Comments Add Comment

खप्तड गोल्डकप : च्यासलको फराकिलो जितमा अर्मान्डको ह्याट्रिक

२६ पुस, काठमाडौं । भ्याली च्यासल युवा क्लब तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बिहीबार भएको खेलमा च्यासलले दिल्ली फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । च्यासलको जितमा विदेशी खेलाडी अर्मान्ड मोएनले ह्याट्रिक गोल गरे ।

च्यासलले खेलको १४ औं मिनेटमा अग्रता लिएको थियो । एल्भिसको पासमा सन्जोग राईले सहजै गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा हेमन्त थापामगरले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको भित्री भागमा लाग्दै गोलमा परिणत भएपछि च्यासलको अग्रता दोब्बर भयो ।

४० औं मिनेटमा सन्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै अर्मान्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक मन्दिपले बचाउन सकेनन् ।

दोस्रो हाफमा पनि च्यासलले सुरुवातदेखि दबाब कायम राख्यो । ६१ औं मिनेटमा अर्मान्ड मोएनले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई ४–० ले अगाडि बढाए । ७३ औं मिनेटमा अर्मान्डले प्रहार गरेको फितलो प्रहार गोलरक्षकले रोक्न नसक्दा च्यासल ५–० को स्थितिमा पुग्यो । इन्ज्युरी समयको पहिलो मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई ६–० को जित दिलाए ।

च्यासलले अब थ्रीस्टारसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । शुक्रबार हुने खेलमा रुपन्देहीको गोर्खा ब्वाइजले संकटासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment