Comments Add Comment

११५ रन बनाउँदा पनि भएन शतक !

२४ पुस, काठमाडौं । न्युजिल्याण्डकी क्रिकेटर सोफी डिभाइनले अस्टेलियामा चलिरहेको महिला बिग ब्यासमा उत्कृष्ट खेल देखाएकी छिन् । राम्रो ब्याटिङ गरेकी उनले टिमका लागि १ सय १५ रन बनाइन तर पनि शतक भने भएन ।

मंगलबार एडिलेड स्ट्राइरक र होबर्ट हुरीकेनबीच सुपर ओभरमा पुगेको खेलमा उनले टिमका लागि १ सय १५ रनको अविजित पारी खेलेर पनि शतक बनाउनबाट चुकेकी हुन् ।

होबर्टले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको एडिलेडका लागि सोफीले ५३ बलमा अविजित ९९ रन बनाएकी थिइन् । जसमा उनले १० चौका र ४ छक्का हानिन् ।

१ सय ८९ रनको लक्ष्य पछ्याएको होबर्टले अन्तिम बलमा चौका हान्दै खेल बराबरी गरेपछि सुपर ओभरमा पुगेको थियो । जसमा उनै सोफीले अविजित १६ रन बनाएर टिमलाई जिताइन् । यसैले त टिमका लागि अविजित १ सय १५ रन बनाए पनि सोफीको शतक भने भएन ।

महिला बिग ब्यासमा १० खेलमा ४ सय ४९ रन बनाएकी सोफी सर्वाधिक रन बनाउनको दोस्रो स्थानमा छिन् । यसअघि मेनबर्न स्टार्ससँगको खेलमा ६० बलमा ९५ रन बनाएकी उनले पाँच विकेट पनि लिएर सबैलाई चकित बनाएकी थिइन् ।

उनले ४९.८८ को एभरेज र १४०.७५ को स्ट्राइक रेटमा रन बनाइरहेकी छिन् । प्रतियोगितामा ४५ वटा चौका बनाएकी उनले १६ वटा छक्का हानिसकेकी छिन् । साथै बलिङतर्फ पनि उनले १० खेलमा १२ विकेट लिगिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment