Comments Add Comment

डडेल्धुरामा हप्तामै ४ आगलागी, रहस्यमय घटनापछि स्थानीय जाग्राममा

२७ पुस, डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा एक हप्ताको अवधिमा चारपटक आगलागीका घटना भएका छन् । लगातार मध्यरातिको समयमा आगलागी हुन थालेपछि स्थानीय तथा व्यापारीहरुमा त्रास छाएको छ ।

पुस १३ गते शुक्रबार बागबजारस्थित लक्ष्मी किराना पसलमा आगलागी भएको थियो । उक्त घटना सेलाउन नपाउँदै १८ गते बुुधवार एक खोकामा मध्यराति आगलागी भयो । आगलागीको यो शृखंला रोकिएन, त्यसपछि बिहीवार बागबजारकै तीन पसल जलेर नष्ट भए । त्यसकै ३ दिनपछि बागबाजारकै बसपार्कमा फेरि उसैगरी आगो लाग्यो र ११ पसल जले ।

सदरमुकाम क्षेत्रमा एकपछि अर्को आगलागीका घटना हुन थालेपछि स्थानीयमा संत्रास फैलिएको छ । पसल जोगाउन व्यापारीहरु रातभर जाग्राम बस्ने गरेका छन् । स्थानीय व्यापारी वीरबहादुर सेठीले पसल जोगाउन रातभर जाग्राम बस्ने गरेको बताए ।

९ दिनमा ४ आगलागी, डेढ करोड बढी नोक्सान

लगातारको आगलागीले लाखौंको धनमाल जलेर नष्ट भएको छ । जिल्ला प्रशासन कार्यालय, डडेल्धुराका अनुसार, आगलागीले करिब डेढ करोड बढीको क्षति छ । ९ दिनको अन्तरालमा भएका यी घटनामा १५ पसल र १ घर जलेर नष्ट भएका थिए । यही पुस १३ गते शुक्रवार सुरुमा लक्ष्मी किराना पसलमा आगलागी हुँदा २० लाखको क्षति भएको थियो । त्यसको ४ दिनपछि बागबजारकै बगरकोटरोडमा एक खोका जल्दा करिव ६ लाखको क्षति भयो । त्यस्तै भोलीपल्ट बागरबजारको बगरबाटाको एक घरमा आगलागी हुँदा तीन पसल जलेका थिए । प्रहरीका अनुसार, तीन पसलमा जल्दा ६० लाख बराबरको धनमाल नष्ट भएको छ ।

यो भयाभह श्रृंखला आइतबार राति पनि दोहोरियो । बागबजारकै बसपार्कमा सँगै रहेका १० वटा पसलमा एकसाथ आगो लाग्दा करिब ६५ लाखको क्षति भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

घटना फरक, प्रकृति एउटै

लगातारका ४ आगलागीले यतीबेला सदरमुकामको माहोल त्रसित बेनेको छ । श्रृंखलाबद्ध रुपमा आगलागी हुन थालेपछि स्थानीयले आगो नियतबस लगाइएको शंका गरेका छन् । ‘शंका त त्यति बेला लाग्यो जब बगरबाटका तीन पसलसँगै जलिरहेका थिए’, स्थानीय शेरबहादुर गुरुङ भन्छन्, ‘आगो त एउटा पसलबाट सल्किएर अर्को पसलमा जान समय लाग्छ, त्यो पेट्रोल हालेर सँगै जलाइएको हुनपर्छ ।’
‘राति चौकीदारी गर्ने क्रममा हामी त्यहीबाटो भएर गएका थियौं, त्यसको १० मिनेटपछि ती पसल दुनदुन बले’, एक आगलागी घटनाको वर्णन गर्दै स्थानीय केदारनाथले भने, ‘हामी हत्तपत्त दगुरेर आयौं त्यहाँ एक किशोर उभिएका थिए ।’

उक्त दिन आगो निभाउने क्रममा केही व्यक्ति त्यसकै केही पर रहेको डडेल्धुरा सार्वजनिक पुस्तकालयमा जमघट भएका थिए । विल्डिङको हरेक सटरमा पेट्रोल खनाइएको थियो र ताजा गन्ध पनि आइरहेको अनलाइनखबरकर्मीले समेत देखेका थिए ।

लहरै रहेका पसलमा सँगै आगो लाग्नु र घटनास्थलनजिकै पेट्रोल भेटिनुलाई स्थानीयले शंकाको नजरले हेरेका छन् ।

पक्राउ परेका किशोर को हुन् ?

बसपार्क आगलागीका क्रममा पक्राउ परेका एक किशोरलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो । लगत्तै अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझाले किशोरले आगजनी गरेको स्वीकारेको बताएका थिए । मेयरको भनाइपछि स्थानीयमा आगलागीको रहस्य खुल्ने विश्वास पलाएको थियो । तर, ती किशोरले घरमा खर्च नदिएपछि खोका छाप्रामा मात्रै आगजनी गरेको बताएपछि अन्य आगलागीका घटना थप रहस्यमय बनेको छ ।

स्थानीय जाग्राम

९ दिनमा भएका यी डरलाग्दा घटनापछि यहाँका स्थानीय तथा व्यापारी दिनमा भोक न रातमा निद्राको अवस्थामा पुगेका छन् । आगालागीको घटना दोहोरिने डरमा हरेक ५० मिटरको दूरीमा आगोबालेर रातभर जाग्राम बस्ने गरेका छन् । ‘अब आफ्नो सुरक्षा आफैं गर्ने हो’, स्थानीय व्यापारी विष्णु जोशीले भने, ‘पालोपालो गरेर रातभरि बस्छौ, प्रशासनले सुरक्षा व्यवस्था त कडा गरेको छ तर पनि मनले मान्दैन ।’

एकपछि अर्को आगलागीको घटनापछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । मंगलवार मात्रै प्रहरीले अमरगढी नगरपालिका–७ बाट हर्कबहादुर सार्कीलाई १ सय १० ग्राम चरेससहित पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रमुख प्रहरी नायव निरीक्षक डम्बरबहादुर केसीले आगालगीका सबै घटनामाथि गम्भीर अनुसन्धान भइरहेको बताए ।

सोमबारको आगलागीपछि घटनाको छानबिन तथा सुरक्षा संयन्त मजबुत बनाउन माग गर्दै व्यापारीहरुले बजार बन्द गरेका थिए । व्यापारीहरु आन्दोलनमा उत्रिएपछि सर्वपक्षीय बैठकबाट छानबिन समिति बनाइएको छ । गठित समितिले यसबारे अनुसन्धान गरिरहेको अमरगढी नगरपालिकाले जनाएको छ । ‘स्थानीयले आगलागी घटना घटाइएको आशंका गर्नुभएको छ’, अमरगढीका मेयर ओझाले भने, ‘यसबारे हामी अनुसन्धान गरिरहेका छौं ।’ उनले पीडितलाई राहत दिनेबारे पनि छलफल भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment