Comments Add Comment

टेलिकममा डिल्लीरामः ‘कुलमान’ बन्लान् कि आलटालमै चल्लान् ?

२३ पुस, काठमाडौं । नेपाल टेलिकमले नयाँ प्रवन्ध निर्देशकका रुपमा डिल्लीराम अधिकारीलाई पाएको छ । ०५९मा सातौं तहको इन्जिनियरका रुपमा टेलिकममा प्रवेश गरेका अधिकारीले अब यसअघि टेलिकममा आफूभन्दा ‘सिनियर’ रहेकाहरुसँग समन्वय गर्दै काम मात्रै गर्नुपर्ने छैन संस्थालाई नयाँ गतिमा दौडाउनुपर्नेछ ।

टेलिकमको व्यवसायिक छवीलाई माथि उचालेर कम्पनीलाई सबल बनाउने मात्रै हैन, उपभोक्ताबीच टेलिकमबारे राम्रो छाप छाडेर जान पनि अधिकारीलाई अवसर र चुनौती प्राप्त भएको छ ।

उनको नियुक्तिपछि टेलिकमभित्रै पनि असन्तुष्टी सुनिन थालेको छ । उनी आएपछि अब कम्पनी सुध्रने अपेक्षा गर्नेहरु पनि टेलिकमभित्र छन् ।  यसअघि उनीभन्दा बरिष्ठतम् पदमा रहेका केहीले सञ्चारमन्त्री गोकुल बास्कोटालाई रिझाएर टेलिकममा आएको तर्क पेश गरिरहेका छन् ।

तर, खुला प्रतिस्पर्धाबाटै नियुक्ति भएकाले अधिकारीलाई कानुनी अड्चन पर्ने अवस्था छैन, उनले अब संस्थाभित्र सबैलाई विश्वासमा लिन भने केही कसरत गर्नुपर्ने दूरसञ्चार प्राधिकरणसम्बद्ध अधिकारीहरु बताउँछन् ।

अढाई वर्षअघि नेपाल विद्युत प्राधिकरणमा यस्तै परिघटना भएको थियो । मुकेश काफ्ले बर्खास्त भएर कुलमान घिसिङ प्रवन्ध निर्देशक भएर आउँदा उनीविरुद्ध प्राधिकरणका ‘सिनियर’हरु अदालत नै पुगेका थिए । अदालतले कुलमानलाई नै निरन्तरता दिएपछि केहीले ‘जुनियर’लाई हाकिम मान्न नसकिने भन्दै राजीनामा पनि दिए ।

तर, अधिकारीविरुद्ध हालसम्म टेलिकमभित्र त्यति बलियो गरी आवाज उठेको छैन ।

‘क्षमताकै आधारमा टेलिकममा आएका हुन् भने अधिकारीलाई अर्को कुलमान बन्ने अवसर छ,’ प्राधिकरणका एक उच्च अधिकारी भन्छन्, ‘कुलमानले देशबाट लोडसेडिङ हटाएजस्तो उनले दूरसञ्चार सेवाको लिङ्गरिङ र अनसर्टिनिटी -अनिश्चितता) हटाउन सक्छन् । र संस्थाभित्रको विकृति र अव्यवस्थालाई झाडु लाउन सक्छन्। ‘

ती अधिकारीको भनाइमा टेलिकमको हवीगत कुलमानले घाटामा गएको प्राधिकरण सम्हाल्दाको जस्तो खराब छैन । तर, अवस्था सन्तोष मानेर बस्ने खालमा पनि छैन ।

‘टेलिकमभित्रको चरम राजनीति छ । व्यवसायिक कार्ययोजनाको अभाव छ । बनेका योजनाको कार्यान्वयननमा बेवास्ता गरिँदैछ । योसँगै गुटबन्दी, अव्यवस्था र खिचातानीले कम्पनीको नाफा वर्षेनि घटिरहेको छ,’ उनी भन्छन्,’टेलिकमममा हराउँदै गएको प्रतिस्पर्धी भावनालाई फेरि ऊर्जा दिएर जगाउने काम दायित्व नयाँ एमडीको हो ।’

तर, टेलिकममा सक्षम इन्जिनियर र प्राविधिक सहित कुशल प्रशासकहरुको पनि कमी नभएकाले अधिकारीको इच्छाशक्ति नै मूल कुरा हुने देखिन्छ ।

 १ नम्बरमा टिक्ने चुनौती

टेलिकम अहिले टेलिफोन सेवा र इन्टरेनेट सेवामा नेपालकै अग्रणी स्थानमा छ । निजी सेवा प्रदायक कम्पनी एनसेलले टेलिकमलाई टक्कर दिइरहेको छ । निजी कम्पनीको आक्रमक बजार योजनाका सामु टेलिकम सरकारी साख बोकेर टिकिरहेको छ ।


यो अवस्थामा टेलिकमलाई सही रुपमा व्यवस्थापन गरेर अग्रणी संस्थाका रुपमा कायमै राख्ने मात्रै नभएर सर्वसाधारणलाई सस्तो दरमा गुणस्तरीय तथा आकर्षक सेवा दिँदै गिर्दै गएको साखलाई उठाउने जिम्मेवारी प्रवन्ध निर्देशक अधिकारीको काँधमा आएको छ ।

कुनै समयमा बलियो रहेको टेलिकमको बजार हिस्सा विस्तारै खुम्चिँदो छ । आम्दानीमा निजी कम्पनीको तुलनामा तीव्रतर वृद्धि छैन ।

पछिल्ला वर्षहरुमा टेलिकमले अपेक्षित आम्दानी पनि गर्न सकेको छैन । गत आथिर्क वर्षमा मुस्किलले २ प्रतिशतले आम्दानी बढाएको थियो ।

उसले विदेशबाट आउने कल र ब्रोडब्यान्ड इन्टरनेट तथा मोबाइल डाटामा ठूलो आम्दानी गुमाएको देखिन्छ । टेलिकमले गत आर्थिक वर्षर्मा विदेशबाट आउने कलमा एक अर्ब कम आम्दानी गरेको थियो । त्यस्तै डाटातर्फ पनि करिब १० करोड कम आम्दानी भएको छ । जबकी एनसेलले डाटातर्फ एक अर्ब ८८ करोड २६ लाख रुपैयाँ बढी आम्दानी गरेको थियो ।

अहिले इन्टरनेट डाटा सेवा प्रयोगकर्ता बढरिहँदा टेलिकम यसमा आम्दानी बढाउन चुकेको छ । एनसेल भने सफल रुपमा डाटको प्रयोगकर्ता वृद्धि गर्दै त्यसबाट लाभ पनि उठाइरहेको छ ।

पुँजी बजारमा पनि टेलिकमको सेयरको मूल्य पछिल्लो समयमा घट्दो छ । एकवर्ष अघि ७९० रुपैयाँ प्रतिकित्ता रहेको टेलिकमको सेयर मूल्य हाल घटेर ७३१ रुपैयाँमा आइपुगेको छ । कम्पनीको वित्तीय अवस्था कमजोर हुँदै गएपछि लगानीकर्ताले कम्पनीबाट अपेक्षित प्रतिफल पाउन सकेका छैनन् ।

टेलिफोन र इन्टरनेट बजारमा टेलिकम नम्बर १ भए पनि अन्य कम्पनीले निकट भएर पछ्याइरहेका छन् । टेलिकमले फरक सोचका साथ बजार रणनीति ल्याएर जोडबालका साथ कार्यान्वयन नगरे जुनसुकैबेला निजी कम्पनीले टेलिकमलई ओभरटेटक गर्ने अवस्था छ ।

टेलिकम भित्र हुने अनियमितता नियन्त्रण गर्नु पनि अर्को चुनौती छ ।

टेलिकमको हिस्सा 

ल्याण्डलाइन फोनमा एकाधिकार रहेको अवस्थामा पनि मोबाइलसहित गत कात्तिकसम्म सबै खालका गरी टेलिफोन सेवामा टेलिकम ५२ प्रतिशत हिस्सा ओगट्ने कम्पनी हो ।

उसको निकटम् प्रतिपर्धी एनसेल मोबाइल सेवामा मात्रै रहँदा पनि ४२ प्रतिशत बजार हिस्सा लिइरहेको  छ । टेलिकममा पीएसटीएन, सीडीएमएए, वायरलेस लगायतका फोनका प्रयोगकर्ता पनि छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म मोबाइलसहित सबै खालका टेलिफोन सेवा सस्क्राइबरको संख्या ४ करोड १ लाखभन्दा बढी छ ।

त्यसमध्ये टेलिकमले २ करोड ८ लाख टेलिफोन ग्राहक पाएको छ भने एनसेलले १ करोड ६३ लाख ग्राहक छन् ।  टेलिकमसँग जीएसएम मोबाइल प्रयोग गर्नेको संख्या १ करोड ८४ लाख छ ।

इन्टरनेटमा पनि टेलिकमलाई कम चुनौती छैन । टेलिकमका ७४ लाख ४९ हजार इन्टरनेट प्रयोगतर्का छन् भने एनसेलका ६२ लाख ५६ हजार ।

एनसेलले मोइबल ब्रोडब्याण्डकै भरमा ६२ लाख प्रयोगकर्ता पुर्‍याउँदा एडीएसएल, वाइम्याक्स, एफटीटीएच लगायतका इन्टरनेट प्रयोगतर्का पनि रहेका टेलिकमको पछिल्लो समयममा ग्राहक संख्या वृद्धि दर गतिलो छैन ।

आईएसपीहरुले टेलिकममले आफ्नो इन्टरनेट प्रयोगकर्ता २५ लाख पुर्‍याउँदा टेलिकमसँग भने एडीएसलमा १ लाख मात्रै ग्राहक छन्  ।

एडीएसएल सेवा विश्वभरबाटै विस्थापनको क्रममा छ । यसको विकल्पमा छाइरहेको छ, ‘फाइबर टु दी होम’ -एफटीटीएच) । तर, सिलिका ग्लासयुक्त फाइबरको विस्तारमा सुस्त छ, टेलिकम ।

बरु, एडीएसएलको सुधारमा खर्च थपिरहेको छ टेलिकम, जसलाई दूरसञ्चार प्राधिकरणले सार्वजनिक रुपमै ‘टेलिकमको उल्टो गति’ भनेको छ ।

टेलिकमले शुरुबाटै तामाको तारमार्फत् टेलिफोन सेवा दिइरहेको छ । त्यही तारबाट इन्टरनेट सेवा पनि उपभोक्तासम्म पुगिरहेको छ । आफैंले श्रृष्टी गरेको एडीएसएललाई अहिल्यै ‘फेजआउट’ गर्न तयार देखिँदैन, टेलिकम ।

जब कि, द्रुत गतिको वाइम्याक्स विस्थापित गर्ने योजना टेलिकमले बनाइसकेको छ । तथापि, सरकारी टेलिफोन सेवा प्रदायकले एडीएसएलका ग्राहक पनि गुमाउन चाहेको देखिँदैन । र, एडीएसएलका प्रत्यक्ष प्रतिस्पर्धी पनि छैनन् ।

टेलिकमका तार धेरै पुराना भइसकेका छन्, जसले सेवा प्रवाहमा बारम्बार समस्या निम्त्याउँछन् । पीएसटीएन फोनमा पनि उमस्या उस्तै छ ।

टेलिकमको मोइबलमा पनि बारम्बार फोन नलाग्ने समस्या दोरिरहन्छ । रिचार्ज पनि एकैपटकमा सजिलै नहुने समस्या कायमै छ ।

इन्टरनेटतर्फको नेपाल टेलिकमले काठमाडौं र पोखरामा फोरजी (एलटीई) सेवा सरुवात गरेको दुई वर्ष बित्यो । टेलिकमभन्दा ५ महिनापछि फोरजी सेवा थालेको निजी सेवा प्रदायक एनसेलले देशभर विस्तार गरीसक्यो । फोरजी सेवा टेलिकमलाई एनसेलले उछिनिससकेको छ ।

नेपालमा सबैभन्दा पहिले फोरजी सेवा थालेको टेलिकम टेण्डर विवादमा अल्भिmँदा निजी कम्पनी आक्रमक रुपमा आयो । हाल टेलिकमसँग फोरजीका ग्राहक ६ लाख ६६ हजार मात्रै हुँदा एनसेलसँग १४ लाख ३२ हजार ग्राहक पुगिसकेका छन् ।

भर्खरै टेलिकमले फोर-जी सेवा विस्तार गर्ने बाटो पाएको  छ । सञ्चार मन्त्रालयले एक वर्षभित्र फोरजी सेवा विस्तार गरिसक्ने र ५ वटा शहरमा फाइभजीको परीक्षण गर्ने गरी हुवावेसँग सम्झौता गर्न निर्देशन दिएकने  छ । हुवावे पनि यसका तयार भइसकेको छ ।

छलाङ मार्ने कि आलटाल गर्ने ?

टेलिकम तीव्र गतिको इन्टरनेटमा आधारित सेवा विस्तारमा आक्रमक देखिएको छैन । थ्री-जी सेवा विस्तारकै योजना पुरा भएको छैन । नेपालका धेरै स्थानमा जएसएम मोबइल सेवा पुर्‍याउन नै बाँकी  छ ।


निजी कम्पनीलाई जस्तो टेलिकमलाई नाफा हुने क्षेत्रमा मात्रै केन्दि्रत हुन छुट हुँदैन । प्रयोगकर्ता कम भएका क्षेत्रमा पनि सेवा विस्तार गर्नु टेलिकमका लागि अवसर र चुनौती दुबै हुन् ।

इन्टरनेटको ब्यापक प्रयोगले ‘भ्वाइस कल’को हिस्सा विस्तारै घट्दै छ । यस्तो अवस्थामा इन्टरनेटा डाटा सेवालाई आकर्षक प्याकेजमा ग्राहकमाझ पस्किएर त्यसबाटै अधिकतम् लाभ लिन टेलिकम चुकेको छ ।

सेवामा गुणस्तरीता बढाउने र प्रयोगकर्ताको गुनासो सुन्ने र तत्कालै समाधान गर्ने संयन्त्र पनि टेलिकमभित्र कमजेार छ । फिल्डमा जाने प्राविधिकलाई उपभोक्ताले काम छिटो गराउन ‘चिया खर्च’ दिनुपर्ने बाध्यता कायमै छ ।

यस्ता अनेकन विकृति बीच पनि देशब्यापी सञ्जाल र दक्ष प्राविधिकको टिमवर्क नै टेलिकमका मेरुदण्ड हुन् ।

२ वर्ष लामो संस्थागत संक्रमण अन्त्य गर्दै टेलिकमको नेतृत्वमा पुगेका अधिकारी अब दूरसञ्चार सेवामा छलाङ मार्न सफल हुन्छन् कि विगतकै जस्तो आलटाले शैलीमा अघि बढ्छन् भन्ने हेर्न उपभोक्ता आतुर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment