Comments Add Comment

कामेश्वर चौरासियाको दुखः प्रमुख भूमिका पर्खिँदा कामबिहिन

नेपाली चलचित्रका नियमित दर्शकका लागि कामेश्वर चौरासिया चिरपरिचित अनुहार हुन् । केही समयअघिसम्म उनको चलचित्र क्षेत्रमा चर्को डिमान्ड थियो । दर्शकले खुबै रुचाएका उनै कामेश्वर नौ महिनादेखि कामबिहिन छन् । उनलाई चलचित्रको अफर आउनै छोडेको छ । आफूले ‘लिड क्यारेक्टर’ को खोजी गर्दा अन्तत खाली हात बस्नुपरेको कामेश्वर बताउँछन् ।

‘म जस्तोसुकै अभिनय गर्न सक्ने कलाकार हुँ जस्तो लाग्थ्यो, त्यसैले लिड क्यारेक्टरको भोको थिएँ । तर मलाई लिड क्यारेक्टरको लागि लायक कसैले देख्नु भएन,’ उनले भने । ‘कि लिड क्यारेक्टर देऊ, कि मोटो पारिश्रमिक देऊ’ कामेश्वर निर्माता–निर्देशकसँग यस्तो डिमान्ड गर्थे । यहि डिमान्डले उनलाई धक्का लाग्यो । उनले न लिड क्यारेक्टर पाए न मोटो पारिश्रमिक । बरु निर्माता–निर्देशकले उनलाई ‘घमण्डी’ देख्न थाले । बिस्तारै उनले फिल्ममा कामै पाउन छोडे ।
‘ए बाबा, आफूले भनेजस्तो क्यारेक्टर पनि नपाउने अनि आफूले चाहेको जस्तो पैसा पनि नपाउने भए कलाकार हुँ भनेर किन बस्नु ?’ उनले रिस पोख्दै भने ।

नेपाली चलचित्र क्षेत्रमा छिनमै गला मिलाउने, अनि छिनमै छुरा हान्ने मान्छेको कमि नरहेको उनको अनुभव छ । कामेश्वर भन्छन्, ‘निर्माता–निर्देशकको कुरा नकाटी ‘हस’ र ‘हुन्छ’ मात्र भने यहाँ टिक्न सकिने रहेछ । तर मेरो यस्तो बानी छैन ।’

कामेश्वर ‘जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै’ गरिदिन्थे । ‘मलाई चाप्लुसी गरेर यस क्षेत्रमा टिक्नु थिएन, म हैन मेरो काम विकोस भन्ने लाग्थ्यो,’ उनले भने, ‘यही कुरामा धेरैसँग मनमुटाव पनि भयो ।’

‘मिडियाको लिस्ट मागेको होइन’
कामेश्वरले आफू अभिनित फिल्म ‘पलाँस’ को समयमा धेरै विवाद खेप्नु परेको थियो । उनले त्यस समय ‘अन्तरवार्ता दिन मिडियाको लिस्ट चाहिएको’ भनेको कुरा निकै चर्चित भएको थियो । तर, कामेश्वर आफूले त्यस्तो नभनेको बताउँछन् । उनी भन्छन्, ‘मैले मिडियाको लिस्ट माग्ने औकात बनाइसकेको छैन । मैले त्यो भनेको पनि होइन ।’

तर, कामेश्वरले ‘अन्तर्वार्ता दिनुपरे भुषण दाहाल र विजयकुमार पाण्डेलाई दिन्छु’ चाहिँ भनेका थिए । उनी यस कुरालाई स्विकार्छन् पनि । ‘अन्तर्वार्ता लिन मिडिया आएको छ भन्दा को आउनु भएको छ भनेर सोधेको थिएँ । तर उहाँहरुले तपाईलाई को चाहियो भनेर प्रश्न गर्नुभयो,’ उनी भन्छन्, ‘अनि मैले सम्मान पूर्वक उहाँहरुको नाम लिएको थिएँ ।’

मलाई काम चाहिएको छ
कामेश्वर अहिले चलचित्रमा काम नपाएर दुःखी छन् । किन आफूलाई अफर आउन छोड्यो भन्ने उनलाई लागिरहन्छ । ‘मैले काम गरेवापत पैसा माग्नुलाई नराम्रो मानियो, क्यारेक्टर छान्नुलाई घमण्डी भनियो,’ उनले भन्छन्, ‘मैले कोही फिल्ममेकरसँग झुकेर कुरा गरिन, चाकडी पनि गरिनँ । त्यसैले होला कसैले मलाई दोहो¥याएनन् ।’

यस बीचमा उनलाई अतिथि भूमिकाको लागि पनि अफर आए । तर, त्यस्तो अफरलाई उनले नकार्थे । ‘म लिड क्यारेक्टर गर्छु भन्ने कुरामा पागल भइरहेको थिएँ, यसको भूत दिन प्रतिदिन बढिरहेको थियो । कहाँ गेष्ट रोल गर्ने समय भएको थियो र मेरो ?’ आफूलाई मुख्य भूमिकामा हेर्ने रहर उनीमा अझै छ । ‘मैले पाउँछु वा पाउँदिन थाहा छैन, तर ममा त्यो भूत अझै छ,’ उनले भने ।

यतिबेला आफूसित चिनी किन्ने पैसा पनि नभएको बताउँछन् कामेश्वर । त्यसैले अब जस्तो चलचित्रमा पनि काम गर्न तयार छन् । उनी भन्छन्, ‘लिड क्यारेक्टर मेरो भोक हो । तर, अहिलेको अवस्थामा म जस्तो भूमिकामा अफर आए पनि काम गर्न तयार छु । मलाई चलचित्रमा काम चाहिएको छ ।’

उनी आफू अहिले आफ्नो करिअरको ‘स्ट्रगल फेज’ मा फर्किएको बताउँछन् । ‘सुरुका दिनमा मैले फिल्म पाउन जुन दुःख गर्नु परेको थियो, त्यो फेरी दोहोरिएको छ’, उनी केही मलिन देखिए । कामेश्वर अब आफू नरम भएको बताउँछन् । उनी भन्छन्, ‘कुनै समयको चर्चाले गर्दा म मात्तिएको थिए । मुर्ख भएको थिएँ । तर, अहिले म नरम भइसकेको छु ।’

कलाकार बन्न गरेको संघर्ष
कामेश्वरले आफ्नो जीवनमा निकै संघर्ष गरेका छन् । उनले क्यान्टिनमा खाना पकाउनेदेखि सेल्सम्यानको कामसम्म गरे । काठमाडौं उनको लागि विरानो शहर थियो । खानको लागि खानेकुरा थिएन, निद्रा लाग्दा सुत्ने ठाउँ थिएन ।
‘मैले गरेको दुःख सम्झिदा मलाई नै हाँसो लागेर आउँछ’, उनी सम्झिन्छन्, ‘मैले जे जति काम गरेँ, दुःख गरेँ, त्यो कलाकार बन्नकै लागि थियो ।’ ‘सातामा बल्लतल्ल दुई दिन काम पाइन्थ्यो । अरु दिन कमाई हुने आधार केही थिएन । कति दिन त भोकै पनि बसेँ,’ उनी भन्छन्, ‘मान्छे जहाँ जान्छ, भाग्य र पेट सँगै जान्छ । मेरो लक्ष्य भेट्नका लागि कति दिन खाली पेट सुत्नुप¥यो ।’

पोस्टरमा छापिएका कलाकारहरु उनी शहरमा खोज्दै हिँड्थे । तर, उनीहरुसँग प्रत्यक्ष भेटेर कुरा गर्न कामेश्वरलाई धेरै समय लाग्यो । ‘भित्तामा भेटिएका कलाकार सडकमा हिँड्दा भेटिदैन थिए । उहाँहरु भेट्न मलाई निकै समय लाग्यो,’ कामेश्वरले सुनाए । भेटेर पनि काम पाउनका लागि उनले निकै पापड बेल्नुप¥यो ।

‘जहाँ चलचित्रको अडिसन छ भनेको सुन्थेँ, दौडिदै त्यहाँ पुगेको हुन्थे,’ उनी भन्छन्, ‘आश्वासनको बोली धेरैबाट सुनिए पनि चलचित्रमा मौका कसैले दिएनन् ।’

जब सौगातले पत्याए
कामेश्वरले यो दौरानमा थिएटरका केही साथीहरु चिनिसकेका थिए । उनी थिएटरमा गएर नाटक पनि सिकिरहेका थिए । एक–दुई नाटकमा काम पनि गर्न पाए । कामेश्वरलाई थिएटरमा रहँदा नै चिनेका निर्देशक सौगात मल्लले एक दिन फोन गरे । उनले कामेश्वरलाई चलचित्र ‘छड्के’ मा अभिनय गर्नको लागि प्रस्ताब राखे । कामेश्वरमा खुसीको सिमा रहेन । चलचित्रको कलाकार बन्ने सपना पालेर काठमाडौंमा यत्तिका दुःख गरेका कामेश्वरको सपना पूरा हुदैँ थियो ।
‘त्यो समयको खुसी त म शब्दमा बयान गर्न सक्दिन,’ उनको मुहारमा केही खुसी देखिन्छ ।

त्यसपश्चात् उनले रेशम फिलिलीमा काम गर्ने मौका पाए । उक्त चलचित्रले कामेश्वरको क्रेज निकै बढाइदियो । अनि उनले लगातार फिल्ममा काम गर्ने अवसर पाइरहे । तर, उनको फिल्मी करिअर अहिले फेरि डामाडोल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment