Comments Add Comment

छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता र अक्षयकोष

२४ पुस, मोरङ । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माएकाहरुका लागि २५ हजार रुपैयाँको अक्षयकोष खडा गरिदिएको छ । ‘छोरी बचाऊ र पढाऊ’ अभियानअन्तर्गत आमा संरक्षक रहने गरी बच्चाको नाममा २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।

पहिलो र दोस्रो सन्तान छोरी जन्माउने चार दम्पत्तिका नाबालक छोरीका नाममा महानगरपालिकाले ग्लोबल आईएमी बैंकमा खाता खोलेर २५ हजार जम्मा गरिदिएको विराटनगर महानगरपालिकाको उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् ।

दोस्रो छोरीको उमेर १८ वर्ष पुगेपछि अक्षय कोषमा जम्मा भएको रकम झिक्न पाइने छ । विराटनगर महानगरपालिकाले छोरीहरुप्रति सम्मान जनाउन यो कार्यक्रम यसै आर्थिक वर्षबाट सुरु गरेको हो । महानगरले अघिल्लो आर्थिक वर्ष ‘छोरी बचाऊ’ अभियान चलाएकोमा यसै वर्षदेखि ‘छोरी पढाऊ’ अभियान पनि थप गरेको छ । चालू आर्थिक वर्षमा यो कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

उपमेयर कार्कीका अनुसार अभिभावकहरुले छोरीलाई दाइजोको सट्टा उच्च शिक्षा दिउन् भन्ने उद्देश्यअनुसार यो कार्यक्रमको थालनी गरिएको हो ।

यस अभियान अन्तर्गत पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता र दोस्रो सन्तान पनि छोरी जन्माउने परिवारलाई २५ हजार रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । चालु आर्थिक वर्षमा चार परिवारलाई २५ हजार रुपैयाँको अक्षयकोष प्रदान गरिएको छ भने २२ दम्पत्तिलाई नगद ३ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

यो सुविधा पाउनका लागि कम्तिमा २० वर्षपछि बिहे गरेको हुनुपर्ने, नियमित गर्भ जाँच गराएको हुनुपर्ने, अस्पतालमा प्रसूति गराएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ ।

गर्भमा छोरी रहेको थाहा पाएपछि भु्रण हत्या गर्ने क्रम बढेपछि त्यसलाई रोक्न महानगरपालिकाले पहिलो पटक यो अभियान चलाएको हो । मेयर भीम पराजुलीले भने, ‘छोरीलाई हेर्न दृष्टिकोणमा परिवर्तन ल्याउन छोरी बचाऊ, छोरी पढाऊ अभियान सञ्चालनमा ल्याइएको हो । यो अभियानले समाजमा छोरीप्रतिको दृष्टिकोण केही भएपनि परिवर्तन ल्याउन सकिनेमा आशावादी छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment