Comments Add Comment

श्रीलंकन क्रिकेटमा भ्रष्टाचार : १५ दिनभित्र सूचना दिनेले माफी पाउने

२७ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलंकन क्रिकेटमा देखिएको भ्रष्टाचारको अनुसन्धानको लागि सूचना दिन १५ दिनको समय दिएको छ ।

भ्रष्टाचारसम्बन्धमा भएका सूचना दिनका लागि जनवरी १६ देखि ३१ सम्मको समय आईसीसीले दिएको छ । घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटमा भएका भ्रष्टाचारबारे जानकारी भएर पनि नदिनु गम्भीर अपराध हुने बताइएको छ ।

आईसीसीले पहिले भएको भ्रष्टाचार बारे सूचना दिने खेलाडीलाई कुनै कारबाही नगर्ने बताएको छ । सूचना नदिने कोही दोषी भेटिएमा पाँच वर्षसम्म क्रिकेटबाट प्रतिबन्ध लाग्न सक्ने छ ।

‘आईसीसीले यो ढंगले अनुसन्धान गरेको पहिलो पटक हो । श्रीलंकामा अनुसन्धानमा देखिएका कठिनाइका कारण पनि यो कदम चालिएको हो’ आईसीसीका जनरल म्यानेजर एलेक्स मार्सलले भनेका छन्, ‘कुनै खेलाडी र सम्बन्धित अधिकारीसँग भ्रष्टाचारबारेको सूचना छ भने बिना कुनै हिचकिचाहट हामीलाई भन्दा हुन्छ । पछि केही होला कि भनेर त्यसमा कुनै डर मान्नुपर्ने छैन ।’

जानकारी दिनका लागि २४ सै घण्टा समय दिइने बताइएको छ । मोबाइल एप्लिकेसन, टेलिफोन र इमेलमार्फत गोप्य रुपमा सूचना दिन सकिने आईसीसीले जनाएको छ ।

चार महिना अघि पूर्व क्रिकेटर सनथ जयसूर्या, पूर्व बलर र प्रशिक्षक नुआन जोयसा र पूर्व अलराउण्डर दिलहारा लोकुहेतिगेमाथि भ्रष्टाचारमा संलग्न रहेको आरोप लागेको थियो । अनुसन्धानमा असहयोग गरेको आरोप लगाउँदै सयसूर्यालाई आईसीसी एन्टी करपसन युनिटले दोषी मानेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment