Comments Add Comment

साझाका २० वटा नयाँ बस केही दिनमै नेपाल आइपुग्ने

२६ पुस, काठमाडौं । साझा यातायातले थप ल्याउन लागेका २० वटा बस केही दिनमै नेपालमा आइपुग्ने भएको  छ । साझा यातायात सहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा यी बस नेपाल ल्याउन लागिएको हो ।

नयाँ तीस बस निर्माण भइसकेको र अबको केही दिनमा बस नेपाल आइसक्ने साझा यातायातले जनाएको छ । ‘एक दुई दिनमै भारतबाट बसहरु हिँड्छन्, भन्सार प्रक्रिया पास भएर आउन केही समय लाग्छ,’ साझाका एक अधिकारीले भने ।

साझाका अनुसार काठमाडौँको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप तीस ठूला बस ल्याउन लागिएको हो ।

नयाँ ल्याउन लागिएका सबै बस आइसकेपछि रुट इजाजत लिने प्रक्रिया सुरु हुनेछ । साझाले पुरानै रुटमा थप्ने र आवश्यक देखिए केही नयाँ रुटमा पनि सेवा थाल्ने योजना बनाएको छ ।

अब आउने बस पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सबै बस अपांगमैत्री हुने साझाले जनाएको छ । जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट हि्वलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ । बस आपूर्तिको सबै जिम्मा भारतीय कम्पनी अशोक लेल्यान्डले पाएको थियो ।

लामो समय बन्द रहेर २०७० साल वैशाखदेखि पुनः सञ्चालनमा आएको साझा यातायातले निकट भविष्यमा नै विद्युतीय बस पनि ल्याउने योजना बनाएको छ ।

काठमाडौं महानगरपालिकाले यो वर्ष साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपैयाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ ।

यस्तै ३ नम्बर प्रदेशको सरकारले साझा यातायातसँग ३० करोड रुपैयाँ बराबरको शेयर किन्ने तय भइसकेको छ । यो रकमबाट साझाले प्रदेशका पाँच शहरमा विद्युतीय बस चलाउनेछ ।

प्रदेश सरकारले विद्युतीय बस किन्न ३० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएको छ । प्रदेश ३ को सरकारले २०८५ सालभित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ ।

यही नीति कार्यान्वयन गर्न चालू आवमा साझाबाटै शेयर खरिद गर्न लागिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

काठमाडौं महानगरपालिका पनि विद्युतीय बस खरिदका लागि लगानी गर्न तयार रहेको बताएको छ । ललितपुर महानगरले पनि सानो भएपनि लगानी गर्ने बचन दिएको छ ।

काठमाडौं महानगरका मेयर प्रमुख विद्यासुन्दर शाक्यले विद्युतीय सवारी विस्तार गर्न महानगरले यसैवर्ष अर्को १० करोड बजेट विनियोजन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment