Comments Add Comment

राष्ट्रपतिको सहभागिताले पृथ्वीजयन्तीले आंशिक मान्यता पायो : कमल थापा

२७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीमा राष्ट्रपति विद्या भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकोमा खुशी व्यक्त गरेका छन् ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने र सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थापाले राष्ट्रपति भण्डारीले सिंहदरबार अगाडिको पृथ्वी शालिकमा आफै उपस्थित भएर माल्यार्पण गरेकोमा खुशी र सन्तोष लागेको बताएका हुन् ।

‘विशेष गरी राष्ट्रप्रमुख राष्ट्रपति विद्या भण्डारीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँ आफै पृथ्वीनारायण शाहको शालिक अगाडि उपस्थित भएर माल्यार्पण गर्नुभयो । एउटा राजकीय सम्मान दिनुभयो’ उनले भने ‘त्यसले सरकारले औपचारिक रुपमा सार्वजनिक विदा र राष्ट्रिय पर्वको घोषणा नगरे पनि (पृथ्वी जयन्तीले ) आंशिक मान्यता भने अब प्राप्त गरिसकेको छ । स्वयं राष्ट्रप्रमुख र केही मन्त्रीहरुको समेत सहभागिताले गर्दा आंशिक मान्यता प्राप्त भइसकेको छ ।’

शुक्रबार सिंहदरबार अगाडिको पृथ्वी शालिकमा राष्ट्रपति विद्या भण्डारी, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले माल्यार्पण गरेका थिए ।

यो पनि पढ्नुहोस पृथ्वीनारायणको शालिकमुनि राष्ट्रपतिलाई सलामी

राप्रपा अध्यक्ष थापाले आगामी वर्षसम्म पृथ्वी जयन्तीलाई सरकारले पूर्ण रुपमा मन्यता दिने, राष्ट्रिय पर्वूको रुपमा मनाउने र सार्वजनिक विदा दिने विश्वास लिएको बताए । ‘आगामी वर्षसम्म सरकारले पूर्ण रुपमा मान्यता प्रदान गर्ने र राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउने र सार्वजनिक विदा दिने निर्णय गर्नेछ भन्ने विश्वास लिएको छु’ उनले भने ।

थापाले पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिक व्यवस्था र राजसंस्थासँग जोडेर हेर्न नमिल्ने पनि बताए । ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई कुनै राजनीतिक व्यवस्था र संस्थासँग जोडेर हेर्नुैहुन्न । राजनीति भन्दा माथि उहाँको योगदान रहेको छ’ उनले भने ‘यसैले सबैको साझा सम्पत्तिको रुपमा राष्ट्रिय एकता दिवसलाई लिनुपर्छ ।’

राप्रपाको चियापान

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा चियापान गरेको छ । चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतका नेताहरु सहभागी भएका थिए ।

नेकपा नेता झलनाथ खनालले पृथ्वी जयन्ती विगतमा नमनाए पनि यसमा अब सुधार गर्नुपर्ने बताए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै राष्ट्रिय एकता दिवस मनाउनुपर्ने बताए ।

चियापानमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषदका कुनै सदस्य पनि सहभागी भएनन् । मधेस केन्द्रित दलका नेताहरु पनि चियापानमा गएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment