Comments Add Comment

कोटेश्वरको जाम घटाउन मनोहरामा बेलिब्रिज, जडिबुटीबाट सोझै बालकुमारी

२४ पुस, काठमाडौं । सरकारले कोटेश्वर चोकमा हुने जामको जामको समस्या घटाउन भन्दै विकल्पिक सडकको प्रयोग गर्ने तयारी गरेको छ । सडक विभागको पहलमा जडिबुटीबाट रिंगरोडको बालकुमारीतर्फ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न दिन लागिएको हो ।

जडिबुटीबाट प्रवेश गरी हिमालयन आँखा अस्पताल हुँदै बालकुमारी निस्कने सडकलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन लागिएको हो । यो मार्गको बीचमा पर्ने मनोहरा खोलामा बेलिब्रिज हालिँदैछ ।

यो पुल बनेेपछि सवारीहरु जडिबुटीबाट सहज रुपमा बालकुमारी आउन सक्नेछन् । बालकुमारीबाट नदी करिडोर प्रयोग गरी शहरका जुनसुकै भागमा पुग्न पनि यसले सहज हुने दावी सडक विभागको छ ।

विभागका प्रवक्ता मुक्ति गौतमका अनुसार कोटेश्वरको जाम घटाउन यो सडक प्रभावकारी हुनेछ । उनले बेलिबि्रज राख्ने तयारी भइरहेको भन्दै समयभित्रै सडक प्रयोगमा आउने बताए ।

यो सडकमा हाल रहेको पुलको क्षमता कमजोर भएकाले बेलिबि्रज जडान गर्न लागिएको हो । पुल कमजोर भएका कारण ठूला सवारीले यो बाटो प्रयोग गर्न सकेका छैनन् । त्यसैकारण ठूला सवारी आवातजावत गर्न सक्ने गरी यो मार्ग विस्तारको तयारी भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता शिबहरि सापकोटा यो पुल निर्माणपछि नदी कोरिडोरको उपयोगिता पनि बढ्ने र कोेटेश्वरको जाम केही हदसम्म भए पनि घट्ने बताउँछन् ।

हाल काठमाडौं प्रवेश गर्न कोटेश्वर चोक प्रयोगको विकल्प छैन । अब बेलिबि्रज जडानपछि सवारीले सोझै विनाजाम बालकुमारीतर्फ आउन पाउनेछ । बानेश्वरतर्फ आउने सवारीले बालकुमारीबाट बागमती करिडोर प्रयोग गर्न सक्ने सापकोटाले बताए ।

यसले मुख्य सडकको नजाम घट्ने र ट्राफिक व्यवस्थापन पनि सहज बन्ने अपेक्षा गरिएको छ ।

हाल कोटेश्वरमा जामको समस्या भयावह छ । कोटेश्वरको जाम घटाउन सरकारले सुरुङमार्गको योजना पनि ल्याएको छ । तर, अध्ययन हुनै बाँकी छ ।

कलंकी कोटेश्वर खण्डको विस्तार भएपछि काटेश्वरमै आएर सवारी थुप्रिने समस्या छ । यस्तै काठमाडौंबाट बिपी राजमार्ग प्रयोग गर्ने सवारीले पनि यहाँ चाप बढाएका छन् । भक्तपुर र काभ्रेतर्फ जनघनत्व बढ्दै जाँदा काटेश्वरको जाम ठूलो समस्याका रुपमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment