Comments Add Comment

गृहमन्त्री थापाको निर्देशन-गुनासो गर्ने होइन, कानून बनाएर काम गर्नुस्

२७ पुस, वीरगञ्ज । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो ठाउँको आफैं विकास गर्नका लागि नै एकात्मक व्यवस्थाबाट संघीयतामा आएको बताएका छन् । उनले विगतमा जस्तो मेरो ठाउँमा विकास भएन भनेर गुनासो गर्नु उचित नहुने बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघको ४३ औं वाषिर्क साधरणसभाको उद्घाटन समारोहमा उनले जनप्रतिनिधिहरुमार्फत आवश्यक कानून बनाएर आफ्नो ठाउँ र क्षेत्रको विकासमा लाग्न आग्रह गरे ।

‘विगतमा वीरगञ्जको भूमिकालाई सम्मान, कदर र मुल्याङ्कन जति हुनुपर्ने भएन, त्यसको पछाडि राजनीतिक अवस्था र व्यवस्था थियो, अब त्यो अवस्थामा परिवर्तन भएको छ,’ उनले भने, ‘एकात्मक राजनीतिक व्यवस्था छैन, निरंकुशता छैन, लोकतन्त्र स्थापना भएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र र तीन तहको सरकार छ ।

आफ्नो मूल्याङ्कन आफैं गर्ने र हिजोको गुनासोको अन्त्य गर्नकै लागि हामीले राजनीतिक प्रणालीकै अन्त्य गरेका हौं ।’

देश, मधेस र जनताको विकासका निमित्त, सुखी नेपाल, समृद्ध नेपाली बनाउनका लागि आवश्यक कानून तर्जुमा गर्न सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । ‘मुलुकमा राणाकालीन, राजाकालीन एकात्मक व्यवस्थाका कानूनहरु अझैपनि विद्यमान छन्, उद्योगको विकास र समृद्धिका बाधक ऐन कानूनहरु परिवर्तन गर्न आवश्यक छ,’ गृहमन्त्री थापाले भने, ‘ हिजोको व्यवस्था र अवस्थाले स्वाधिनता, संस्कृति र पहिचानको रक्षा गर्न सकेन, अब त्यसको रक्षाका लागि कानून बन्नुपर्छ । त्यसको प्रक्रियामा हामी छौं ।’

संघीय सरकारले मात्रै नभएर प्रदेश र स्थानीय सरकारले समेत औद्योगिक, साँस्कृतिक र सामाजिक विकासमा टेवा पुग्ने कानून निर्माण गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

वीरगञ्ज नेपालको मुख्य लाइफ लाईन भएको बताउँदै गृहमन्त्री थापाले यसको उपेक्षा गरेर मुलुक समृद्ध हुन नसक्ने बताए ।

यसअघि कार्यक्रममा बोल्ने स्थानीय नेता तथा व्यवसायीहरुले वीरगञ्जलाई राज्यले उपेक्षामा राखेको गुनासो गरेका थिए ।

नेकपाका सांसद प्रदीप यादव, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सभासद ओम प्रकाश शर्मा लगायतले राज्यले वीरगञ्जबाट राजश्व लैजाने गरेको तर दिने बेलामा उपेक्षा गरेको गुनासो गरेका थिए ।

वीरगञ्जले राष्ट्रिय अर्थतन्त्रमा दिएको योगदानको बदलामा धुलो खानु परेको भनाइ उनीहरुको छ ।
कार्यक्रममा भारतमा सबैभन्दा बढी निर्यात गर्ने डाबर नेपाल, शिवशक्ति केमो प्राली, तेस्रो मुलुकमा सबैभन्दा बढी निर्यात गर्ने त्रिवेणी स्पेनिङ, शिवशक्ति दाल मिललगायतका उद्योग, सामाजिक अभियन्ता प्रकाश थारु, पत्रकार एवं कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका आगामी कार्यकालका लागि ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भइसकेका छन् ।

हालका बरिष्ठ उपाध्यक्ष गोपाल केडियालाई अध्यक्ष बनाउने लगभग पक्का छ । अन्य पदाधिकारीहरुको पनि टुंगो लागि सकेको वीरगञ्ज उद्योग वाणिज्य संघ स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment