Comments Add Comment

कानुनको ज्ञान नभएकाहरुले सपथ रोकेः दीपक मनाङे

२२ पुस, पोखरा । जेलबाट छुटे लगतै सपथका लागि गण्डकी प्रदेश सचिवालयमा निवेदन दिएका दीपक मनाङे भनिने राजीव गुरुङलाई रेशम चौधरीको सपथले राहत दियो ।

फौजदारी अभियोगमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका चौधरीलाई सिंहदरबार ल्याएर सपथ खुवाइयो र फेरि त्यही लगियो । यसले जेलबाट छुटेका मनाङले पनि सपथ लिएर प्रदेशसभामा जाने सपना देखेका थिए । तर, त्यो हुन सकेन ।

सभामुखले प्रदेश न्यायाधिवक्ता लगायत कानुनविद्सँग छलफल गरे । हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघिल्लो दिन सदनको कार्यसूची तयार पार्न बोलाइएको बैठकमा छलफल भयो ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेसमेत सहभागी थिए । बैठकबाट सभामुख नेत्रनाथ अधिकारीले निश्कर्ष निकाले, ‘प्रदेश सभा निर्वाचन ऐन, लगायत अन्य कानुनलाई आधार मानेर अहिलेलाई सपथ नखुवाउने ।’ सर्वोच्चबाट मुद्दाको किनारा नलागेको र आदेशबाट थुनामुक्त भएकाले सपथ खुवाउन नसकिने निर्णयमा परामर्श समिति पुग्यो ।

मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो । सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् ।

फौजदारी संहिता ऐनको दफा १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै राजीवले सर्वोच्चबाट थुनामुक्त हुने आदेश पाएका थिए । गुरुङ सपथको माग गर्दै सर्वोच्च जान सक्ने छन् । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा मनाङे निवार्चित भएका थिए ।

सभामुखको निर्णयपछि दुबै खाले प्रतिक्रिया आएका छन् । स्वयंम मनाङेले भने कानुनी ज्ञान नभएकाहरुले सपथ नखुवाउने निर्णय गरिएको बताए । ‘मलाई सपथ नखुवाउने निर्णय भएको मैले पनि सुनें । अचम्म लाग्यो’ उनी भन्छन्, ‘कानुनी ज्ञान नभएकाहरुले सपथ खुवाउन हुँदैन भन्छन् । नत्र सुपथ नखुवाउने कुनै कारण छैन ।’

उनले अघि भने, ‘कानुन पढेका राम्रा मान्छे हार्छन् । कोही व्यापारबाट, कोही के आन्दोलनबाट आएका सांसद छन् रे, उनीहरुलाई केही थाहा छैन । त्यसै हावाको भरमा सपथ लिन पाउँदैन भनेर हुँदैन । ज्ञान नभएका ठेकेदारहरुले यो देश सिध्याउने भए ।’

जसले सपथ गराउन हुँदैन भनिरहेका छन्, पद पनि उनीहरुलाई नै दिने मनाङेले बताएका छन् । ‘जबरजस्ती गर्नुभन्दा पद नै छोडिदिने हो’ उनले भने, ‘कांग्रेसले चुनाव त जित्ने होइन तर, पनि सांसद पद कांग्रेसलाई नै दिनुपर्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment