Comments Add Comment

पोषण विज्ञान अध्ययन गरेकाले अब वेरोजगार बन्नु नपर्ने

२४ पुस, काठमाडौं । पोषण विज्ञान अध्ययन गरेका विद्यार्थीहरुले बेरोजगार हुनु नपर्ने भएको छ । पोषण विज्ञान अध्ययन गरे पनि सरकारले दरवन्दी नखुलाउँदा बेरोजगार बन्नु परेको भन्दै पोषण अध्ययन गरेका विद्यार्थीहरुले गुनासो गर्दै आएका थिए ।

सरकारले पोषण विज्ञको रुपमा दरवन्दी खुलाउने तयारी गरे पछि पोषण सम्बन्धी अध्ययन गरेका विद्यार्थीहरु अब बेरोजगार बन्नु नपर्ने भएको हो । पोषण विज्ञ नियुक्त गर्न सक्ने व्यवस्था रहे पनि सरकारले रिक्त दरवन्दीको विवरण नदिएका कारण लोकसेवा आयोगले विज्ञापन खुलाएको थिएन ।

अब भने पोषण विज्ञको दरबन्दी खुलाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासकसमेत रहेका प्रवक्ता श्रेष्ठले दरवन्दी खुलाउने विषयमा गृहकार्य भइरहेको बताए ।

पोषण विज्ञहरुको अस्पतालहरुमा समेत दरवन्दी आवश्यक रहे पनि केकति संख्या आवश्यक रहेको भन्ने विषयमा भने जानकारी नभएको उनले बताए । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नै निर्देशन दिइसकेका कारण अब भने पदपुर्ति गरिने उनले जानकारी दिए ।

उनले भने, ‘अहिले के कति दरबन्दी रिक्त छ भन्ने तथ्यांक छैन, उपप्रधानमन्त्रीले नै यस विषयमा आवश्यक निर्देशन दिनु भएको छ, अब निकाल्ने विज्ञापनमा यसको पनि माग गरिनेछ ।’

हाल पद्मकन्या क्याम्पस र केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पोषण विज्ञान सम्बन्धी अध्ययन हुने गरेको छ । चार वर्षे अध्ययन सकिए पनि सरकारले विज्ञापन नखुलाउँदा बेरोजगार भइएको भन्दै विद्यार्थीहरुले गुनासो गर्दै आएका थिए । उनीहरु संगठित समेत भएका छन् ।

उनीहरुको संगठित संस्था नेपाल डाइटीसियन एशोसिएसनले सरकारसाग विज्ञापन खुलाउनु पर्ने माग गर्दै आएको थियो । सरकारको निर्णयले डाइटिसियनहरुमा खुसीयाली छाएको डाइटिसियन कमल गुरागाईं बताउछन् ।

सरकारले डाइटिसियनहरुको विज्ञापन खुलाएसागै पोषण विज्ञान पढेर विदेशिनु पर्ने बाध्यता हट्ने गुरागाईंको भनाइ छ ।

अध्ययन गरेर पनि सरकारले बेवास्ता गरेका कारण बेरोजगार बन्नु परेको गुनासो गर्दै आएका उनीहरुले तत्कालिन स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालदेखि हालका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवसमेतलाई विज्ञापन खुलाउन भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

राज्यमन्त्री हुँदै हालका उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवसम्म उनीहरुको कुरा पुगे पछि सरकारले विज्ञापन खुलाउने तयारी शुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment