Comments Add Comment

विवेकशील साझा फुटेको होइन, मिलेकै थिएन !

क्लब बन्ने कि पार्टी भन्ने अलमल थियो

Photo Credit : Keshab Dahal/Facebook

विवेकशील साझा पार्टीलाई बाहिरबाट हेर्दा त्यहाँ युवा साथीहरु छन् र पछिल्लो वैकल्पिक राजनीतिचाहिँ नयाँ पुस्ताले नै बनाउने हो भन्ने मेरो ठहर थियो । त्यसैले म विवेकशीलमा उत्सुक थिएँ, उप्रेरित थिएँ । त्यहाँबाट कम्तिमा वैकल्पिक राजनीतिमा अतिरिक्त योगदान गर्न सकिन्छ भन्ने लागेको थियो ।

त्यहाँ उत्साहजनक कुरा त थियो नै, सँगै पछाडि राजनीतिक इतिहासको बोझ थिएन । नयाँ र सुन्दर पार्टी बनाउने प्रशस्त अवसर थियो । तर, यहाँ गम्भीर समस्या थियो । विवेकशील र साझा प्राविधिक हिसाबले त एकीकृत थियो । तर, भावनात्मक हिसाबले, मिसनका हिसाबले, दुई पार्टी मिलेर सिनर्जी निर्माण गर्ने हिसाबले त्यो पार्टी एकीकृत भएकै रहेनछ ।

अर्को, विवेकशील र साझाभित्र अलि गम्भीरखालकै बहस थियो । जुन बहसको निष्कर्ष देखिएन । साझाका साथीहरु वैकल्पिक पार्टी भनेको वैकल्पिक विचार, संगठन हो, अभियान हो र सबै कुरालाई सिंगार्ने मूल्य मान्यता हो भन्ने कुरामा अलि धेरै छलफलमा हुन्थे । विवेकशीलका साथीहरु विचार केही होइन, संगठन केही होइन, अभियान गर्नुपर्छ र मूल्यमान्यतालाई दह्रो गरी समाउनुपर्छ भन्नुहुन्थ्यो ।

पार्टीको केन्द्रीय समितिमा बस्नुभएको छ, मिटिङ कहिले बस्ने साथी हो भन्दा शनिबार भन्नुहुन्थ्यो । किनकि शनिबारबाहेक त उहाँहरु जागिर गर्नुहुन्छ । आइतबार गर्ने हो भने लञ्चको बेला गरौं भन्ने

पार्टी वैकल्पिक हो कि होइन भन्नका लागि जाँच्ने पहिलो कडी विचार हो । त्यो पार्टीले लिएको विचारले पछिल्लो पुस्ताको राजनीतिक अभिष्टलाई दिशानिर्देश गर्छ कि गर्दैन ? त्यो पार्टीको संगठन कहाँनेर वैकल्पिक छ, उन्नत छ भन्नेमा योगदान गर्नुपर्छ भन्ने मूल कुरा हो । विचारबिना मूल्य मान्यताका कुरा गर्दा त्यो पोलिटिकल पार्टी बन्दैन । पार्टीमा यो बहस थियो ।

अर्को कुरा के हो भने पार्टी बनाउने कि क्लब बनाउने भन्ने हो । एउटा यस्तो संयन्त्र बनोस्, जहाँ स्वेछाले काम गर्न पाइयोस् भन्ने थियो । तर, पार्टीको केन्द्रीय समितिमा बस्नुभएको छ, मिटिङ कहिले बस्ने साथी हो भन्दा शनिबार भन्नुहुन्थ्यो । किनकि शनिबारबाहेक त उहाँहरु जागिर गर्नुहुन्छ । आइतबार गर्ने हो भने लञ्चको बेला गरौं भन्ने ।

आफू जस्तो छ, त्यस्तो पार्टी बनाउन खोज्ने ? आफ्नो साइज अनुकुल र फुर्सदको पार्टी बनाउँछु भन्ने विवेकशीलका साथीहरुमा देखियो । रवीन्द्रजीहरुमा नयाँ पार्टी बनाउने हो भने अतिरिक्त योगदान नगरी हुँदैन भन्ने थियो । एउटाले फुर्सद र अनुकुल अनुसारको पार्टी बनाउन खोज्ने, जे होलाहोला भन्ने र अर्को विचार र एजेन्डासहित वैकल्पिक राजनीति गर्नुपर्छ भन्ने कुरा नमिलेकै कारण पार्टी फुट्यो ।

यो पनि पढ्नुहोस विवेकशील साझा पार्टी फुट्यो, उज्वलको नेतृत्वमा नयाँ दल दर्ता

समस्या पुरानो विवेकशीलमा मात्रै थियो म भन्दिनँ । स्वाभाविक हिसाबले सबै कुरालाई निर्देशन दिने त नेतृत्वको काम हो । विवेकशीलमा भएका समस्यामा राजनीतिक दिशानिर्देश गर्ने काम नेतृत्वले गर्न सकेन ।

पार्टी कार्यालयमा गयो, आत्मीयता नै छैन । सबैलाई के लाग्छ भने हामी त भयंकर जान्ने मान्छे हौं । मानौं कि वैकल्पिक पार्टीको मानक हामी नै हौं । अलिकति ४० वर्ष कटेका मान्छे उहाँहरुले देख्नुभो भने, यी बुढाहरुले कहाँ पार्टी बनाउने हो भन्ने सोच थियो । अनुभव र उत्साहको सम्मिलनबाट एउटा नयाँ शक्ति निर्माण गर्‍यौं भन्ने हार्दिकतापूर्ण आग्रह नै थिएन ।

समस्या त्यसमा मात्र होइन, त्यो कुरालाई राजनीतिकरण गर्न नसक्नु नेतृत्वको दोष हो । त्यसमा उज्वलजीले पनि कमजोरी गर्नुभो, रवीन्द्रजीको पनि कमजोरी रहृयो ।

छलफलबाट भागीभागी नयाँ पार्टी

समस्या एकीकृत हुँदादेखि नै थियो, मुखरितमात्रै पछि भएको हो । उज्वलजीले मिटिङमा होइन, इमेलमा के भन्नुभयो भने, ‘म समीक्षा गर्न निस्कन्छु ।’

उहाँ एउटा संयोजक समीक्षा गर्न पूर्व जानुहुन्छ । अर्को संयोजक समीक्षा गर्न पश्चिम जानुहुन्छ । संगठन विभाग प्रमुख समीक्षा गर्न मधेस जानुहोला । म योजना तथा अनुगमन प्रमुख हुँ । मेरो त कामै हो समीक्षा गर्ने । अनि म समीक्षा गर्न पहाडतिर लागौंला । हरेक मान्छेले व्यक्तिगत समीक्षा गरेर पार्टीको समीक्षा हुँदैन ।

त्यसैले समीक्षाका आधार बनाऔं, सूचक बनाऔं, कहिले गर्ने, कार्यविधि बनाऔं र डेढ वर्षको वस्तुनिष्ट पार्टीको राजनीतिक समीक्षा गरौं भनेर हामीले प्रस्ताव गर्‍यौं ।

उहाँ (उज्वलजी) ले यो कुरा सुन्नुभएन र निस्केर हिँड्नुभयो ।

उहाँ एकदम इन्टोभर्ट र जुनियरसँग रमाउने मान्छे । ठिकै छ, गल्ती भयो, आएपछि समीक्षा गर्न सकिन्छ भन्ने थियो । ५/७ दिनपछि उहाँले इमेलमार्फत के भन्नुभयो भने, ‘म समीक्षा प्रतिवेदन तयार गर्दैछु र यो साथीहरुलाई उपलब्ध गराउँछु ।’

संयोजक रवीन्द्रजीले हार्दिकतापूर्ण हिसाबले के भन्नुभयो भने, ‘उज्वल तिमीले अहिले त्यो प्रतिवेदन नलेख, हामी सँगै बसेर कमिटी प्रणालीभित्रबाट प्रतिवेदन लेखौंला ।’ उज्वलजीले २/४ दिनपछि प्रतिवेदन कार्यकर्ताहरुलाई पठाउनुभयो । पत्रपत्रिका, अनलाइन सबैतिर आयो । प्रतिवेदन सार्वजनिक भयो ।

बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति पार्टी सुरुमा जुन गति र उत्साह थियो, पछि विभिन्न कारणले रोकियो । विवेकशील पार्टीले त त्योभन्दा पनि माथिल्लोस्तरको आहृवान गरेको थियो । यो पनि लर्बराउँछ कि भनेजस्तो देखिन्छ, तर यसलाई अनुभवका रुपमा लिनुपर्छ

प्रतिवेदनमा उहाँले केही गम्भीर आरोप पनि लगाउनुभयो । च्यालेन्ज पनि गर्नुभयो । पार्टीमा संयोजन समिति र केन्द्रीय समिति छ । यो विषयमा छलफल गर्न संयोजन समितिको बैठक बोलायौं । उज्वलजी बैठकमै आउनुभएन । उहाँले फेरि इमेल लेख्दै भन्नुभयो, ‘संयोजन समितिको यो कोठे बैठकमा बस्दिनँ ।’

संयोजकले पार्टीको संवैधानिक हिसाबले बनेको संयोजन समितिको बैठकमा बस्दिनँ भन्न मिल्छ ? ३० गते फेरि केन्द्रीय समितिको बैठक बोलाइएको थियो । २८ गते उहाँहरुले नयाँ पार्टी दर्ता गराउनुभयो । आफैं विधिविधानको कुरा गर्ने तर ती सबैलाई ‘इग्नोर’ गर्ने ?

उहाँहरु ‘पोलिटिकल मेटेरियल’ होइन

हामीलाई के लाग्छ भने उहाँहरु (विवेकशीलसम्वद्धहरु) ‘पोलिटिकल मेटेरियल’ होइन । उहाँहरुले यो मुलुकको रुपान्तरणको राजनीति गर्नुहुन्न । आत्मतुष्टिका लागि सानो र केटाकेटी झुन्डमा उहाँहरु रमाउनुहुन्छ ।

नेपालको राजनीतिमा वैचारिक हस्तक्षेप गर्ने, संगठनात्मक हस्तक्षेप गर्ने उहाँहरुको सोच नै छैन । वैकल्पिक राजनीति मन नपराउनेहरुको प्रभावमा परेको पनि हुन सक्छ । त्यसैले दुर्भाग्य भयो भन्ने मलाई लाग्छ । जुन दुर्भाग्यलाई टार्न सकिन्थ्यो ।

यो पनि पढ्नुहोस रवीन्द्रजीहरुको बुझाइ नै फरक रहेछ : रञ्जु दर्शना

रवीन्द्र मिश्रको एउटा राम्रो पक्ष छ, ‘उहाँले मैले राजनीति धेरै बुझेको छैन भन्नुहुन्छ । राजनीति सिक्दै र बुझ्दै पनि जाने हो । म सिक्छु र वैकल्पिक पार्टी बनाउन संसारभरका अनुवको खोजी गरौं, हाम्रो सन्दर्भमा के उपयुक्त हुन्छ त्यो स्वीकार्न म तयार छु भन्नुहुन्छ ।’

वैकल्पिक राजनीतिका लागि यतिबेला जमीन असाध्यै राम्रो छ । पुराना राजनीतिक दललाई च्यालेन्ज गर्न कुनै न कुनै वैकल्पिक राजनीति आओस् भन्ने जनताको अपेक्षा देखिन्छ । तर, वैकल्पिक पार्टी बनाउनेहरुमा जुन उदारता र परिपक्क राजनीति आवश्यक पर्ने हो, त्यो देखिएन ।

निराश भने भइहाल्नुपर्ने अवस्था छैन । पछिल्लो समय वैकल्पिक पार्टी भनेर जुन प्रयत्न भएको छ, त्यसमा अलिकति सिकेर अगाडि जाऔं भन्ने देखिन्छ । तर यस्ता सानातिना संकटहरुले गर्दा के यो वैकल्पिक राजनीति बन्छ र ? भन्ने छ मान्छेमा । फेरि पनि विभाजन हुन्छ । धेरै अगाडि जान सक्दैनन् कि क्या हो भन्ने निराशा पनि सिर्जना भएको छ ।

के वैकल्पिक पार्टी कुण्ठाले जन्मन्छ ?

बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति पार्टी सुरुमा जुन गति र उत्साह थियो, पछि विभिन्न कारणले रोकियो । विवेकशील पार्टीले त त्योभन्दा पनि माथिल्लोस्तरको आहृवान गरेको थियो नि । यो पनि लर्बराउँछ कि भनेजस्तो देखिन्छ ।

तर, यसलाई अनुभवका रुपमा लिनुपर्छ । किनकि वैकल्पिक राजनीति, वैकल्पिक अभियान नेपालको सन्दर्भमा धेरै आवश्यक छ ।

पोलिटिकल लिडरहरु कुण्ठा र महत्वाकांक्षाबाट अलि माथि उठ्नुपर्छ । त्यो संकट हाम्रोमा छ । एउटाको फोटो अलि बढी प्रचार भएको देख्यो भने अर्को कुण्ठित हुन्छ । एउटाले राम्रो भाषण गर्‍यो भने, अर्को कुण्ठित हुन्छ । एउटा हाँस्यो भने अर्को कुण्ठित हुन्छ । हाम्रो समाजमा कुण्ठा अलि धेरै नै छ ।

ऐतिहासिक दायित्वलाई आत्मसात गरेर हेर्ने हो भने त्यो कुण्ठालाई पचाउने तागत आउँछ । हामी पार्टी किन बनाउँदैछौं ? आफ्नो आत्मतुष्टि मेट्नका लागि हो कि, यो कांग्रेस, कम्युनिस्टसँग रिसाएर बनाएको हो कि, साँच्चै ऐतिहासिक आवश्यकता हो ?

यो कांग्रेस र कम्युनिस्टको ईखभन्दा माथिल्लो लेभलको प्रत्यत्न हो भनेर आत्मसात गर्ने हो भने कुण्ठा सकिन्छ । त्यो आत्मसात नहुँदा वैकल्पिक पार्टी बन्न नसकेको हो ।

पार्टी एकीकृत गर्ने र बखुन्डोलको कार्यालयभित्र बन्द भएर बस्नुभन्दा अलग हुन दिउँ भन्ने लागेकै हो । अहिले साथीहरु अलग हुनुभयो । अब हामी हाम्रो बाटो लाग्छौं, उहाँहरुलाई त शुभकामना दिएकै छौं

कच्चा मान्छेहरुको बर्हिगमन

कम्युनिस्ट पार्टीले आज देशमा चमत्कार गरेको छ । तर, तिनको इतिहास हेर्नुहोस् त- टुटफुट र विभाजन । माओवादी पार्टीकै विभाजन हेर्नुहोस् त । मोहन वैद्य कसरी पार्टीबाट विस्थापित भए र प्रचण्डको उदय भइरहृयो । विप्लवहरु उसैगरी छुट्टिए । एमाले नै माले बन्यो । गुट, उपगुट, विभाजन उस्तै छ । अशोक राईहरु निस्के ।

वैकल्पिक राजनीतिमा होमिएका बाबुरामकै पार्टीमा कत्रो आउने-जाने क्रम चल्यो । आज विवेकशील साझा पार्टी पनि फुट्यो ।

यो फुटबाट निराश हुने हो भने विघटनतिर लान्छ । यो फुटबाट असल शिक्षा लिने हो भने कहाँनेर कमजोरी भयो, कहाँनेर कुण्ठाको अभिव्यक्ति भयो ? कहाँनेर इगो व्यवस्थापन गर्न सकेनौं र अब कसरी अगाडि जानुपर्छ भनेर बुझ्यौं भने हामी धेरै अगाडि जान सक्छौं ।

यो पनि पढ्नुहोस विवेकशील साझाले भन्यो : वैकल्पिक पार्टी निर्माणमा धोका भयो

एउटा पार्टी फुट्नु, अर्को पार्टीका लागि फाइदा वा अर्को बलियो हुन सक्दैन भन्ने कुरा सिक्न, बुझ्न र बुझाउन जरुरी छ । त्यसैले यो पार्टीभित्रका असाध्यै कच्चा मान्छेहरुको बर्हिगमन हो, जो मान्छे पोलोटिकल मेटेरियल होइनन् ।

अब अल्झिएर बस्ने कि अगाडि बस्ने भन्ने लडाईं हो यो । विवेकशील साझा पार्टीको यो विभाजनले अब झन् शक्ति प्रदान गर्छ । एकीकृत हुने, तर अल्झिएर बस्नुभन्दा विभाजित भएको राम्रो हो ।

एजेन्डामा भाँजो हालिन्थ्यो

विवेकशील साझामा भाँजो आएको जम्मा ६/७ महिना भयो । पार्टीमा जुनसुकै एजेन्डा ल्याउँदा पनि भाँजो हालिन्थ्यो । १ नम्बर प्रदेशको संयोजक किन नियुक्त हुन सकेन ६ महिनासम्म ? युवा र महिला संगठन कि बन्न सकेन ?

सदस्य विस्तार गर्न प्रयत्न भयो । चार महिना अगाडि संगठन विस्तार विशेष अभियान भनेर सुरु गर्ने भन्यौं । अभियानमा केन्द्रीय सदस्यले ९० दिन दिने भन्यौं । उहाँहरु गइसकेका कारण मैले आरोप लगाएको होइन । विवेकशीलसम्वद्ध कोही पनि साथीहरु समय दिन तयार हुनुहुन्नथ्यो । रेकर्ड हेर्न सकिन्छ, उहाँहरुले १ देखि ३ दिनबाहेक पार्टीको संगठन विस्तारमा योगदान गर्नुभएन ।

कार्यालयमा किचलो गर्ने, फेसबुक र च्याटबुकमा लेख्ने तर संगठन विस्तार गरौं भन्दा नमान्ने । पार्टीमा अलि वैचारिक-राजनीतिक छलफल गरौं, के हो वैकल्पिक पार्टी गम्भीर बनौं भन्दा कुनै लगाव नै थिएन ।

त्यसैले पार्टी एकीकृत गर्ने र बखुन्डोलको कार्यालयभित्र बन्द भएर बस्नुभन्दा अलग हुन दिउँ भन्ने लागेकै हो । अहिले साथीहरु अलग हुनुभयो । अब हामी हाम्रो बाटो लाग्छौं, उहाँहरुलाई त शुभकामना दिएकै छौं ।

(विवेकशील साझा पार्टीका योजना तथा अनुगमम प्रमुख दाहालसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment