Comments Add Comment

कपी परीक्षण गर्दा २५ हजार घुस ! बाउन्स चेकले प्रहरी र अदालत हैरान

२३ पुस, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले गरेको सम्बोधन र लगत्तै प्रतिपक्षले गरेको संसद् अवरोध परेको छ । प्रतिनिधिसभाको आइतबारको गतिविधिलाई पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर उतारेका छन् ।

नयाँ पत्रिका दैनिकले ‘सरकारी अभिलेखमै नभएको तथ्यांक प्रधानमन्त्रीद्वारा प्रस्तुत’ शीर्षक दिएर प्रधानमन्त्रीले संसद्मा प्रस्तुत गरेको तथ्यांकमाथि प्रश्न उठाएको छ । प्रधानमन्त्रीले आइतबार आफ्नो सम्बोधनका क्रममा विभिन्न तथ्यांकहरु प्रस्तुत गरेका थिए । तर, नयाँ पत्रिकाले प्रधानमन्त्रीद्वारा प्रस्तुत अधिकांश तथ्यांक झूटो भएको निष्कर्ष निकालेको छ ।

नयाँ पत्रिका लेख्छ– प्रधानमन्त्रीले कतिपय तथ्यांकलाई तोडमोड गरेका छन् । सम्बोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रित रही तथ्यांकसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भने गलत सन्देश प्रवाह गरेका छन् ।

‘सम्बोधन, लगत्तै संसद् अवरोध’ शीर्षक दिएर प्रगति देखाउन प्रधानमन्त्रीले बठ्याइँ गरेको निष्कर्ष कान्तिपुरले निकालेको छ ।

अन्नपूर्णले प्रधानमन्त्रीले सम्बोधनका क्रममा व्यक्त गरेका भनाइसँगै प्रतिपक्षले किन संसद् अवरोध गरे भन्ने विश्लेषण पनि छ । सभामुख कृष्णबहादुर महराका कारण संसद्मा आइतबार हंगामा भएको निष्कर्ष अन्नपूर्णको छ ।

चुनाव लड्न डराए कांग्रेस केन्द्रीय नेता

कान्तिपुरले कांग्रेस केन्द्रीय कार्यसमितिका अधिकांश सदस्य निर्वाचनसँग डराएको लेखेको छ । समाचार अनुसार, निर्वाचनसँग डराएका नेताहरुले तलबाटै निर्वाचित हुने व्यवस्था पार्टी विधानमा राख्न नहुने पक्षमा लबिङ थालेका छन् ।

गाउँ, नहर र क्षेत्र तहमा चुनाव हारिने डरले उनीहरुले यस्तो लबिङ थालेको कान्तिपुरको निष्कर्ष छ । यही कारण माघ १० मा हुने केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि हुने प्रावधान यथावत राख्न निर्णय हुने संकेत देखिएको छ ।

रोकिँदै ८६ औषधिको आयात

नयाँ पत्रिकाका अनुसार सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३० प्रकारका औषधि प्रतिबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पुर्याइएको छ । समाचार अनुसार नेपालका २३ उद्योगको नवीकरण रोकिए पनि उनीहरुले उत्पादनलाई भने निरन्तरता दिइरहेका छन् ।

उपत्यकामा धेरै हुने अपराधमा चेक बाउन्स, प्रहरी र अदालत हैरान

काठमाडौं उपत्यकामा धेरै हुने अपराधमा चेक बाउन्स परेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । प्रहरीको तथ्यांकअनुसार चेक बाउन्समा दैनिक ८–१० उजुरी पर्छन् भने दैनिक औसतमा तीनजना पक्राउ पर्दै आएका छन् । समाचार अनुसार, चेक बाउन्सका मुद्दाले प्रहरीदेखि अदालतका कर्मचारीसम्म हैरान छन् ।

कपी परीक्षण गर्दा २५ हजार घुस

विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशोषज्ञसहित दुईजनालाई पक्रेको छ ।

नयाँ पत्रिकाका अनुसार पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालीकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट छन् ।

विशोषज्ञ शाहीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको व्याचलर इन पब्लिक हेल्थ चौथो समेस्टरको कपी परीक्षण गर्दा विद्यार्थीबाट रकम असुलेका थिए । उनले प्रतिविद्यार्थी २५ हजार असलेको समाचारमा उललेख छ ।

सडक छैन, भ्यू टावर

सबै दैनिक पत्रिकाहरुले संसदसँग सम्बन्धित समाचार छापेका भए पनि नागरिकले भने आज दोलखाको कालीञ्चोक अतिक्रमणमा परेकोलाई मुख्य समाचार बनाएको छ । झापाको दमकमा सडक असुविधा भए पनि सरकारले त्यसतर्फ चासो नदिई भ्यूटावर निर्माण गर्न लागेको अर्को खबर पनि नागरिकमा छ ।

मेलम्ची भुक्तानी प्रकरणः धरौटी फिर्ता गर्दै सरकार

खानेपानी मन्त्रालयले मेलम्ची ठेकेदार कोअपरेटिभा मुराटोरी ई सेमेन्टिस्टी (सीएमसी) डी रेभेन्नासँग वार्ताको वातावरण बनाउन आफूले जफत गरेको नौवटा धरौटीमध्ये ८ वटा फिर्ता गर्ने भएको समाचार अन्नपूर्णमा छ ।

मन्त्रालयले इटालियन ठेकेदार सीएमसीले राखेको पर्फमेन्स बन्डबाहेक अरु फिर्ता गर्ने जनाएको समाचारमा उल्लेख छ । फिडिक ठेक्काअनुसार ठेकेदारले एडभान्स पेमेन्ट ग्यारेन्टी , रिटेन्सन, पफमेन्स बन्ड, अन डिमान्ड बन्डलगायतका नौ प्रकारका धरौटी राख्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment