Comments Add Comment

बाह्रबिसेका मेयरले सडकमै गरे पत्रकार सम्मेलन

२८ पुस, सिन्धुपाल्चोक । वहुमत सदस्यहरुले पटक पटक नगरसभा बहिस्कार गरेपछि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सडकमै पत्रकार सम्मेलन गरेका छन् ।

बाह्रविसे नगरपालिकाले नगरसभा शुक्रबार बस्ने भन्दै नगरकार्यपालिकाका सबै सदस्यहरुलाई पत्रचार गरेको थियो । तर काँग्रेसबाट निर्वाचित वहुमत सदस्यले नगरसभा बहिस्कार गरेपछि जनताको जनजिविकासँग सम्बन्धीत निर्णयहरु गर्न समस्या भएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

यसअघि पनि काँग्रेसबाट निर्वाचित कार्यपालिकाका सदस्यहरुले बैठक बहिस्कार गर्ने गरेको मेयर शेर्पाले जानकारी दिए । ‘डेढ वर्षमा तीन पटक बैठक बहिस्कार भयो, जनतालाई जानकारी दिनका लागि सडकमै पत्रकार सम्मेलनको आयोजना गरेको हो’ मेयर शेर्पाले भने, ‘हामी जनताबाट निर्वाचित भएका हौ,केही समस्या हुदाँ जनतालाई जानकारीका लागि पनि सार्वजनिक स्थानबाटै जानकारी दिएका हौं ।’

कार्यपालिका सदस्यहरुलाई बन्धक बनाइयो !

बाह्रविसेको बीच सडकमै आयोजित पत्रकार सम्मेलनमा मेयर निमफुञ्जो शेर्पाले काँग्रेसबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरुलाई बन्धक बनाएर बैठकमा सहभागी हुन नदिएको आरोप लगाए । केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको उपस्थितिमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई बन्धक बनाइएको उनको दाबी छ ।

यस्तै उपमेयर सुशिला पाखि्रनले अझै पनि केही व्यक्तिले निरन्तर काममा अवरोध गर्न खोजेको बताइन् ।

बहिस्कार होइन

काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले भने आफूहरुले नगरसभा बैठक बहिस्कार नगरेको बताएका छन् । ‘नगर कार्यविधि संशोधन गर्नुपर्छ भनेर आन्तरिक छलफल हुँदाहँुदै सभामा जान नसकेका हौं’ वडा नम्बर २ का अध्यक्ष बमबहादुर तामाङले भने ।

‘नगरपालिकाले बनाएको नगर कार्यविधि बनाउँदा हामीहरुको कुरा सुनुवाई भएन, त्यही भएर हामीले पटकपटक संशोधनका लागि कुरा उठाएका हौं’ तामाङले भने ।

बाह्रविसे नगरपालिकाको नगरसभामा ५० मध्ये काँग्रेसबाट निर्वाचित २८ र नेकपाबाट निर्वाचित २२ सदस्य छन् । वहुमत सदस्य विपक्षमा भएपछि नगरका धेरै काम प्भावित भएकोे मेयर शेर्पाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment