Comments Add Comment

तेल चोरी प्रकरण : चालकलाई कारवाही, कर्मचारीलाई मन्त्रीको संरक्षण !

२३ पुस, विराटनगर । आधुनिक लकिङ सिस्टमलाई छलेर तेल चोरी गरिएको विषयमा छानविन गर्न गठित समितिले दिएको प्रतिवेदन नेपाल आयल निगमभित्रै गुपचुप पारिएको छ । आयल निगमको प्रादेशिक कार्यालय विराटनगरका निर्देशक दिनेश यादवको नाम जोडिएपछि प्रतिवेदन लुकाइएको हो ।

गत मंसिर पहिलो साता भारतीय आयल कर्पाेरेसनको बरौनी डिपोबाट लोड गरी आएको को १ ख ५९६५ नम्बरको ट्यांकर नापजाँच गर्दा ८३ सेन्टिमिटर (२४८४ लि.) डिजेल चोरी भएको थियो । चोरी प्रकरणको छानविनकालागि नेपाल आयल निगमले उपनिर्देशक अञ्जना पोखरेलको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । सो समितिले बुझाएको प्रतिवेदनकै आधारमा चोरीमा संलग्न ट्याङ्कर चालक र ढुवानीकर्तालाई कारवाही गरिए पनि आयल निगमका कर्मचारीलाई कुनै कारवाही भएको छैन ।

प्रतिवेदनकै आधारमा ढुवानीकर्ता र चालकलाई कारवाही गरिए पनि कर्मचारीलाई भने उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवको दवावमा जोगाइएको निगम स्रोतले जानकारी दिएको छ । मन्त्री यादव र प्रदेशिक प्रमुख यादव नातेदार हुन् । प्रतिवेदनमा प्रादेशिक प्रमुख यादवलाई कारवाही गर्न सिफारिस गरिएपछि प्रतिवेदन सार्बजनिक नगर्न मन्त्रालयले नै दबाव दिएको स्रोतको दावी छ ।

प्रतिवेदनका आधारमा व्यवसायी सुकदेव सिंहका १३ वटा ट्याङकरको ढुवानी इजाजत खारेज गरिएको छ भने चालक धर्मेन्द्र स्वर्णकारलाई आजीवन ट्याङ्कर चलाउन प्रतिवन्ध लगाइएको छ । तर तेल चोरी प्रकरणमा जोडिएका प्रादेशिक डिपो प्रमुख दिनेश यादवसहित केही कर्मचारीलाई छोइएको छैन ।

छानबिन प्रतिवेदनकै आधारमा ट्याङ्कर चालक र ढुवानीकर्तालाई कारवाही गरिएको आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई बताउँछन् । चोरी प्रकरणमा जोडिएका कर्मचारीको कारवाही प्रक्रिया पनि सुरु गरिएको उनको भनाइ छ ।

ढुवानी विनियमावली अनुसार ढुवानीकर्ता र चालकलाई कारवाही गरिएको बताउदै उनले कर्मचारीलाई कारवाही गर्न मन्त्रालयमा लेखेर पठाइएको जानकारी दिए । ‘संवेदनशिल ठाउँबाट अझै अनुसन्धान जारी छ,’ उनले भने, ‘प्रतिवेदनका आधारमा कर्मचारीलाई पनि कारवाही गर्न लेखेर पठाएका छौ ।’ कुन तहका कर्मचारीलाई कारबाही हुन्छ भन्ने बिषयमा अहिले केही नबोल्ने उनले बताए ।

ट्याङ्करबाट हुने तेल चोरीलाई नियन्त्रण गर्न करिब ८० हजार भारतीय रुपैया खर्चिएर जडान गरिएको आधुनिक लक सिस्टमको चाबी भारतीय आयल निगमको बरौनी डिपो र विराटनगरस्थित प्रदेशिक प्रमुखको निगरानीमा हुन्छ । चोरी प्रकरणको छानबिनका लागि आएको पोखरेल नेतृत्वको टोलीले प्रादेशिक डिपो प्रमुख यादवकै निगरानीमा हुने चाबी बाहिर लगेर तोल चोरी भएको ठहर गर्दै प्रतिवेदन बुझाएको थियो ।

जोगाउन आन्दोलन

सुकदेव सिंहले सञ्चालन गर्दै आएको १३ वटा ट्याङ्करको ढुवानी इजाजत खारेज भएपछि नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले तेल बोक्न बन्द गर्ने चेतावनी दिएको छ ।

निगमले पुसबाट लागू हुने गरी सिंहले संचालन गरेका को १ ख ५९४१, ५९४२, ५९४३, ५९६५, ६९३०, ६९३४, ५९६८, ५९४१, ६०५०, ५९७०, ना ३ ख ९६३३, ना ४ ख १९६४ र २९७१ नम्बरको ट्यांकरलाई ढुवानीमा प्रतिबन्ध लगाउँदै प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) दिन रोकेको थियो । ढुवानी विनियामवली विपरीत कारवाही गरिएपछि आन्दोलन गर्न लागिएको पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment