Comments Add Comment

प्रधानमन्त्रीमा ‘गहन शारीरिक समस्या’ देखिएको गोविन्द केसीको आरोप

२५ पुस, काठमाडौं । आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पास भएको भन्दै प्रा. डा. गोविन्द केसीले १६ औं आमरण अनसन इलामबाट सुरु गरेका छन् । डा. केसी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको पुरानो कार्यालय फुलगाछीमा बुधबारदेखि अनसन थालेका छन् ।

अनसन सुरु गर्नुपूर्व डा. केसीले दुई पृष्ठको विज्ञप्ति पढे, जसमा प्रधानमन्त्रीसमेत निहीत स्वार्थका अगाडि निरिह हुँदै प्रतिवद्धताबाट पछि हटेका आरोप लगाएका छन् ।

विज्ञप्तिमा डा. केसीले प्रधानमन्त्रीको स्वास्थ्यबारे गम्भीर प्रश्नसमेत उठाएका छन् । अहिले देखिएको भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने भन्दै केसीले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्दतिका दुश्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेकोजस्तो देखिनु दुर्भाग्यपूर्ण हो ।’

डा. केसीको वक्तव्यमा यसबारे थप केही भनिएको छैन । तर, यसको संकेत किड्नी ट्रान्सप्लान्ट गरेपछि प्रधानमन्त्री ओलीले सेवन गरेको औषधीतर्फ लक्षित रहेको बुझ्न सकिन्छ ।

उसो त कुनै समय पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय गठबन्धनले पनि वक्तव्यमै यस्तै प्रश्न उठाइएको थियो । अहिले त्यसबेला ओलीको स्वास्थ्यबारे प्रश्न उठाउनेहरु ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मै समाहित भइसकेका छन् ।

विगतमा ३० दलले उठाएजस्तै डा. केसीले पनि अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा प्रश्न उठाएका छन् । के आधारमा यो प्रश्न गरियो भन्ने प्रश्नमा उनका निकटवर्तीहरु औपचारिकरुपमा बोल्न तयार भएनन् ।

तर, नाम उल्लेख नगर्ने सर्तमा एक सहयोगीले भने, ‘प्रधानमन्त्रीले पटकपटक म कार्यान्वयन नहुने सहमति नै गर्दिनँ, सहमति गरेपछि कार्यान्वयन गर्छु भन्नुभएको थियो । उहाँले चाहेको भए फूल हाउसबाट यो सहमति पास हुन सक्थ्यो । संसदीय समितिमा पठाएपछि नै जालझेल भएको हो । त्यसैले प्रधानमन्त्री ओलीको निर्णय क्षमतामा प्रश्न उठाउनुभएको होला ।’

उनले अघि भने, ‘किड्नी ट्रान्सप्लान्टपछि इम्युनिटी पावरका लागि खाइने औषधिको साइडइफेक्ट हुन्छ भन्ने सबैलाई थाहा छ । यसबारे बहस हुँदा राम्रै होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment