Comments Add Comment

सभामुखलाई प्रधानमन्त्रीको डर कि विपक्षीको आवाज थुन्ने रहर ?

२२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झण्डै ६ महिनापछि सदनमा सार्वजनिक वक्तव्य दिए । तर, उनलाई प्रश्न सोध्न नपाउँदा प्रमुख विपक्षी कांग्रेसले संसदमै नाराबाजी गर्‍यो र प्रधानमन्त्रीको सम्बोधन खल्लो बन्यो ।

प्रधानमन्त्री ओलीले १२ असारपछि पहिलोपटक आइतबार संसदलाई सम्बोधन गरेका थिए । झण्डै एकघण्टा लामो वक्तव्य दिएका उनले सरकारको १० महिनाका ‘उपलब्धीहरु’ मात्रै प्रस्तुत गरेनन्, विपक्षी दलले संसद र सार्वजनिक मञ्चहरुबाट उठाउँदै आएका केही प्रश्नको जवाफ पनि दिए ।

तर, जब विपक्षी सांसदहरुले प्रश्न गर्न हात उठाए, सभामुख कृष्णबहादुर महरा बाधक बने । विपक्षी सांसदहरुले ‘के हो माननीय सदस्यहरु’ भन्दै उनले भने, ‘माननीय सदस्यहरु, सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएको वक्तव्य सरकारको काम कारवाहीबारे जानकारीमूलक हो, यो प्रश्नोत्तरको कार्यक्रम होइन ।’

प्रतिनिधिसभा नियमावलीको परिच्छेद ८ र ९ मा प्रश्नत्तरको व्यवस्था भएको र त्यसअनुसार छिट्टै अर्को कार्यक्रम राख्ने बताए । तर, विपक्षी सांसदहरुले चित्त बुझाएनन् । सांसद दीलेन्द्र बडूले नियमावली पल्टाए । त्यसलगत्तै मिनेन्द्र रिजालले २१९ अनुसार प्रधानमन्त्रीलाई वक्तव्य दिन दिएपछि प्रश्न सोध्न पाउनुपर्ने बताए । ।

त्यसबेलासम्म सभामुख महरा नियमावली पढ्न भन्दै थिए । विपक्षी सांसद रिजालले २१९ दोहोर्‍याएपछि उनले भने, ‘मलाई थाहा छ माननीय सदस्यहरु, २१९ अनुसार दिइनेछ । तर, सभामुखको अनुमति चाहिन्छ ।’

सभामुख महराले पटक-पटक विपक्षी सांसलाई यो प्रश्नउत्तर गर्ने सम्बोधन होइन भनिरहेका थिए । तर, रिजाल उभिरहे, हात उठाइरहे, प्रश्न गर्न पाउनुपर्छ भन्दै टेवल ढ्याप ढ्याप पारे ।

सभामुख महराले केही गले र ‘म सीमित सदस्यलाई मात्र एक मिनेटमा विषयमा केन्द्रित भएर प्रश्न गर्नु अनुमति दिन्छु’ भन्दै मिनेन्द्र रिजालको नाम लिए ।

सभामुखले सीमित सदस्य भनेपछि कांग्रेस सांसदहरु रिसाए । नेताहरुका अनुसार प्रश्न गर्न चाहने धेरै सांसद भए पनि सभामुखलाई सहयोग गर्ने मनसायले पाँच जनाको मात्रै नाम पठाइएको थियो । तर, सभामुखले सीमित सदस्य भनेर सांसदहरुको प्रश्न गर्न पाउने अधिकारमाथि नै प्रहार गरेको भन्दै कांग्रेस सांसदहरुले विरोध जनाएका हुन् ।
‘सीमित संख्या हुँदैन, सीमित भन्न पाइँदैन सभामुख महोदय’ सांसद रिजालले आपत्ति जनाए ।

सभामुखले महासचिवसँग सल्लाह गरे, रोक दिऊँ ? उताबाट शायद हुन्छ भन्ने जवाफ आयो, रिसाएको भावमा उनले भने, त्यसोभए माननीय सदस्यहरु, प्रश्नउत्तर गर्ने अनुमति मैले दिइनँ । अनुमति भएन माननीय सदस्यहरु ।’

सभामुख अर्को कार्यसूचीमा प्रवेश गरेपछि आक्रोशित कांग्रेस सांसदहरु नाराबाजीमा उत्रिए ।

कांग्रेस सांसदहरुका अनुसार सभामुख महराले मन्त्री तथा प्रधानमन्त्रीमाथि प्रश्न गर्न नदिएको यो पहिलो घटना होइन । १७ साउनमा गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा सम्बोधन गरेपछि विपक्षी सांसदहरुले प्रश्न गर्न चाहेका थिए । तर, सभामुखले ‘यो प्रश्न उत्तर गर्ने सम्बोधन होइन’ भनेर समय दिएनन्, जसका कारण उनीहरुले संसद बैठक बहिस्कार गरेका थिए ।

प्रधानमन्त्री ओलीको यसअघि भएको एउटा सम्बोधनमा पनि प्रश्न सोध्न ठूलै पापड बेल्नुपरेको कांग्रेस सांसदहरु बताउँछन् ।

कांग्रेस सांसद मिनेन्द्र रिजाल सांसदहरुलाई प्रश्न सोध्न दिने सभामुखको स्वविवेकीय अधिकार नभएको बताउँछन् । ‘प्रधानमन्त्रीले रेडियो, टीभीबाट सम्बोधन गरेको भए हामी प्रश्न गर्न सिंहदबार जाँदैनथ्यौं । संसदमा सम्बोधन गरेपछि प्रश्न सोध्ने सांसदहरुको अधिकार हो,’ रिजालले भने, ‘सभामुख भनेको संसदको अनुहार हो, सभामुखले संसदको गरिमा अनुसार काम गर्नुपर्छ ।’

यतिमात्र होइन, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने प्रमुख जिम्मेवारी सभामुखकै रहेको रिजाल बताउँछन् । व्यवस्थापिका संसद कार्यपालिका मातहतको अंग होइन, राज्यको तीन अंगमध्ये एक हो । तर, महराको कामकारवाही त्यसअनुसार नभएको कांग्रेस नेताहरुको गुनासो छ ।

फैजदारी अभियोगमा थुनामा रहेका रेशम चौधरीलाई ‘प्रधानमन्त्रीको निर्देशनमा सपथ खुवाएको हुँ’ भन्दै सार्वजनिक अभिव्यक्ति दिनु त्यसको पछिल्लो प्रमाण रहेको विपक्षीहरुको तर्क छ ।

यसमा कसैलाई शंका छैन कि महरा नेेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित भएका हुन् । तर, सभामुख भइसकेपछि पनि सबैको हुनुपर्नेमा बेलाबेला सत्तारुढ दलको कार्यकर्ताजस्तो व्यवहार देखाएको सांसदहरु बताउँछन् ।

आइतबार प्रश्न सोध्न नदिँदा आक्रोसित भएका मध्ये एक विपक्षी सांसद गगन थापा त्यही आशयको प्रश्न गर्छन्, ‘सरकारलाई आˆनो कुरा राख्न दिने तर, प्रतिपक्षीलाई प्रश्न गर्न दिन्न भन्ने सभामुख, सभामुख कि पार्टी सदस्य ?’

प्रधानमन्त्रीको डर कि सभामुखको पक्षपोषण ?

संसद बैठकको एजेण्डाहरु कार्यव्यवस्था परामर्श समिति तय गर्छ, जसमा सत्ता पक्ष र प्रमुख विपक्षी मात्र होइन । संसदमा भएका सबै दल उपस्थित हुन्छन् ।

आइतबार पनि कार्यव्यवस्थाले नै प्रधानमन्त्रीले सम्बोधन गर्ने लगायतका कार्यसूची बनाएको थियो । कांग्रेस सांसद थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधन पछि प्रश्न सोध्ने पूर्व सहमति थियो । प्रश्न गर्न चाहने धेरै सांसद भएपनि सभामुखलाई सहयोग गर्ने मनसायले पाँच जनाको नाम मात्र पठाइएको थियो । सभामुखले भने २ जनाको नाम मागेका थिए ।

तर, सभामुखले किन प्रश्न सोध्न दिएनन्, विपक्षी सांसदहरु आश्चर्यमा परेका छन् । कांग्रेसका एक सांसद भन्छन्, ‘प्रधानमन्त्रीले प्रश्नउत्तर नराख्नुस् भन्नुभयो कि किन हो थाहा छैन, प्रश्न सोध्न दिइएन ।’

सांसद गगन थापाले भने सत्तापक्षसँग मिलेमतो गरेर सभामुख महराले हुकुमी शैलीमा संसद चलाउन खोजेको टिप्पणी गरे ।

तत्कालीन एमाले र माओवादीले महरालाई सभामुखमा प्रस्ताव गर्दा ‘नरम’ सभामुख पाएको भन्दै कांग्रेसले खुसी भएको थियो र समर्थन गरेको थियो । सुरुसुरुमा संसदीय अभ्यास विपरीत काम हुँदा पनि सिक्दैछन् भनेर चुप कांग्रेस नेताहरु चुप बस्ने गरेको बताउँछन् । ‘तर, उहाँ त विपक्षीको भ्वाइस नै रोक्न खोज्दै हुनुहुन्छ’ आइतबारको बैठकपछि कांग्रेसका एक सांसदले अनलाइनखबरसँग भने ।

ओनसरीभन्दा कमजोर !

संसद सञ्चालनमा कुशल सभामुखका रुपमा सुवासचन्द्र नेम्वाङलाई लिइन्छ । संविधानसभाको दुई कार्यकालमा नै अध्यक्ष रहेका नेम्वाङ समग्रमा चार पटक सभामुख भए । उनी संविधानसभा अध्यक्ष भएकै बेला तत्कालीन माओवादी सांसदले बजेट बि्रफकेस तोड्नेदेखि कुर्सी र माइक हानाहानसमेत गरे ।

मधेसकेन्द्रित दलहरुको नाराबाजीका बीच संविधानका थुप्रै धाराहरु पारित गराए । तर, उनको सभा सञ्चालनलाई कसैले पनि प्रश्न उठाउने आँट गरेनन् ।

त्यसपछि तत्कालीन माओवादीबाट सभासद भएकी ओनसरी घर्ती मगर सभामुख भइन् । उनी पहिलो पहिला सभामुख पनि हुन् । दोस्रो संविधानसभामा उपसभामुख भए पनि एकदमै कम अभ्यास गरेकाले उनले कसरी सभा सञ्चालन गर्लिन् भन्ने चिन्ता तत्कालीन माओवादीकै नेताहरुमा थियो ।

तर, सुरुसुरुमा केही कमजोरी देखिए पनि ओनसरीले विस्तारै आफ्नो कार्यशैलीलाई सुधारिन् । कांग्रेसका एक सांसद भन्छन्, ‘महरा सभामुख हुँदा हामी पनि खुसी थियौं, तर, उहाँको सभा सञ्चालन शैली त ओनसरीको भन्दा कमजोर देखियो ।’

सभामुख महराले सरकारका मन्त्री नहुँदा संसद सञ्चालन गर्ने, नियमापत्ति गर्दा बोलिसकेपछि मात्रै समय दिने मात्र होइन, बेलाबेला सरकारकै मन्त्रीले झै जवाफ दिने गरेका छन् ।

आइतबार सांसदहरुलाई प्रश्न गर्न नदिएर महराले अर्को गल्ती गरेको राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले बताए । ‘प्रधानमन्त्रीले बोलिसकेपछि सांसदहरुलाई प्रश्न गर्न दिने नियमावलीकै व्यवस्था हो, त्यो नगरेर सभामुखले त्रुटी गर्नुभयो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment