Comments Add Comment

नेविसंघको अहिलेको नेतृत्वबाट नयाँ आश गर्न सकिँदैन: प्रकाशमान

२७ पुस, धनगढी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेविसंघको अहिलेको नेतृत्वबाट नयाँ आश गर्न नसकिने बताएका छन् । समय हुँदा काम नगर्नेहरुबाट नयाँ आश गर्न नसकिने बताउँदै उनले फेरि अहिलेको कार्यसमितिको म्याद थप्न नहुने बताए ।

प्रेस युनियन कैलालीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले अब स्ववियु चुनावसमेत गर्न सक्ने कमिटी बनाउनु पर्ने आफ्नो धारणा रहेको बताए ।

अर्को एक प्रसंगमा उनले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचारबारे संसदीय समितिमा छलफल हुन नपाउँदै छानबिन गर्न छुट्टै समिति गठन गर्नुले सरकारको नियतमा प्रश्न उठेको नेता सिंहको भनाइ छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘सरकार कुरा सुशासनको गर्छ तर भ्रष्टाचारमा लिप्त हुन्छ । भ्रस्टाचारलाई प्रश्रय दिइरहेको छ ।’

वाइडबडी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्नेमा संसदको क्षेत्राधिकारलाई नाघेर छुट्टै उच्चस्तरीय आयोग गठन गरिएको भन्दै उनले आपत्ती जनाए ।

वाइडबडीबारे छानबिन गर्न संसदको लेखा समितिले कांग्रेस नेता राजेन्द्र केसीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्वपर्यटनमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र देवलाई समेत कारबाही गर्न सिफारिस गरेको थियो । यो प्रतिवेदनमा भएका विषयहरु लेखा समितिमा पेश हुनु अगाडि नै लिक भएको थियो र, सरकारले छुट्टै उच्चस्तरीय आयोग गठन गरेको छ ।

कांग्रेस नेता सिंहले उच्चस्तरीय आयोग भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति दिने नियतका साथ गठन भएको हुनसक्ने आशंका गरे । ‘हतासमा संसदलाई बाईपास गरेर सरकार अगाडि बढेकाले थुप्रै आशंका जन्माएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment