Comments Add Comment

पश्चिम वायुको प्रभावले काठमाडौंलगायतका स्थानमा वर्षा

२३ पुस, काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा सोमबार बिहान हल्का वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भएको हो ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुका कारण काठमाडौंसहित देशका विभिन्न भागहरुमा सोमबार बिहान वर्षा भएको जानकारी दिइन् । कँडेलका अनुसार, यो वायुको प्रभावले सोमबार दिनभर हल्का वर्षा हुने सम्भावना छ । बेलुकाबाट भने यसमा सुधार आउने उनको अनुमान छ ।

‘पश्चिमी वायुको प्रभावले सोमबार बिहान हल्का वर्षा भएको छ’, कँडेलले अनलाइनखबरसँग भनिन्, ‘दिउँसोभर अवस्था यस्तै रहे पनि बेलुकाबाट यसमा सुधार आउने छ ।’

महाशाखाका अनुसार, उच्च पहाडी तथा हिमाली भूभागहरुमा भने हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।

‘काठमाडौंमा  चिसो बढ्छ, तर माइनसमा झर्दैन’

वर्षा भएकाले काठमाडौं उपत्यकाको तापक्रम थप घट्ने प्रक्षेपण महाशाखाले गरेको छ । तापक्रम केही घटे पनि माइनसमै भने नपुग्ने मौसमविद् कँडेलको अनुमान छ । ‘हल्का वर्षा भएकाले तापक्रम थप घट्छ, तर माइनसमै गइहाल्ने सम्भावना भने तत्काललाई छैन’, कँडेलले भनिन् ।

उपत्यकाको तापक्रम यसअघि नै शून्यमा झरिसकेको छ । तर सोमबार बिहान वर्षा भए पनि न्यूनतम तापक्रम भने ६.५ सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment