Comments Add Comment

फिल्ममा चल्न छाडेपछि कलाकारको ‘मिसन अमेरिका’

केही दिन अघिमात्र अमेरिकी दुतावासले नेपाली चलचित्रको अवार्डका बारेमा चलचित्र बिकास बोर्डसँग सोधपुछ गरेको खबर अनलाइनखबरमा सार्वजनिक भएको यिथो । यसको मुख्यकारण भनेको नै कलाकारहरुको ग्रिन कार्ड आवदेन बढ्नु थियो । कलाकारहरुमा अमेरिकाको ग्रिन कार्ड मोह एकदमै देखिन्छ ।

धेरै नेपाली कलाकारहरु अहिले अमेरिकालाई नै भविष्य बनाएर उतै बसेका छन् । केही ग्रिन कार्ड होल्डर छन् त कोही त्यसैको प्राप्तिका लागि जोडदार लागिरहेका छन् । कतिपयले त नेपाली नागरिकता त्यागिसकेका पनि छन् । अहिले अमेरिकामा ५ सय भन्दा बढी कलाकारको बसोबास छ । देशमा राम्रै स्टारडम भएदेखि दर्शकसँग खासै परिचित नभएका कलाकारहरु अमेरिका पुगेका छन् । अमेरिका बसोबास गर्ने नायकहरुमा राजबल्लब कोइराला, जीवन लुइटेल, सुशिल क्षेत्री, सुमन सिंह, मुकेश ढकाल, निरज बराल लगायत छन् । उनीहरु नेपालमा कुनै समय राम्रै चलिरहेका थिए । तर, अहिले उनीहरु चलचित्र क्षेत्रलाई बिर्सिएर अमेरिकामा आफ्नो दैनिकी बिताइरहेका छन् ।

त्यस्तै जल शाह, अरुणिमा लम्साल, नन्दिता केसी, निशा अधिकारी, यूना उप्रेती, ऋचा घिमिरे, सारंगा श्रेष्ठ, पूजा चन्द, उषा पौडेल लगायतका नायिकाहरुको नाम पनि फिल्म क्षेत्रमा चिनिएको नाम हो । तर, उनीहरुले पनि अभिनय र नेपाली चलचित्रबाट अहिले टाढा छन् ।

केही कलाकार भने अमेरिकामा राम्रै आम्दानी गरेर नेपाल फर्किएका छन् । सरोज खनाल, रमेश उप्रेती, करिश्मा मानन्धर, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकार नेपाल फर्किएका छन् । उनीहरु चलचित्र क्षेत्रमा नै काम गरिरहेका पनि छन् । दिलिप रायमाझी भने अमेरिका र नेपाल आवत—जावत गरिरहेका हुन्छन् ।

कलाकारको अमेरिका मोह किन ?
कलाकार संघकी महासचिव सरिता लामिछाने कलाकारहरु अमेरिका पुग्नु कसैको रहर र कसैको बाध्यता भएको बताउँछिन् । ‘संसारको सबैभन्दा समृद्ध तथा शक्तीशाली देश नै अमेरिका हो । सबैको मोह त्यहाँ हुन्छ नै’, उनी भन्छिन् –‘’तर कतिपय कलाकार रहरमा गएका छन् भने कतिपय बाध्यतामा परेर पनि गएका छन् ।’

विशेषगरी अभिनयमात्र गर्ने कलाकारहरु अमेरिका जान बाध्य छन् । एउटा स्तर बनाइसकेका कलाकारहरुको चलचित्र चल्न छाडेपछि अर्थात काम पाउन छाडेपछि आफ्नो स्तर कायम राख्न गाह्रो हुने भएकाले कलाकारहरु विदेशिएको लामिछानेले बताइन् । उनले भनिन्—‘कुनै समय चर्चित बनेका कलाकारले काम पाउन छाडेपछि आफ्नो स्तर जोगाउन अमेरिका जान बाध्य छन् ।’

कलाकार संघमा धेरै कलाकारहरु प्रमाणपत्र लिन पुग्छन् । लामिछाने भन्छिन्–‘हरेक दिन जस्तो कलाकारहरु प्रमाणपत्र बनाउन आउनुहुन्छ । उहाँहरुलाई किन बनाउन लाग्नु भएको भनेर सोध्दा उत्तर प्राय बिदेश जान कै लागि भन्ने आउँछ ।’

अमेरिका बसाई पश्चात नेपाल फर्किएका कलाकार सरोज खनाल कलाकारहरु आफ्नो भविश्य सुरक्षित गर्न अमेरिका जाने गरेको बताउँछन् । उनी भन्छन्–‘हरेक प्राणीले आफ्नो जीवन सुरक्षित होस् भन्ने चाहन्छ । त्यसमा हामी आम मानिस पनि पर्छौं । तर, हाम्रो क्षेत्रमा त्यती धेरै भविश्य सुरक्षित हुने आधार छैन । त्यसैले पनि कलाकारहरु विदेशिनु भएको छ ।’

सरोजका अनुसार चलचित्रमा काम पाउन छोडेपछि नै कलाकारहरु बाहिरिने गरेका छन् । ‘चलचित्र चल्न छोड्छ अनि आयस्रोत पनि घट्छ तर पारिवारिक जिम्मेवारी भने बढिरहेको हुन्छ’, उनी थपछन्—‘त्यही पारिवारिक जिम्मेवारी पूरा गर्न कलकार अमेरिका पुगेका छन् ।’

कुनै समय निकै सम्मानित भएर काम गरेको व्यक्तिले आफूलाई गिराएर काम गर्न चाहदैन । सरोजले भने—‘यहाँ काम गर्ने हो भने आफ्नो स्तर घट्छ तर विदेशमा काम गर्दा कसैले मतलब गर्दैन् ।’ सरोज अवसर भएको ठाउँमा जानुपर्ने बताउँछन् । उनी भन्छन्—‘मैले अमेरिका बसाईमा घर, तीन वटा गाडी किन्न सकेको थिएँ । यहाँ रहेर त्यो सफलता पाउन धेरै गाह्रो छ ।’

अमेरिका पुग्नेमा कलाकार मात्र नभएको कलाकार दीपकराज गिरीको भनाई छ । ‘अमेरिका कलाकार मात्र पुगेका छैनन् । अन्य क्षेत्रका विशिष्ट व्यक्तीहरुमा पनि अमेरिका मोह छ’, दीपक भन्छन् – ‘कलाकार देखिने मान्छे र सबैले खोज्ने भएर नै उहीहरुको चर्चा बढी हुने गरेको मात्र हो ।’

अभिनयबाट आएको पैसाले कलाकारको जीवन चलाउन धेरै गाह्रो हुने दीपकले बताए । उनले भने–‘एक राम्रो स्तर बनाएको कलाकारले आफ्नो सम्पूर्ण खर्च पुर्याउन अभिनयबाट आएको पैसाले गाह्रो छ । त्यसैले आफूलाई र आफ्नो परिवारलाई सेटल गर्न मौका पाएको बेला अमेरिका छिर्ने गर्छन् ।’ उनका अनुसार कलाकार पैसाको अभावकै कारण अमेरिका पुग्ने गरेका छन् ।

चलचित्र निर्देशक तथा समिक्षक दीपेन्द्र लामा नेपालमा कलाकारिता गरेर सुविधाजनक जीवन बिताउन नसकिने भएकाले कलाकारहरु विदेशिनु परेको बताउँछन् । उनी भन्छन्– ‘नेपालमा कलाकारितालाई पेशा नै बनाउन सकिने अवस्था छैन । यो कुरा धेरैपछि मात्र महसुस गर्छन् कलाकारहरु । जब यो कुरा महसुस हुन्छ, तब अमेरिका जाने मिसनमा लाग्छन् ।’

लामाका अनुसार कलाकारिताबाट बाँच्न सकिन्छ, तर करोडपति हुन सकिदैन । उनी भन्छन् –‘यो नबुझ्ने कलाकार वा यसलाई आत्मसात गर्न नसक्ने कलाकारले पनि अमेरिकाको बाटो लिन्छन् ।’ यो प्रश्न धेरैलाई गर्दा पनि आउने उत्तर एउटै छ । तर वास्तविकता के हो भने, जब चलचित्रमा आफ्नो स्टारडम बिक्दैन् वा आफूलाई चलचित्रमा अवसर आउदैन तब कलाकार अमेरिका पुग्ने गर्छन् ।

कतिपय व्यक्ति कलाकारिताको माध्यमबाट अमेरिका पुग्न सजिलो हुने भएकाले पनि केही बर्ष यो क्षेत्रमा विताउने र सपनाको देश जाने सोचले यहाँ प्रवेश गरेका छन् । तर, धेरै कलाकार नेपाली चलचित्रमा चल्न छाडेपछि वा खासै चल्न नसकेपछि अमेरिकाको बाटो तताउन तयार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment