Comments Add Comment

कम्पनीको बेवास्ताका कारण युएईमा १५० नेपाली अलपत्र

युएई । कम्पनीको बेवास्ताका कारण युएईमा १५० बढी नेपाली अलपत्र परेका छन् । अबुधाबीको अल वासिता क्याटरिङ्ग एमिरेट्समा कार्यरत उनीहरु सात महिनादेखि काम बिहीन भएर अलपत्र परेका हुन् ।

कम्पनी संचालकले कम्पनी छोडेर गएपछि यस्तो समस्या आएको चितवनका रविन्द्र श्रेष्ठले बताए ।

अलपत्र पर्नेहरुमा नेपालीसहित भारत, पाकिस्तान, बंलादेश श्रीलंका फिलिपिन्सलगायत देशका करिब ७ सय कामदार छन् । जसमा १५० बढी नेपाली रहेका छन् । हाल उनीहरु अबुधाबीको मुसाफा आइकार्डको मजदुर क्याम्पमा रहेका छन् ।

अनलाइनखबरको सम्पर्कमा आएका बैतडीका रमेश महराले सुरुमा राम्रै भएपनि सञ्चालकले कम्पनी छोडेर भागेपछि समस्या आएको बताए । ‘सुरुमा यो कम्पनी राम्रो थियो । समयमा तलव दिने गरेको थियो । सात महिनादेखि कम्पनीको कन्टयाक्ट् सकिएपछि काम बन्द भयो,’ उनले अघि भने, ‘जोर्डनका एक संचालक थिए । उनले कम्पनी छोडेर भागे । त्यसपछि व्यवस्थापन पक्षले वास्ता गर्न छोड्यो ।’

अहिले उनीहरुलाई अन्य देशका साथीहरु र संघसंस्थाले खाना खुवाउने गरेका छन् । साथीहरुलाई आउने खाना बाँडेर खाने गरेको उनले सुनाए ।

रमेशका अनुसार हाल उनीहरु रहेको क्याम्पमा १५० जना भएता पनि अन्य ठाँउमासमेत गर्दा यो भन्दा बढी संख्यामा नेपाली कामदार रहेका छन् ।

उनीहरु मध्ये धेरैको भिसा सकिएको छ । रमेश आफै पनि अक्टोबरदेखि भिसा सकिएर ओभर स्टे भएर बसिरहेका छन् ।

कम्पनीमा राजीनामा दिएपछि नेपाल फर्काउन आलटाल गर्दै यतिका समयसम्म नपठाएको उनले बताए ।

अलपत्र परेका ६४ जना १८ महिनाअघि सोही कम्पनीमा क्लिनर, कुकलगायतको कामका लागि आएका हुन् । उनीहरुले पनि ९ महिनादेखि तलब पाएका छैनन् ।

९ महिनादेखि तलब नपाएका २५ जनाले यहाँको श्रम अदालतमा मुद्दा दर्ता गरेका छन् । तीमध्ये ३ जनाले पासपोर्ट पाएपनि भिसा सकिएर -ओभर स्टे) बसेबापतको जरिवाना तीर्न नसक्दा नेपाल फर्किन सकेका छैनन् ।

यस विषयमा उनीहरुले अबुधाबीमा रहेको नेपाली दूतावासलाई जानकारी गराइसकेका छन् ।

दूतावासका श्रम काउन्सुलर भेष बहादुर कार्की र जनसम्पर्क अधिकृत इरफान आलमलाई जानकारी गराएको रमेशले बताए ।

यस विषयमा दूतावासले पहल गर्ने आश्वासन दिएको छ । तर, कम्पनीको मानव संसाधन विभागबाट आफूहरुले केहीपनि नगर्ने, जे मन लाग्छ त्यहीँ गर भन्ने जवाफ दिएको उनले सुनाए ।

यो कम्पनीमा आएका सबैजना काठमाडौंको सितापाइलामा रहेको सन हिल्स म्यानपावरबाट आएका हुन् ।

उद्दारका लागि दूतावासको पहल

नेपालीहरु अलपत्र परेको जानकारी भएपछि दूतावासले सम्बन्धित कम्पनीसँग सोधपुछ गरेको छ । तर, कम्पनीका मुख्य संचालक नभएका कारण नेपाली कामदारको उद्दारका लागि समन्य गर्न समस्या देखिएको छ ।

दूतावासले समस्या समाधानका लागि कुटनीतिक प्रयास थालेको कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

दूतावासले नेपाली कामदारको समस्याबारे पररास्ट्र, श्रम मन्त्रालय तथा वैदेशिक रोजगार विभागलाई पत्रमार्फत जानकारी गराएको छ ।

साथै सम्बन्धित कम्पनी र म्यानपावरको काम तत्काल रोक्का गर्न आग्रह गरिएको फुयाँलले बताए ।

यहाँको प्रशासनमा समेत यस विषयमा जानकारी गराइएको छ । नेपालका म्यानपावर संचालक भने दूतावासको सम्पर्कमा आएका छन् ।

बुधबार दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्की र दूतावासका जनसम्पर्क अधिकृत (पीआरओ) इर्फान आलम सम्बन्धित कम्पनी पुगेर छलफल गरेका थिए ।

कम्पनीमा १८ महिनादेखि १० वर्षसम्म काम गर्दै आएका नेपाली छन् । उनीहरुले हालसम्म श्रम गरेवापतको पाउनुपर्ने सेवासुविधा दिलाउन दूतावासले कुटनीतिक प्रयास गरिरहको छ ।

समस्यामा परेका मध्ये ४५ जनाले भने दूतावासमा पुगेर निवेदन दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment