Comments Add Comment

चितवन महोत्सवको १२ औं संस्करण आजबाट सुरु हुँदै

‘चितवनको गौरव र गरिमाय प्रस्तुति’ चितवन महोत्सवको १२ औं संस्करण आज बुधबारबाट नारायणगढमा सुरु हुँदैछ । उद्योग वाणिज्य संघ–चितवन, जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।

महोत्सवको उद्घाटन नेकपाका अध्यक्ष प्रचण्डले गर्दैछन् । ०५३ सालबाट हरेक दुई–दुई वर्षमा नारायणी नदी किनारमा महोत्सव आयोजना गरिँदै आएको छ । यसपटकको महोत्सवलाई आर्कषक बनाउन नारायणी नदी किनार झकिझकाउ बनाइएको छ ।

महोत्सवमा ६ वटा विशेष स्टल र ५०० वटा स्टल रहनेछन् । महोत्सवलाई यसपटक चितवनको पर्यटन प्रवद्धनसँग जोडिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सव संयोजक सहनलाल प्रधानले बताए ।

यसवर्ष महोत्सवमा कृत्रिम चिडियाखाना थप गरिएको छ । पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । महोत्सवमा कलात्मक प्रवेशद्वार बनाइएको छ । चितवन महोत्सवमा पोल्ट्री परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, विद्युत् परिसर, मेड इन नेपाल परिसर, बैंक तथा वित्तीय संस्थाहरु, आदिवासी जनजातिका नमूना घर आदि रहने संयोजक प्रधानले जानकारी दिए । सबै स्टलहरूको कुल रू. ५ करोडको बीमा गरिएको छ ।

महोत्सव अवधिभर कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा आधारित विभिन्न कार्यशालाहरु हुनेछन् । जिल्लामा रहेका विभिन्न आदिवासी जनजातीहरुको घरहरु निर्माण गरिएका छन् ।

कुल ५ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोबार हुने अनुमान गरिएको छ । प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारबाट बेजोड प्रस्तुतिसमेत रहने छ । बालुवामा कुँदिएको २० फिट लम्बाइ, १० फिट चौडाइ रहेको माछाको कलात्मक आकृतिसमेत महोत्सव परिसरमा रहेको छ ।

आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा अग्रसर रहँदै सार्वजनिक निजी साझेदारीको अनुपम नमुना बन्न सफल चितवन महोत्सव यसपटक पनि भव्यरुपमा सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले बताए ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गरी पर्यटनकेन्द्रित विभिन्न कार्यक्रमहरु समेत आयोजना गरिएको उनले बताए । जिल्लाभित्रका विभिन्न पर्यटकीय गन्तव्यहरुको संक्षिप्त जानकारी तथा तस्वीर समावेश गरी पर्यटक गाइड बुक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गरिने संयोजक प्रधानले बताए ।

महोत्सवमा विभिन्न जातजातिको भेषभूषा तथा झाँकी प्रदर्शनको जिम्मा भने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति चितवनले लिएको छ । महासंघले जिल्लामा रहेका १७ आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचानलाई महोत्सवमा प्रस्तुत गर्नेछ । साधारण व्यक्तिका लागि ५० र विद्यार्थीका लागि २५ रूपैयाँ टिकट दर कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment