Comments Add Comment

दामन-सिमभञ्याङमा हिमपात, कसरी पुग्ने हिउँ खेल्न ?

२३ पुस, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ । विहान दामन सिमभन्ज्याङमा हिमपात भएको पर्यटन व्यवशायी सुरथ अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार खेल्न मिल्नेगरी सिमभन्ज्याङ, दामनमा हिउँ परेको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपलिकाको दामन क्षेत्रमा प्रत्येक वर्षए हिमपात हुने गरेको छ ।

काठमाडौंबाट दामन पुग्न धेरै टाढा पनि छैन । थानकोट, नौबिसे हुँदै त्रिभुवन राजथबाट ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै दामन पुग्न सकिन्छ ।

चन्द्रागिरी हुँदै चित्लाङको कच्ची बाटोबाट जाने हो भने अझ छिटो पुगिन्छ । यस्तै दक्षिणकालीबाट फाखेल हुँदै कुलेखानीको मार्खुबाट टिस्टुङ निस्केर अर्को वैकल्पिक बाटो छ । हेटौंडाबाट करिब ५५ किलोमिटर  पार गरेपछि दामन पुगिन्छ ।

दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल हेर्न सकिन्छ । दुई हजार ४ सय ८८ मिटर उचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्न भ्यूटावर पनि छ ।

राजधानीका साथै हेटौंडा, वीरगञ्ज, चितवन लगायत तराई क्षेत्रबाट हिउँ खेल्ने अनुभव लिन दामन उक्लने युवायुवती यहाँ बग्रेल्ती भेटिन्छन् ।

दामन साइकलयात्रीको लागि पनि राम्रो गन्तव्य हो । थानकोटबाट चन्द्रागिरी हँदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सिमभञ्ज्याङसम्म साइकलमा सयर गर्न सकिन्छ ।

दामनमा हाइकिङमा रमाउन चाहने पदयात्रीले सिमभञ्ज्याङदेखि देउरालीसम्म नौ किलोमिटर दूरीको लालीगुराँस पदमार्गको मजा लिन सक्छन् ।

दामनमा सुविधासम्पन्न होटल र रिसोर्ट भएकोले आरामदायी बसाइको व्यवस्था छ । ग्रामीण जीवनशैलीको आनन्द उठाउने हो भने टिस्टुङ, पालुङमा होमस्टे सुविधा पनि छन् ।

थाहा नगरपालिकामा पर्नेे दामन इलाकाका टिस्टुङ र पालुङ उपत्यका ग्रामीण पर्यटनका आकर्षण हुन् । टायल र ढुंगा कुँदेर बनाइएका पुराना घरहरुका साथै यहाँ खर र छ्वालीले छाएका परम्परागत बस्तीहरु यथेष्ट भेटिन्छ्न् ।

दामन क्षेत्रमा बौद्ध र हिन्दुधर्मालम्बीहरुको समान आस्थाको केन्द्र ऋषेश्वर मन्दिरमा लाग्ने जात्रा भर्न हजारौं श्रद्धालु आउँछन् । अहिले हिउँ परेपछि यो क्षेत्र मनोरम देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment