Comments Add Comment

उज्वल थापालाई रविन्द्र मिश्रको प्रेमपत्रः नयाँ यात्राका लागि शुभकामना !

२८ पुस, काठमाडौं । उज्जव थापाको नेतृत्वमा पार्टी फुटाएपछि विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रको प्रतिक्रिया सार्वजनिक भएको छ, जसले उनले छु्टिटएका मित्रहरुलाई प्रेमपत्र नाम दिएका छन् ।

फेसबुकमा सार्वजनिक गरेको प्रेमपत्रमा मिश्र निकै भावुक बनेका छन् ।

यस्तो छ उनको प्रेमपत्रः

हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो । तर हामीले अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक-अर्कालाई राम्ररी नचिनिकनै विवाह गरेछौं । विवाह लामो समय टिक्न सकेन । तर यो बीचमा हामीले एकअर्काबाट धेरै सिक्यौं ।

खासगरी गत आम निर्वाचनपछिको एक वर्षमा पार्टीको केन्द्रीय समितिमा विद्यमान ‘अत्यन्तै प्रतिकूलता’का बीच पनि हामीले ठूलै उपलव्धि हासिल गर्यौं । आफूलाई राष्ट्रिय राजनीतिको केन्द्रमा लेरायौं । सञ्चार माध्यमका कयौं बहसहरू हाम्रो प्रतिनिधित्वबिना अपुरो देखिन थाले । राजनीतिक बहसहरूमा अबको विकल्प हामी नैं हौं भन्ने निष्कर्षहरु निकालिन थाले । देशभरी संगठनहरु विस्तार हुन थाले ।

हामीले ‘कल्याणकारी लोकतन्त्र’को दर्शनलाई आम सर्वसाधारणसम्म पुर्यायौं, शिक्षा र स्वास्थ मूलरूपमा राज्यको दायित्व हो भन्ने धारणालाई स्थापित गर्यौ । सुसंस्कृत र मूल्यमान्यतायुक्त पार्टी नबनि देश बन्दैन भन्ने विश्वास जगायौं । आम सर्वसाधारणले हामीलाई पत्याए र साथ पनि दिए ।

तर लक्ष्यमा समानता भएरमात्र नपुग्ने रहेछ । लक्ष्यमा पुग्ने विचार र व्यवहारमा पनि समानता चाहिने रहेछ। दूर्भाग्यवश, लक्ष्य प्राप्त गर्ने हाम्रा वैचारिक चक्र र व्यवहारमा यति धेरै अन्तर रहेछन् कि हामीले जतिसुकै प्रयास गर्दा पनि ती एकवद्ध हुने संभावनै रहेनछ । त्यसैले तपाईंहरू अनायासै घर छोडेर जानुभयो ।

सामाजिकरुपमा असल र भद्र देखिने हामीहरू समेत गलत निर्देशकहरुका कारण राजनीतिक मञ्चमा फरक पात्र बन्न सक्दा रहेछौं भन्ने अनुभूति भएको छ । हामी छुट्टीएको देखेर यहाँ रमाउनेहरु धेरै छन् । मन दुखाउनेहरु अझ धेरै छन् । हामी सबैलाई थाहा छ, हामीबीच अभियानकेन्द्रीत समूह मात्र बन्ने की राष्ट्रिय राजनीतिमा सुसंस्कृत नेतृत्वदायी भूमिका निर्वाह गरेर देश रूपान्तरण गर्ने पार्टी बनाउने भन्नेमा मतभेद थियो । त्यो मतभेद छलफलबाट टुङ्गिन नसकिने तहको थिएन । तर तपाईंहरू जानुभयो र गएदेखि नै आरोपै आरोप लगाउनुभयो  ।

मलाई ती पीडादायी आरोपहरूको भन्दा पनि हाम्रो सामूहिक लक्ष्य र त्यसमा पुग्नसक्ने आघातका बारे चिन्ता छ । हाम्रै जीवनकालमा यो देशको रूपान्तरण नहेरी मर्नु पर्ला भन्ने चिन्ता छ । पुष ३० गतेका लागि तय गरिएको हाम्रो भेटमा आत्मै पखालेर मनका पीडा पोखुँला भन्ने र दिनढाडै व्यक्तिगतरूमा मेरो र संगठनात्मकरूपमा पार्टीको ढाडमा हानिएको छुरीले पारेको घाउमा मल्हम लगाउँला भन्ने सोच थियो । तर अलि ढिलोसम्म पर्खिएछु, तपाईंहरू थाहै नदिइ हिँडि हाल्नुभयो ।

अब एकपल्ट भेटेर प्रेम र भ्रमका कुरा गर्ने मन छ । लक्ष्य बोकेरमात्र नहुने रहेछ, लक्ष्यमा पुग्ने शैलि र चरित्रका बारे गफ गर्ने मन छ । जीवन धेरै बाँकी छ, यात्रा लामो छ । तर देश रूपान्तरणको गन्तव्य भने मैले बदलिँदो परिवेशका कारण झन, झन छोटो देख्न थालेको छु । त्यो नजिकै देखिन थालेको गन्तव्यलाई म विगार्ने पक्षमा छैन । सिँगो देश बनाउन साऽऽऽनो मुटु लिएर हुन्न । देश बनाउन देशभन्दा ठूलो मुट चाहिन् । सँगसँगै इमानदारी, क्षमता, समूहमा काम गर्ने ढंग पनि चाहिन्छ । धेरै कुरा चाहिन्छ ।

दुःख छ तर कुनै आग्रह, पुर्वाग्रह, ईर्ष्या, द्वेष छैन । कहिल्यै नआवोस् पनि । दुःखहरूचाहिँ कहिलेकाहिँ अभिव्यक्त हुनेछन् । त्यसमा अन्यथा नसम्झिदिनुहोला । तपाईंहरूले हालैका दिनहरुमा व्यक्त गरेका दुःखलाई पनि मैले अन्यथा लिएको छैन ।

छिटै बसेर चिया खाउँला । मिलेमा लामो समयदेखि जाने भनेर नगएको ओम आध्या रिसोर्ट जाउँला । के थाहा पुनर्मिलन भई पो हाल्छ कि । घाम भर्खर उदाएको अवस्था हो, बादल लाग्दैमा त्यसलाई अस्ताएको भन्न मिल्दैन। अन्यथा, हामीमा समयले लेराउने सुझबुझसँगै बाटो फेरी एकै ठाउँमा मिसिएछ भने सँगै यात्रा गरूँला । तपाईंहरूलाई नयाँ यात्राका लागि धेरैधेरै शुभकामना ! सबैको जय होस्, नेपालको जय होस् !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment