Comments Add Comment

साहित्यकारका नाममा चलेको स्थानीय सत्ता !

विसं. ०३६ सालको कुरा हो । धेरैजसो कवि कलाकार देशमा प्रजातन्त्र ल्याउने पक्षमा थिए । केही अपवाद बाहेक जनमत सङ्ग्रहमा सबैजसो बौद्धिक समूहले बहुदलका पक्षमा आवाज उठाएका थिए । कवि लेखकहरु सडक कविता क्रान्तिका नाममा सडकमा उत्रिएका थिए । तर, बहुसङ्ख्यक जनतासम्म बौद्धिक बर्गले बुझेको प्रजातन्त्रको सौन्दर्यको महक पुगेको थिएन । त्यसैले बहुदल हार्‍यो र देशमा सुधारिएको पञ्चायती व्यवस्थाले जरो गाड्यो ।

एउटा मिसनमा हिँडेका लेखक-कविको सपना चकनाचुर भयो र धेरै बर्ष उनीहरुले सुरु गरेको अभियान बीचमै तुहियो । तर, लेखक-कविको समूहमा प्रजातन्त्रलाई सहयोग पुर्‍याइरहेका चर्चित लेखक जगदीश घिमिरेले हार खाएनन् ।

त्यसबेला जगदीशले भने, ‘लेखक-कविले जनताको स्वास्थको चिन्ता गर्दै धेरै कविता लेखे । उनीहरुको खानेपानीको चिन्तामा धेरै कथा लेखे । उनीहरुको खेत हराभरा हुनुपर्छ, सन्तानले पढ्न पाउनुपर्छ भनेर उपन्यास र गीत पनि लेखे । तर, विकास भएन । अब हामी आफैं आधा समय गीत लेख्दै आधा समय विकासमा जुट्नुपर्छ ।’

घिमिरे तिनै लेखक हुन्, जसले मृत्यु संनिकट आएको थाहा पाएपछि ‘अन्तरमनको यात्रा’ लेखेका थिए । जसलाई मदन पुरस्कार र उत्तम शान्ति पुरस्कारले विभुषित गरिएको थियो । मृत्युको दुई वर्षअघि मात्रै उनको ‘सकस’ नामक उपन्यास आएको थियो ।

उसो त जनमत संग्रहअघि नै घिमिरेको लिलाम, साविती जस्ता बहुचर्चित उपन्यास बजारमा आएका थिए । कविता, नाटक र कथा लेखेर उनले आफू सबै विधामा अब्बल भएको प्रमाणित पनि गरिसकेका थिए । यस्ता प्रशिद्ध व्यक्तिले विकाससम्बन्धी नयाँ धारणा बनाएपछि धेरैले उनको यो अभियानको समर्थन गरे । पत्रपत्रिकामा लेखहरु निस्किए ।

लेखेर लाखौं पाठक कमाएका जगदीश घिमिरेका कृतिहरु जिल्लामा नपढ्नेहरु जताततै पाइन्छन् । स्थानीयहरुका लागि लेखक जगदीश घिमिरेभन्दा तामाकोसी सेवा समितिका घिमिरे नै महत्वपूर्ण हुन्

जगदीश घिमिरे सिद्धान्तकार मात्र थिएनन्, प्रयोगकर्ता थिए । उनले केही वर्ष आफ्नो जन्मथलो रामेछापको मन्थलीमा यससम्बन्धी खाका बनाए र अप्रत्यक्षरुपमा काम सुरु गरे । यसका लागि उनी अन्तरराष्ट्रिय नियोगको जागिर त्यागेर बेलायतबाट नेपाल फर्किए । जब कामले गति लियो, ०४० सालमा तामाकोशी सेवा समिति नामको संस्था खोले र यसमा पूर्णरुपमा होमिए ।

अस्पताल, शिक्षा र खानेपानी

कवि लेखकहरुले पनि विकासका खाका कोर्न सक्छन् भन्ने बुझाउन जगदीश घिमिरेले आफ्नो घरको छिँडीको एउटा कोठामा स्वास्थ्य चौकी स्थापना गरेका थिए । गाउँमै स्वास्थ्य चौकी खुलेको कुरा स्थानीयबासीका लागि भोका व्यक्तिलाई खीरसरह बन्न बन्यो । विस्तारै त्यसले गति लिँदै गयो र केही वर्षभित्र स्वास्थ चौकी हुँदै अस्पतालमा परिवर्तन भयो ।

‘त्योबेला रामेछापको सदरमुकाम रामेछाप बजारमा थियो । जे जति सरकारी कार्यालय थिए सबै रामेछापमै थियो ।’ त्यही स्वास्थ्य चौकीबाट आफ्नो चिकित्सकीय अभ्यास गरेका डा. सुमन कर्माचार्य भन्छन्, ‘बिरामीहरु सीमित थिए । तर ०४५ सालको भूकम्पले सदरमुकाम ध्वस्त भयो । फलस्वरुप सरकारलाई सदरमुकाम मन्थली सार्नुपर्ने बाध्यता आइलाग्यो । सदरमुकाम सरेपछि सुनसान मन्थली ठूलो बस्तीमा परिवर्तन हुन थाले । बस्तीसँगै बिरामीको ओइरो लाग्यो । हेर्दा हेर्दा हिजोको सामान्य स्वास्थ चौकी आजको भव्य अस्पताल बन्यो ।’

अहिले मन्थली बजारमा तामाकोसी सहकारी अस्पताल बाहेक अर्को सरकारी अस्पताल छैन । २५ बेडको उक्त अस्पतालमा केही ठूला बाहेक सबै किसिमका सुविधा भएको चिकित्सक कर्माचार्य दावी गर्छन् ।

काठमाडौंबाट गएका साहित्यकारका टोलीलाई कर्माचार्यले आँखा, दाँत, प्रसूति, मिर्गौलाको सम्पूर्ण उपचार, हाइड्रोसिल, पायल्सजस्ता गाउँघरमा असम्भव जस्तै मानिने रोगहरुको उपचार हुने अप्रेसनका कक्ष देखाएपछि भन्दैथिए, ‘केही ठूलाबाहेक सबै किसिमका स्वास्थ सेवा हामी दिन्छौं र ठूला समस्या भएर कोही बिरामी आए तुरुन्तै आफ्नै एम्बुलेन्समा काठमाडौं पठाउँछौं ।’

हुन पनि १० हजार जनसंख्या  भएको मन्थली नगरको यो अस्पतालले वर्षभरिमा २५ हजार बिरामीको उपचार गर्दोरहेछ । यो अस्पतालमा गाउँ गाउँमा घुम्ति स्वास्थ्य शिविर पनि सञ्चालन गरिरहेको छ । अस्पतालसँग सहकार्य गरेर मन्थली सहकारी संस्थाले पौष्टिक तत्वको चेतना पनि जगाइरहेको छ । यहाँ उपचार गराउन रामेछापबाहेक ओखलढुंगा, भोजपुर, सिन्धुलीबाट बिरामी आइरहेका छन् ।

‘साहित्यकार जगदीश घिमिरेले यसको खाका कोर्दा यो यति ठूलो होला भन्ने कल्पना गर्नुभएको थिएन,’ डा. कर्माचार्य भन्छन्, ‘तर समस्या बढ्दै जाँदा त्यसलाई ब्यवस्थापन पनि गर्दै जाने नीति बनाउनुभयो ।’

तामाकोसी सेवा समितिले अस्पताल मात्र चलाएको छैन । यसले ऋण तथा बचत ऋण सहकारी संस्था पनि चलाइरहेको छ । यही अस्पतालका कारण सरकारको रामेछापमा स्वास्थका लागि लगानी निकै थोरै छ । स्वास्थमा जस्तै सरकारी तथा निजी बैंकहरु पनि यहाँ ओझेलमा परेका छन् ।

अरु बैंक तथा वित्तीय संस्थाले केही करोडको कारोबारमा चित्त बुझाइरहेका बेला यो सहकारीले वर्षको झण्डै एक अर्ब रुपैयाँ बराबरको कारोबार गर्छ । अरु वित्तीय संस्था आउनुअघि नै यसमा १ हजार २ सय सदस्यहरु संलग्न थिए । आफ्ना बचतकर्ताहरुलाई स्वास्थ बीमा, सन्तानलाई छात्रवृत्ति र ५ हजार रुपैयाँ बराबरको स्वास्थ परीक्षण शुल्क उपलब्ध गराएका कारण साहित्यकार जगदीश घिमिरेको मृत्युपछि पनि यो संस्थाको लोकप्रिययतामा कमी आएको छैन ।

‘अरु बैंकले ब्यापार गर्छ, तामाकोसीको बैंकले सेवा गर्छ,’ मन्थली सहकारीका एक सदस्य शम्भु तामाङ भन्छन्, ‘हामीलाई नासोका रुपमा जगदीशले यी संस्थाहरु छोडेर जानुभएका कारण पनि उहाँलाई अमर बनाउन हामीले यो सहकारीमा बचत गरेका हौं । हामी सामान्यजन उहाँ जस्तो महान व्यक्तिका लागि अरु के नै गर्न सक्छौं र ?’

लेखेर लाखौं पाठक कमाएका जगदीश घिमिरेका कृतिहरु जिल्लामा नपढ्नेहरु जताततै पाइन्छन् । स्थानीयहरुका लागि लेखक जगदीश घिमिरेभन्दा तामाकोसी सेवा समितिका घिमिरे नै महत्वपूर्ण हुन् ।

‘जिल्लाभरि उहाँले ३० हजार घरमा शुलभ शौचालय बनाउनुभएको छ । ३५ हजार घरमा खानेपानीको व्यवस्था गरिदिनुभएको छ । जिल्लाका सबै घर घर पुगेर खेत बाँझो नराख्न, तरकारी खेती गर्न सिकाउनुभएको छ र उब्जनी बेच्ने बजार बनाइदिनुभएको छ,’ तामाङ भन्छन्, ‘उहाँले के लेख्नुभयो थाहा छैन । तर, के गर्नुभयो, तपाईं आँखाले नै देख्न सक्नुहुन्छ ।’

सरकारले गाउँघरको झैंझगडा न्यायलयमा वर्षौं नअड्कियोस् भनेर स्थानीय तहमै जिम्मा लगाएको छ । त्यसको नेतृत्व अहिले तामाकोसी सेवा समितिले नै लिएको छ

विसं.०४० सालमा गैरसरकारी संस्थामा दर्ता भएको तामाकोसी सेवा समितिले अन्तरराष्ट्रिय दातृ निकायबाट सहयोग लिएर यी सबै कामको सुरुवात गरेको थियो । तामाकोसीले गरेको काम नेपालका गैरसरकारी संस्थाले गरेको काममध्ये उत्कृष्ट ठहरिएरपछि अमेरिकाको एउटा संस्थाले अन्तरराष्ट्रिय पुरस्कार दिने घोषणा गरेको थियो । उक्त पुरस्कार लिन पुगेका बेला जगदीश घिमिरे अचानक बेहोस भएर ढले । चिकित्सकहरुले उनलाई ‘मल्टिपल पाइलोमा’ (एक प्रकारको रक्त क्यान्सर) भएको  घोषणा गरे ।

चिकित्सकले उनलाई बढीमा ३ बर्ष बाँच्ने समयसमा तोके पनि उनी ७ वर्ष बाँचे । ०७० साल कात्तिक १४ गते देहान्त हुँदा उनले तामाकोसी सेवा समितिलाई कहिल्यै नमर्ने गरी स्थायित्व प्रदान गरिसकेका थिए । यसैबीचमा उनले ‘अन्तरमनको यात्रा’ र ‘सकस’ उपन्यास लेख्न भ्याएका थिए ।

‘नढाँटी भन्ने हो भने तामाकोसीले रामेछापमा अदृश्यरुपमा सामानान्तर सरकार चलाइरहेको पाएँ’ जगदीश घिमिरे प्रतिष्ठानको निम्तोमा रामेछाप पुगेका साहित्यकार महेश प्रसाईंले अनलाइनखबरसँग भने, ‘जति काम सरकारले गएका ३५ वर्षमा गरेको देखियो, त्योभन्दा बढी एक्लो तामाकोशी सेवा समितिले गरेको रहेछ । हरेक जिल्लामा एक-एक जगदीश घिमिरे र दुर्गा घिमिरे जन्मने हो भने देश बन्न बेरै नलाग्नेरहेछ ।’

तामाकोसी सेवा समितिले विकासका लागि आवश्यक सबै तहमा काम गरिरहेको छ । सरकारले गाउँघरको झैंझगडा न्यायलयमा वर्षौं नअड्कियोस् भनेर स्थानीय तहमै जिम्मा लगाएको छ । त्यसको नेतृत्व अहिले तामाकोसी सेवा समितिले नै लिएको छ ।

खानेपानीको भरपर्दो विकल्पका रुपमा स्थानीयले तामाकोसी खानेपानीलाई लिएका छन् । स्वास्थसम्बन्धी सबै काम तामाकोसी सेवासमिति अन्तरगत नै भइरहेका छन् । गाउँ गाउँमा बचत तथा ऋण समूहहरुको गठन पनि यसैअन्तरगत भइरहेको छ । भूक्षय तथा दिगो कृषि विकासका काममा सरकारभन्दा तामाकोसी अघि बढेको देखिन्छ । स्थानीय शासन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने जनप्रतिनिधिहरुलाई तालिम पनि यसैले दिन्छ । प्राथमिक विद्यालय पुनस्थापना तथा विद्यालयहरुको मर्मत सम्भारको काम पनि यसले आफ्नो हातमा लिएको छ । स्थानीयलाई काजकिरिया खर्चसमेत यो संस्थाले प्रदान गर्दै आएको छ

‘हामीले जे जति गर्न सक्छौं, गरिरहेका छौं । सुरुमा यो बाध्यता थियो । किनभने, हामीभन्दा सरकार धेरै पछि थियो । मन्थलीमा सरकार नै आइसकेको थिएन’ तामाकोसी सेवा समितिका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठ भन्छन्, ‘जगदीश घिमिरेले जिल्लामा जेजे कुराको आवश्यकता देख्नुभयो, दातृ निकायलाई गुहारेर,अन्तरराष्ट्रिय योजनाकार ल्याएर दिगो रुपमा अघि बढाउनुभयो । यही कारण उहाँ नरहे पनि उहाँले बसाएको थितिले काम गर्दै गयो ।’

स्थानीयहरुका अनुसार एकपल्ट यस्तो समय आएको थियो, रामेछापमा नयाँ काम गर्ने संस्थाको नाम नै तामाकोसी सेवा समिति थियो । गैरसरकारी संस्थाबाट पनि सरकारीसरहको सुविधा प्राप्त गर्न सकिन्छ भन्ने जानकारी पनि यही संस्थाले दिएको थियो ।

‘घरपरिवारमा कुनै नयाँ काम गर्नुपर्‍यो भने स्थानीयहरु जनप्रतिनिधिको घरमा नगएर तामाकोसी आउने गर्नुहुन्छ,’ मन्थली बचत ऋण तथा सहकारी संस्थाका अध्यक्ष ध्रुव सुवेदी भन्छन्, ‘किनभने उहाँहरुलाई आम्दानी गर्न, बचत गर्ने र त्यसलाई व्यवस्थितरुपमा खर्च गर्ने तरिका पनि हामीले सिकाएका थियौं । त्यो विश्वास अहिले पनि कायम छ ।’

लामो समय यो संस्थालाई कांग्रेसनिकट गैररसकारी संस्था मानिन्थ्यो । साहित्यकार जगदीश घिमिरे र उनकी जीवनसंगीनी दुर्गा घिमिरे कांग्रेस नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला निकट भएका कारण पनि बामपन्थी खेमाका नेता कार्यकर्ताहरुमा यो संस्था राजनीतिक शक्ति विस्तार गर्न जन्मिएको हो कि भन्ने शंका थियो ।

त्यति मात्र होइन, स्थानीय कांग्रेस नेता कार्यकर्ताहरु पनि यसको अभियान आफूहरुको राजनीति सक्न प्रयोग हुने हो कि भन्ने चिन्ता थियो । यहीकारण ०४६ पछि यो संस्थाले गर्न खोजेका काममा धेरै ब्यवधान आएको कुरा जगदीश घिमिरेले आफ्नो पुस्तक ‘अन्तरमनको यात्रा’मा उल्लेख गरेका छन् ।

‘तर यो संस्थाले कहिल्यै पनि राजनीतिक अभिष्टका लागि काम गरेन भन्ने कुरा अहिले आएर पुष्टि भएको छ,’ मन्थलीका मेयर कुमार बस्नेत भन्छन्, ‘भलै यो संस्थाका अभियन्ताहरुको आस्था कांग्रेसतर्फ थियो, तर उहाँहरुले भोटका लागि कहिल्यै काम गर्नुभएन ।’

अहिले रामेछापका धेरैजसो स्थानीय तहमा वामपन्थीकै सरकार छ ।

‘स्थानीय कांग्रेसका नेताहरुले संस्थाले आफ्नो लागि भोट माग्ने काम गरोस् भन्ने चाहाना पूरा नभएका कारण तामाकोसी सेवा समितिसँग धेरै नेता कार्यकर्ता रुष्ट हुनु स्वाभाविक हो । एउटा यस्तो विकासको संस्था बनोस्, जसले केवल समुदायको हितमा काम गरोस् र तुच्छ राजनीतिको शिकार नहोस्,’ अन्तरमनको यात्रामा जगदीश घिमिरेले लेखेका छन्, ‘मसँग खानेपानी, पानीबन्द चर्पी, सिँचाई, स्वास्थ, शिक्षा, बचत तथा ऋण सहकारी, आय आर्जन, महिला परिचालन लगायतका हाताहाती कार्यक्रम थिए । म ठोस परिणाममुखी काम गर्थें । राजनीतिमा जस्तो किर्ते वाचा गर्दिनथेँ । जे सक्थेँ, जनतासँग त्यही मात्र बोल्थेँ । बोलेको काम हुन सक्नेसम्म छिट्टै गर्थें । जुन राजनीति गर्नेहरुबाट सम्भव थिएन ।’

संस्थाका मानिसले राजनीतिक अभिष्ट र व्यक्तिगत स्वार्थ राखेर काम नगरुन् भन्ने सीमारेखाकै कारण यहाँ यो संस्थाले सम्पूर्ण जिल्लामा नमूना काम गर्न सक्षम भएको रामेछापबासी बताउँछन् ।

‘एउटा श्रष्टाले कति माथि उठेर सोच्छ भन्ने यो संस्था उदाहरण हो,’ डा. कर्माचार्य भन्छन्, ‘श्रष्टाले लेख्दा पनि त्यही कुरा अनुसरण गर्नुपर्छ र काम गर्दा पनि त्यसै गर्नुपर्छ भनेर जगदीश घिमिरेले सिकाएर जानुभएको छ ।’

विसं. ०३६ सालको आन्दोलनपछि लेखक-कवि समूहले कविता-नाटक लेख्दा लेख्दै श्रष्टाहरुले विकासको काम पनि गर्नुपर्छ भन्ने सिद्धान्तको प्रतिपादन भएको कुरा ब्यवहारमा तामाकोसी सेवा समिति एउटा उदाहरण बनेको छ । नत्र धेरै साहित्य सिद्धान्त जस्तै यो सिद्धान्त पनि कागजमै सीमित रहने थियो ।

जगदीश घिमिरेबाट पाठ सिक्दै अरु साहित्यकारहरुले पनि आफ्नो थातथलोको विकासमा ध्यान दिने पो हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment