीय सन्तोष महतो, ४० वर्षीय नरेश महतो, जनकपुर–१९ का विजय यादव र जनकपुर–२ का ३८ वर्षीय मोख्तार अहमत छन् ।

उनका अनुसार मोख्तारले जनकपुर–२ मा कलेक्सन सु–सेन्टर सञ्चालन गरेका छन् । उनीहरुको साथबाट विभिन्न बैंकका ३० वटा चेक, भौचर, हिसाब खाता र ६ वटा मोबाइल फोनहरुमा पनि बरामद भएको छ ।

स्रोतका अनुसार घटनामा संलग्न एक जना अझै फरार छन् । फरार हुनेमा रामेश्वर शाह छन् । उनी भारतीय नागरिक भएको प्रहरी बताउँछ । उनकै योजनामा हुन्डी कारोबार हुने गरेको पक्राउ परेकाहरुले बयान दिएका छन् ।

उनीहरुको बयान र थप प्रमाणका आधारमा उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, जनकपुरले जनाएको छ । जनकपुर प्रहरीका एक अधिकारीले भने, ‘उनी नभेटिए फरार प्रतिवादी बनाएर मुद्दा दायर गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment