Comments Add Comment

माइतीपक्षले भन्यो : माधुरीले आत्महत्या गरेको होइन, हत्या भएको हो

२३ पुस, वीरगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १० मा आत्महत्या गरेको भनिएकी २६ बर्षीया माधुरी वर्णवालको हत्या भएको दावी माइती पक्षले गरेका छन् । वीरगञ्जको आदर्शनगरमा रहेको वर्णवाल धर्मशालामा पत्रकार सम्मेलन गरेर माइती पक्षले माधुरीको हत्या भएको दावी गरेका हुन् ।

उनीहरुले माधुरीको परिवारमा पहिलेदेखि नै खटपट हुँदै आएको त्यसैकारणले योजनावद्ध हत्या गरी आत्महत्या देखाउन खोजिएको दावी गरेका छन् । माधुरी वर्णवाल वीरगञ्ज महानगरपालिका ६ अलखियामठ निवासी वेद प्रकाश वर्णवाल र पुष्पा वर्णवालको जेठी छोरी हुन् ।

उनको २०७४ साल मंसिर महिनामा नेपालगञ्ज निवासी गोपीचन्द्र वर्णवालको छोरा मनिष चन्द्रसँग हिन्दु परम्परा अनुसार विवाह भएको थियो ।

राष्ट्रिय विमा संस्थानमा कार्यरत माधुरीले विवाहपछि काम छोडेकी थिइन् । तर गत पुस १८ गते उनले आत्महत्या गरेको र उद्दार गरी उपचार गर्न अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको ससुराली पक्षले खबर पठाएका थिए ।

मनिषचन्द्र औषधी व्यवसायी हुन् । उनले चरक कम्पनीको पश्चिमाञ्चल डिष्ट्रिव्युसनको जिम्मेवारी सम्हालिरहेका छन् ।

पत्रकार सम्मेलनमा माधुरीका बुवा वेदप्रकाश वर्णवालले छोरीले आत्माहत्या गरेको नभई हत्या गरेको दावी गरे ।

‘छोरीको ज्वाईंसँग पहिलेदेखि नै खटपट थियो, पुस १८ गते राति ज्वार्इं मनिषले हामी दुई बीच झगडा भयो सम्झाइदिनुहोस भन्नेसम्मको कुरा गरेका थिए, त्यसपछि छोरीले बोक्ने मोबाइलमा फोन गर्दा घण्टी गयो तर उठेन, चार पाँच पटक गर्दा पनि नउठेपछि ज्वाईंलाई फोन गरें । तर व्यस्त बनाई राखिदिएका कारण फोन सम्पर्क हुन सकेन भन्ने सन्देश आयो ।’

उनले अगाडि ने ‘त्यही दिन राति ११ बजे अचानक सम्धी गोपीचन्द्र वर्णवालले फोन गरेर माधुरीले आत्महत्या गर्ने कोशिस गरेकी थिइन्, उद्दार गरेर नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारकै क्रममा निधन भयो भन्ने जानकारी दिए । हामीलाई पत्याउनै गाह्रो भयो ।’

माधुरीकी आमा पुष्पा वर्णवालले छोरीलाई परिवारले अति नै यातना दिने गरेको र तीन महिना अघि छोराको अर्कै विवाह गर्ने धम्की समेत आफूलाई दिएको सुनाइन् । ‘तीन महिनाअघि सम्धिनीले फोनबाट छोराको अर्कै बिबाह गरिदिने धम्की समेत दिएकी थिइन् ।’ उनले भनिन् ‘ उनीहरुले छोरीलाई हामीसँग पनि राम्रोसँग खुलेर कुरा गर्न नदिने गरेका थिए ।’

शंकास्पद ट्याब, दाइजो पनि कारक

माइती पक्षका अनुसार माधुरीले मनिषको टयबमा अवैध सम्बन्धको प्रमाण फेला पारेको सुनाएकी थिइन् । त्यसपछि उनीहरुबीच खटपट बढेको थियो । तर मनिषले त्यो सबै विवाह अघिको हो भनेर माधुरीलाई फकाउन सफल भएका थिए । सँगसँगै माधुरीलाई उनको सासुले दाईजो कम ल्याएको भनेर यातना दिने गरेको माईती पक्षको दावी छ ।

आमा पुष्पाका अनुसार छोरीलाई सम्धिनीले ‘छोटी घर से आई है, कम दहेज ल्याई है, मेरे बेटे के लिए कम से कम एक गाडी तो देना चाहिए था’ भनेर मानसिक यातना दिने गरेकी थिइन् । वर्णवाल परिवारले भने १८ लाख खर्च गरेर छोरीको विदाई गरेका थिए ।

प्रहरीले उजुरी लिन आनाकानी गरेको आरोप

छोरीको मृत्युको खबर सुनेलगत्तै बुवा वेदप्रकाश लगायतको टोली नेपालगञ्ज पुगेको थियो । त्यहाँ घटनालाई ढाकछोप गर्न खोजेको र सुनियोजित हत्या गरेको आशंका भएपछि प्रहरीकोमा कर्तव्य ज्यान मुद्दाको उजुरी दिन पुगेका थिए । आत्महत्या नभई हत्या भएको दावी सहित उजुरी दिन जाँदा प्रहरीले उजुरी नै लिन नमानेको माइती पक्षको आरोप छ ।

वेद प्रकाशसँगै नेपालगञ्ज पुगेर फर्केका मधुसुदन चौरसियाले शुरुमा प्रहरीले कर्तव्य ज्यान मुद्धाको जाहेरी लिन आनाकानी गरेको सुनाए ।

‘शुरुमा प्रहरीले मनिषको परिवारले भने जस्तै आत्महत्या नै भएको कुरा गरेको थियो । उनीहरुकै भनाई अनुसार जाहेरी दिन भनी रहेको थियो । तर हामीले त्यसलाई स्वीकार्न नसक्ने भनेपछि बल्ल उजुरी दर्ता गर्न तयार भयो’ उनले भने ‘पुस २२ गते बल्ल उजुरी लिन तयार भयो, श्रीमान, सासु र ससुरालाई विपक्षी बनाएर कर्तव्य ज्यान मुद्धा दर्ता गराएर आएका छौं ।’

के गर्दै छ प्रहरी ?

वेदप्रकाशल नेपालगञ्ज उपमहानगरपालिका ं १० बस्ने २८ बर्षीय मनिषचन्द्र वर्णवाल, उनका बुवा ५५ बर्षीय गोपीचन्द्र वर्णवाल र आमा ५० बर्षीया राजकुमारी देवी वर्णवाल विरुद्ध कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दिएका छन् ।

जाहेरीका आधारमा प्रहरीले माधुरीका श्रीमान मनिषचन्द्रलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले भने प्रहरीले माधुरीको मृत्यु भएको घटनाका बारेमा गम्भीर भएर अनुसन्धान गरिरहेको दावी गरेका छन् । पोष्टमार्टम रिपोर्ट आइनसकेको बताउँदै प्रहरी उपरीक्षक पौडेलले पोष्टमार्टम रिपोर्टपछि थप कुरा प्रष्ट हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment