Comments Add Comment

कर्मचारीले फोहोर नउठाएपछि वीरगञ्ज सफाइमा निस्किए सर्वसाधारण र प्रहरी

२३ पुस, वीरगञ्ज । वीरगञ्जका सडकमा जताततै फोहोर थुप्रिएपछि अभियन्ता, प्रहरी र सर्वसाधारणले आफैैं उठाउन थालेका छन् । कर्मचारी आन्दोलनका कारण सडकमा जथाभावी फोहोर थुप्रिएपछि व्यवस्थिति वीरगञ्ज अभियानका अभियन्ता, प्रहरी र सर्वसाधारणले फोहोर उठाएका हुन् ।

उनीहरुले बिहान सरसफाइ कर्मचारीहरुले जसरी नै सडकमा थुपारिएको फोहोर उठाएर ट्याक्टरमा हालेर गन्तव्यमा पुर्‍याएका हुन् । फोहोर संकलनका लागि भाडाको ट्याक्टर प्रयोग गरिएको थियो ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आन्दोलनमा समर्थन जनाउँदै वीरगञ्ज महानगरपालिकाका सरसफाइ कर्मचारीहरुले गत बिहीबारदेखि नै फोहोर समेत उठाएका छैनन् । सरसफाइ कर्मचारीहरुले समेत काम ठप्प पारेपछि महानगरपालिका दुर्गन्धित बन्दै गएपछि समुदाय–प्रहरी साझेदारी मार्फत व्यवस्थित वीरगञ्ज अभियानका अभियन्ता, ग्रिनसिटी सामुदायिक लगायतको सक्रियतामा नगरको सरसफाइ गरिएको हो ।

बिहानै हातमा झाडु, साबेल र मुखमा मास्क लगाएर अभियन्ताहरु सडकमा ओर्लिएका थिए । घण्टाघरदेखि मुर्लीचोकसम्म एक टोली र घण्टाघरदेखि दक्षिणतर्फ अर्को टोली गरी दुई टोली बनाएर सरसफाइ गरिएको व्यवस्थित वीरगञ्जका अभियन्ता रियाज अन्सारीले जानकारी दिए ।

‘सरसफाइ कर्मचारीहरु पनि आन्दोलनमा भएका कारण महानगरको मुख्य सडकमा समेत फोहोर थुप्रिएर कुरुप बनेको थियो’ उनले भने ‘फोहोर थुप्रिँदा हामीलाई नै असर गर्ने भएकोले सबै मिलेर सरसफाइ गर्‍यौं ।’

बिहान ६ बजेदेखि नै सफाइको काम शुरु गरेका उनीहरुले ९ बजेपछिसम्म पनि सरसफाइ गरेका थिए । मुख्य सडकबाट मात्रै ५ ट्याक्टर फोहोर संकलन गरेको व्यवस्थित वीरगञ्ज अभियानका सह संयोजक जयप्रकाश खेतानले जानकारी दिए । अभियन्ताहरुले फोहोर संकलन गर्न थालेपछि स्थानीय बासिन्दाले पनि सघाएका थिए । वीरगञ्ज महानगरपालिकामा २ सय ५० जना भन्दा बढी सरसफाइ कर्मचारीकार्यरत छन् ।

आन्दोलनरत कर्मचारीद्वारा वार्ता बहिस्कार

आन्दोलनरत कर्मचारी संगठन र महानगरपालिकाले गठन गरेको वार्ता समितिबीच एक चरण वार्ता भए पनि औपचारिकतामा मात्रै सीमित भएको छ । वार्तामा महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतबाहेक अरु पनि निजामति कर्मचारीहरुलाई राखिएको भन्दै कर्मचारीहरु वार्तामा बस्न नसक्ने भन्दै उठेका हुन् ।

स्थानीय तह कर्मचारी संघ नेपाल इकाइ समिति वीरगञ्जका अध्यक्ष मुकेश गुप्ताले प्रमुख प्रशासकीय अधिकृत बाहेकका कर्मचारी फिर्ता हुनुपर्ने माग राखेको अवस्थामा निजामती कर्मचारी नै वार्तामा आएकोले वार्ता बहिस्कार गरेको बताए । कर्मचारीहरुले आन्दोलन जारी नै राखिने बताएका छन् । कर्मचारीहरुको आन्दोलनका कारण बिहीबारदेखि नै महानगरपालिकाको कामकाज ठप्प छ ।

आइतबार अपरान्ह भएको वार्तामा महानगरपालिकाको कार्यपालिकाले गठन गरेको कार्यापालिका सदस्य अरविन्द गुप्तासहित ४ सदस्यीय वार्ता टोली, प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसाल, उपसचिव शिव लम्साल, महानगरपालिकाका कानुनी सल्लाहकार सहभागी थिए ।

कर्मचारीको तर्फबाट आन्दोलनरत नेपाल नगरपालिका कर्मचारी एशोसिएशनका वीरगञ्ज अध्यक्ष सोहन थापा, स्थानीय तह कर्मचारी संघ नेपाल वीरगञ्जका अध्यक्ष मुकेश गुप्ता लगायत ७ जना कर्मचारी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment