Comments Add Comment

खोला अतिक्रमणले डेढ करोडको सिँचाइ आयोजना प्रभावित

२५ पुस, नवलपरासी । पूर्वी नवलपरासीको दुम्किबासमा रहेको ज्यामिरे र विनयी खोलामा भएको अतिक्रमणका कारण डेढ करोडको लागतमा बन्दै गरेको सिँचाइ योजना प्रभावित भएको छ ।

विनयी त्रिवेणी १ को ठूलोटाँडी लिफ्ट नयाँ प्रविधिमा आधारित सिँचाइ जल उपभोक्ता संस्थाको एक करोड पाँच लाखको आयोजना अलपत्र परेको अध्यक्ष पूर्णप्रसाद सुवेदीले बताए ।

सुवेदीका अनुसार विनयी खोला र ज्यामिरे खोलाको संगम स्थलमा इनार खनेर पानी जम्मा गर्ने खाडल बनाइएकोमा अहिले इनार भन्दा खोला तल गएपछि आयोजना प्रभावित भएको हो ।

खोलामा आएको पानी इनारमा जम्मा गरेर इन्चको मोटरबाट पानी खेतमा खनिएको २० मिटर लम्बाइ २० मिटर चौडाइको पोखरीमा जम्मा गरेर खेतबारीमा लैजाने तयारी भएको छ ।

आयोजना निर्माण सम्पन्न हुने समय जेसिभी, ट्याक्टर र टिपर प्रयोग गरेर नदीजन्य वस्तु झिक्न थालेपछि इनारमा पानी आउने सम्भावना सकिएको छ । सुवेदीका अनुसार अहिलेसम्म इनार निर्माण, विद्युत जडान, मोटर जडान लगाएको काम सकिएको छ भने पोखरीबाट पानी लैजाने पाइप ल्याएर तयारी अवस्थामा छ ।

सुवेदीले भने, ‘अब सिँचाइका लागि सम्पूर्ण तयारी भएको थियो तर नदीजन्य वस्तु निकासीको बाहानामा खोला गहिरिएपछि इनारमा पानी आउने सम्भावना छैन । यहाँ सिचाईको राम्रो व्यवस्था भए धान, गहुँ, मकैको सट्टा किसानहरुले व्यावसायिक तरकारी खेती गर्नेछन् ।

आयोजना सञ्चालनमा आए यहाँका एक सय १४ घरका ९३ विगाहा जमिन सिँचाइ हुनेछ । अहिलेसम्म यहाँका किसानहरु आकासे पानीको भर पर्न बाध्य छन् ।

विनयी त्रिवेणी १ ठूलाटाँडीको यस सिँचाइ आयोजनाका लागि सिँचाइ विभागको कार्यालय काठमाडौं र सिँचाइ डिभिजन कार्यालय सेमरीको सहयोगमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment