Comments Add Comment

सपथको सेटिङ मिलाउँदै दीपक मनाङे !

पोखरा, २३ पुस । सभामुख नेत्रनाथ अधिकारीले तत्काल सपथ नगराउने निर्णय गरेको भोलिपल्ट सपथ राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेश सभा पुगे ।

हिउँदे अधिवेसन सुरु हुनुभन्दा अघि प्रदेशसभा पुगेका गुरुङले सभामुख नेत्रनाथ अधिकारीलाई भेटे । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सांसदहरुसँग चिया पिए । सभामुखसँग सपथका विषयमा कुराकानी गरेको बताउँदै गुरुङले भने, ‘उहाँ कन्भिन्स हुनुहुन्छ । २/३ दिनमा निर्णय लिन्छु भन्नुभएको छ । तर, ३ मिनेटमै हुने कुरा किन यति समय लिनुप¥यो भन्ने मेरो प्रश्न हो ।’

सभामुखलेसपथ खुवाउनेमा आफू ढुक्क रहेको उनले सुनाए । ‘चुनाव जितेर आएको हुँ । प्रमाणपत्र मसँग छ,’ गुरुङले भने, ‘सभामुख ज्यू अलि सिधा हुनुहुन्छ । यत्रो दिन कुरिसक्यौं । ९ महिना त जेलमा बस्नुपर्‍यो । अब एक हप्ता कुर्न के हुन्छ र ?’

अधिवेसन सुरु हुनुअघि र हुँदै गर्दा प्रदेशसभा भवन पुगेका गुरुङले मुख्यमन्त्रीलाई पनि भेटे ।

सपथका विषयमा भने कुराकानी भएन । राजीवसँग हात मिलाउँदे मुख्यमन्त्री पृथ्वीसुब्बाले सोधे, ‘पोखरा कहिले आउनुभयो ?’ हिजो रातिमात्र पोखरा आएको राजीवले उत्तर दिए । मुख्यमन्त्री, केही सांसद र राजीवले सँगै चिया पिए ।

सपथका विषयमा मुख्यमन्त्रीसँग कुराकानी नपाए पनि सहयोग गर्नेमा ढुक्क रहेको गुरुङको भनाइ थियो । ‘मलाई सपथ खुवाउने मुख्यमन्त्रीले होइन, सभामुखले हो । सभामुख कन्भिन्स हुनुहुन्छ । मलाई सपथ गराउन पक्कै उहाँले पनि सहयोग गर्नुहुन्छ,’ गुरुङले भने, ‘सभामुखलाई कानुनका विषयमा भनिसकेको छु ।’

७१ सालको मुद्धा खोलेर आफूलाई अप्ठ्यारोमा पारेको गुरुङको भनाइ छ । ‘त्यो मुद्दा त चुनावमा खोल्नुपर्थ्यो । चुनाव जितेर आएपछि त सकियो नि । मेरो चुनाव लिगल भएन भने नेपालको पूरै चुनाव अवैधानिक हुन्छ,’ गुरुङले भने ।

‘मेरो त चुनाव अघिको मुद्दा हो, मलाई किन निलम्बन हुने ? मान्छेले बुझ्दैनन्,’ उनले अघि भने ।

गुरुङ आफ्नो र रेशम चौधरीको मुद्दा फरक भएको बताए । ‘मैले सजाय भुक्तान गरिसकेको छु । माओवादीको एकजना मेयर मसँगै जेलमा हुनुहुन्थ्यो । उहाँ छुटेर हेलिकोप्टरमा गएर नगरपालिकामा बिदा । मैले बिदा त मागेको छैन,’ उनले भने ।

आफ्नो बिजनेस पनि भएकाले धेरै फूर्सद नभएको बताउँदै गुरुङले छिटो निर्णय गरिदिन आग्रह गरे । ‘हुँदैन भने भन्नुहोस्, मैले राजीनामा दिन्छु भनेको थिएँ । उहाँहरु नै त्यसो नगर्नुस् भन्नुभयो । अनि सपथ पनि नगराउने ?’ गुरुङले भने, ‘सपथ लिन नपाए नेपालको अदालत होइन, अन्तर्राष्ट्रिय अदालत जान्छु ।’

८ महिना एउटा रिट हाल्न लगाउने, १९ पटक पेशी चढाउने, पेशी चढेको पनि थाहा नहुने त्यस्तो नेपालको अदालत नगई अन्तर्राष्ट्रिय अदालत जाने उनको भनाइ थियो । अब सर्वोच्चले हरायो भने पनि ५ वर्षको आधा जेल बसे पुग्ने उनको भनाइ थियो । ‘यस्तो भयो भने म जेल बस्नुपर्दैन । किनकी २ वर्ष म पहिले नै बसिसकेको छु । पछि ९ महिना गरी म त बढी जेल बसिसकें । घर ज्वाईं हो र मलाई जेल मात्रै लैजाने ? गुरुङको प्रश्न थियो ।

गुरुङले सभामुखदेखि सांसदसम्म भेटेर सपथको लभिङ गरिरहेको एक सांसदले बताए । ‘सभामुख, मुख्यमन्त्री र सांसदसँग भेटेर उनले सपथ लिन लभिङ गरिरहेका छन् । गुरुङको सपथ गराउने सम्भावना बढी छ,’ ती सांसदले भने । धेरै सांसद गुरुङको सपथ गराउने पक्षमा रहेको उनको भनाइ थियो ।

आइतबार बसेको गण्डकी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई सपथ नखुवाउने निर्णय गरेका थिए । तर उनले  यस विषयमा फेरि छलफल थालेको भन्दै  मंगलबारसम्म निर्णय लिने जानकारी दिएका छन् ।

प्रदेश सभा निर्वाचन ऐन, लगायत अन्य कानुनलाई आधार मानेर तत्काल सपथ नगराउने निर्णय लिइएको सभामुख अधिकारीले बताएका थिए । तर, सभामुखले आफूले त्यस्तो कुनै निर्णय नगरेको आफूलाई बताएको राजीवको भनाइ थियो ।

मनाङेले गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै पुस १२ गते लिखित निवेदन दर्ता गराएका थिए । मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् ।

फौजदारी संहिता ऐनको दफा १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै राजीवले सर्वोच्चबाट थुनामुक्त हुने आदेश पाएका थिए । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा मनाङे निवार्चित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment