Comments Add Comment

पूर्वसहसचिवको उपन्यास- सिमाना खोज्दै !

काठमाडौं । पूर्वसहसचिव लक्ष्मी विलास कोइराला अब उपन्यासकार बनेका छन् । कोइरालाद्वारा लिखित नेपाल एकीकरण र पृथ्वीनारायण शाहसम्बन्धी उपन्यास ‘सिमाना खोज्दै’ शुक्रबार सार्वजनिक भएको छ ।

पृथ्वी जयन्तीको अवसर पारेर लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, निर्वाचन आयोगका निवर्तमान प्रमुख आयुक्त नीलकण्ठ उप्रेती, पत्रकार पुरुषोत्तम दाहाल, साहित्यकार प्रतीक ढकाल र लेखककी छोरी प्रत्यञ्चा कोइरालाले उपन्यासको संयुक्तरुपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै लोकसेवा आयोगका अध्यक्ष मैनालीले इतिहास बनाउने राजा पृथ्वीनारायण शाह समयको माग भएको बताए। उनले एकीकरण नगरेको भए हामी कसैको दास वा अरु नै राज्यको अंग बन्न पुग्थ्यौं भन्दै जुन देशमा इतिहासको कदर हुँदैन त्यो देशमा सभ्यताको विकास हुन गाह्रो पर्ने बताए ।

सीमाना खोज्दै उपन्यासको भूमिका लेख्ने पत्रकार पुरुषोत्तम दाहालले पृथ्वीनारायणका शत्रुहरु अंग्रेज र पादरीले लेखेका र लेखाएका इतिहास पढेर हामीले पृथ्वीनारायण शाहको मूल्याकंन गरिरहेको गुनासो पोखे । लक्ष्मी विलासले लेखेको उपन्यास सीमाना खोज्दैले इतिहासलाई साहित्यको जलप लगाएर खुवाउन खोजेको दाहालले बताए ।

कार्यक्रममा उपन्यासको समाचोलना गर्दै साहित्यकार प्रतीक ढकालले उपन्यासमा पृथ्वीनारायण शाहको वलिदान र एकीकरणका विषयको प्रस्तुती बेजोड रहेको बताए । लक्ष्मी विलास कोइरालाले उपन्यासमा पुरानो र नयाँ पुस्तालाई जोड्ने काम गरेकोढकालले बताए ।

कार्यक्रममा बोल्दै उपन्यासकार लक्ष्मी विलास कोइरालाले वीर रस र दुःखरस मिसिएका नेपाल एकीकरणका यथार्थ र पृथ्वीनारायण शाहको जीवन, त्याग र योगदानका कथाहरु पढ्दा पढ्दै उपन्यास लेख्न मन लागेको बताए ।

कोइरालाको उपन्यासको एउटा अंश

गोर्खाली फौज मकवानपुरगढीतर्फ लाग्यो ।

‘मकवानपुरमाथि आक्रमण गर्दा विचार पुर्‍याउनु, गोरखाकी महारानी ईन्द्र पनि त्यहीँ छिन् । मकवानपुरको विजयपछि महारानीलाई सम्मानसाथ गोरखा लैजानु । मकवानपुरको राजा दिग्बन्धन सेन, उसकी पत्नी तारा र परिवारलाई युद्धबन्दी बनाउनु, नमार्नू’ पृथ्वीले आदेश दिए ।

पृथ्वी केही सैनिकका साथ क्याम्पमा नै बसे । शनिबारको सुनसान रात । अत्यधिक उष्ण गर्मीले मान्छेहरू सजिलै निदाउन सकिरहेका थिएनन् । गुन्द्री ओछ्याएर घरबाहिर नै पल्टेका थिए । भतुवा भुस्याहा कुकुरहरू बेलाबेलामा गोर्खाली सैनिकलाई देखेर भुकिरहेका थिए ।

गोर्खाली सेना भर्‍याङको भरमा मकवानपुरगढीमाथि चढे । चारैतिर आड लिइसकेपछि गोर्खालीले मकवानपुरगढीमा आक्रमण गरे । खुकुरी चलाउने, बन्दुक र बम पड्काउने एकैसाथ गरे । मकवानपुरका सैनिकहरू गोर्खालीको आक्रमण हुने अनुमानले चौकन्ना थिए । प्रत्याक्रमण भयो । १० घण्टासम्म खुकुरी र गोली हानाहानको लामो युद्ध भयो । मकवानपुरे सैनिक गोर्खाली सैनिकसँग मानसिकरुपमा त्रस्त भएकाले खास पोजिसन लिन नै सकेनन् । धेरै मकवानपुरे सैनिक काटिए ।

दिग्बन्धन सेनले सहयोगका लागि सबैतिर याचना त गरे तर विजयपुर, चौदण्डी, हरिहरगढीसम्मबाट पनि सहयोग आएन । गोर्खालीको योजनावद्व ढंगले तीनतिरबाट आक्रमण भएकाले मकवानपुरेे सैनिकको ठूलो क्षति भयो । केहीबेरमा नै मकवानपुरका सैनिकको भागाभाग भयो । गोर्खाली फौजले मकवानपुर आप\mनो अधिकारमा लियो ।

मकवानपुरका राजा दिग्बन्धन सेन, काजी कनकसिंह बानियाँ र जगर बानियाँ भाग्न सफल भए । उनीहरू भागेर हरिहरपुरगढीमा आश्रय लिन पुगे ।

मकवानपुरगढी विजय गरेपछि सबै धनसम्पति र भएका बन्दुक र गोलीगट्ठा गोर्खालीको हात लाग्यो । मकवानपुर विजयपछि पुरानो रिस फेर्न दिग्बन्धन सेन र कनकसिंहका सैनिकलाई शुरप्रताप शाहले निर्दयी र कठोर सजायँ दिए ।

गोरखाको सिमाना फैलिएर बारा, पर्सा, रौतहट, सिन्धुली, धनुषा, महोत्तरी हुँदै फैलिएर पटनाको दरभङ्गासम्म नै पुग्यो ।

मकवानपुरमा भय राखिरहन उचित नदेखेपछि पृथ्वीले लक्ष्मीनारायण शर्मा, रामकृष्ण कुवँर र दलजित शाहलाई घर घर पुगेर मकवानपुरे जनतालाई शान्त रहन अपील गर्न पठाए ।

दलमर्दन शाह र तुलाराम पाण्डेलाई मकवानपुरे युवाहरुलाई सैनिक तालिम दिएर सेनामा भर्ना गर्ने व्यवस्था मिलाउन पठाए । मकवानपुर दरवारका कर्मचारीहरुलाई जम्मा गरेर जनतालाई सेवा पुर्‍याउन आदेश दिँदै तलव यथावत पाउने वचन दिए ।

दिनानाथ उपाध्याय मकवानपुरका प्रमुख कर्मचारी बने । पृथ्वीनारायण शाहले मकवानपुर अन्तरगतको प्रगन्ना सिम्रौनगढका थारु जितू राउतको मौजा र जनकपुरका महन्त सुमरनदासको जनकपुरको कुशविर्ता थाम्नका लागि मैथिली भाषामा नै लालमोहर गरी उपयोग गर्न दिए ।

पृथ्वीको व्यवस्थापनले मकवानपुरको जनजीवन छिट्टै सामान्य बन्यो । मकवानपुरका सैनिकको भागाभाग भएपछि मकवानपुरगढी गोर्खालीको अधीनस्त भयो । राजाज्ञाअनुसार सैनिकद्वारा महारानी इन्द्रकुमारीको खोजी भयो । सैनिकहरू चोटाकोठा खोज्दै गए । एउटा कोठामा डरले काँप्दै गरेका दिग्बन्धनसेनकी पत्नी तारा र उनका छोराछोरी भेटिए । सैनिकले उनीहरूलाई पक्रिए । बाँधे र बन्दीको रूपमा गोरखा पुर्‍याए । र, उनीहरु बन्दीगृहमा राखिए ।

सैनिकहरू गढीभर छरिएर महारानीलाई खोज्न थाले । एउटा कोठा बन्द थियो । टक टक टक । बाहिरबाट ढोकामा सैनिकहरूले ढकढक्याए । ढोका आफैँ खुल्यो ।

‘महारानीको जय होस्’ इन्द्रकुमारीलाई देख्ने बित्तिकै सैनिकहरूले सलाम गरे ।

इन्द्रकुमारी बत्ती जगाएर ध्यानमा बसिरहेकी थिइन् । इन्द्रकुमारीले मन्द मुस्कुराउदै सलामको उचित आदर गरिन् । गोरखाको राज्यशक्ति र चर्चा तथा पृथ्वीनारायणको वीरता र प्रसिद्धिको सुगन्ध चारैतिर व्याप्त थियो । उनी पृथ्वीसँग भेट्न चाहन्थिन् ।

“महाराज कता हुनुहुन्छ त सैनिक ?” इन्द्रकुमारीले आशापूर्ण जिज्ञासा राखिन् । सानो साहेब, दलमर्दन शाह महारानी छेऊ आए ।

“भाउजू, महाराज ठानामा नै हुनुहुन्छ । हजुरलाई सम्मान र सुरक्षासाथ गोरखा पुर्‍याउनू” भन्ने महाराजको आदेश छ” दलमर्दन शाहले महारानीलाई ढोग गर्दै भने ।

म महाराजको मुख मात्रै हेर्न चाहन्छु, सानो साहेव वावु । ईन्द्रकुमारीले विन्ती गरिन् । पृथ्वीको आदेश कसैले अवज्ञा गर्न सक्दैनथ्यो । सोध्ने साहस पनि कसैसँग थिएन ।

महाराजलाई भेट्ने इन्द्रकुमारीेको इच्छा तत्काल पूरा भएन । झटपट तयार भइन् । नौलखा गजमती हिराको हार र भएभरका गहना लगाइन् । सुन्दरताले इन्द्रकुमारीको यौवनलाई सजीव तुल्यायो ।

‘महारानी, गोरखा जान डोली तयार भयो’ सैनिकहरूले जाहेर गरे ।

डोली अत्यन्त मेहनत गरेर सुन्दर बनाइएको थियो । इन्द्रकुमारी खुशीले फुरुङ्ग थिइन् । पतिसँगको मिलनको कल्पनामा उनको अन्तस्करणबाट नै प्रेम र मिलनको मधुर गीत निस्क्यो । मनमनै गुनगुनाउँदै डोलीमा चढिन् ।

दलमर्दन शाह, उदयवीर खनाल, केही भारदार र सैनिक इन्द्रकुमारीको डोली लिएर गोरखा प्रस्थान गरे । महारानीको लावालस्कर गोरखा सिमानामा पुग्यो ।

गोरखाभूमि टेक्ने बित्तिकै इन्द्रकुमारी डोलीबाट उत्रिन् । भूमिमा ढोग गरिन् र आकाशतिर हेरेर बरर्र आँसु खसालिन् ।   ‘मेरो प्रभुले कहिले हार्नु नपरोस्’ राष्ट्रभूमि मातासँग आशीर्वाद मागिन् ।

इन्द्रकुमारीकोे गोरखाभक्तिले सानो साहेब दलमर्दन शाहलगायत सबैलाई भावुक बनायोे । वातावरण गम्भीर र शान्त बन्यो ।

डोली मैघी पुग्यो । दलमर्दनले मैघीमा पृथ्वीको ब्रतबन्ध भएको र तामाङनी बूढीको शिक्षाको कथा सुनाए । इन्द्रकुमारी मन्द हाँसो हाँसिन् ।

लावालस्कर गोरखा भित्रियो । गोर्खाली जनताले पुष्पवृष्टि गरी महारानीको स्वागत गरे । जयजयकार भयो । गोरखा दरबारमा महारानी इन्द्रकुमारीको भव्य स्वागत भयो ।

डोलीबाट उत्रेर इन्द्रकुमारीले मुमाहजुरलाई ढोग गरिन् । चन्द्रप्रभावतीले आशीर्वाद दिइन् । इन्द्रकुमारी गोरखा दरबारमा भित्रिन पाउँदा खुशीले दङ्ग थिइन् । बिहे भएको झण्डै २० वर्षपछि पतिघर प्रवेश गर्नु परेकोमा रोइन् । आँसु बर्बर्ती खसिरहे ।

मकवानपुरलाई विजय गरेर रानीलाई गोरखा लैजान पाउँदा पृथ्वीको छाती नाङ्लो जत्रो भयो । रानी गोरखा पुगेकोे थाहा पाउँदा पृथ्वीलाई गोरखा उडेर पुगूँ पुगूँ झैँ भयो ।

तर, पृथ्वी कहिल्यै लक्ष्यविमुख हुँदैनथे । वर्षौंवर्षपछि महारानी इन्द्रकुमारीलाई पाउँदा भेट्नसम्म पनि गएनन् । इन्द्रकुमारीलाई भेट्न आउन पनि दिएनन् । कठोर बने । मन थामेर बसे । लक्ष्य प्राप्त गर्न जुटिरहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment