Comments Add Comment

देशभर मल्टिप्लेक्स नै मल्टिप्लेक्स, टार्गेट भाटभटेनी

चलचित्र हेर्ने दर्शकले अत्याधुनिक र सुविधासम्पन्न हलको खोजी गर्न थालेपछि अहिले हल संचालकहरु वाध्य भएर आफ्नो हलको पूर्ननिर्माणमा लागेका छन् । साथमा, अहिले मल्टिप्लेक्स हल निर्माणमा समेत बाढी आएको छ ।
अहिले देशभर मल्टिप्लेक्स हल खुल्ने क्रम तिब्र छ । ललितपुरमा खुलेको लबिम मलले व्यापारिक रुपमा अहिले तहल्का मच्चाइरहेको छ । कि त काठमाण्डौकै हलमा आउनुपर्ने कि त गुण हलसम्म पुग्नुपर्ने वाध्यताबाट ललितपुरका जनता लबिम मल खुलेसँगै मुक्त भएका थिए । यसैले, लबिममा चलचित्रको इनिसियल व्यापार सुखद देखिएको छ ।

अहिले देशभर मल्टिप्लेक्स हलको लाइसेन्स लिनका लागि आवेदन दिनेको संख्या बढेको छ । यही क्रममा देशभर सन् २०१९ मा दर्जन बढी मल्टिप्लेक्स हल संचालनमा आउँदैछन् । क्यूएफएक्सका मालिक नकिम उद्दिनले ‘रिगल सिनेमाज’ नाम दिएर देशका विभिन्न स्थानमा मल्टिप्लेक्स संचालनमा ल्याउँदैछन् ।

भक्तपुरको भाटभटेनी, वुटवलको भाटभटेनी र विराटनगरको भाटभटेनीमा २–२ वटा पर्दा सहितको मल्टिप्लेकस हल संचालनमा आउँदैछ । ‘रिगल सिनेमाज’ले अहिले देशका ३ स्थानका भाटभटेनीमा मल्टिप्लेक्स हल संचालन गर्न लागेको हो ।

यस्तै, गंगबुमा ‘नर्थ सिनेमाज’ नाम दिएर मल्टिप्लेक्स हलमा संचालन हुँदैछ । २ पर्दा रहने यो हल चाडै नै संचालनमा आउन लागेको वुझिएको छ । चितवनमा रहेको चौधरी ग्रुपको भवनमा पनि २ वटा पर्दा सहितको मल्टिप्लेक्स संचालन हुँदैछ । पोखराको ‘सिनेप्लेक्स टिम’ले चितवनमा मल्टिप्लेक्स संचालन गर्न लागेको हो । यस्तै, विराटनगरको भाटभटेनीसँगै जोडिएको भवनमा पनि २ पर्दाको मल्टिप्लेक्स हल संचालन हुँदैछ ।

दमकको ‘दमक चित्र मन्दिर’को छेउमै २ पर्दाको मल्टिप्लेक्स हल संचालनमा आउन लागेको चलचित्र विकास बोर्डका सूचना तथा अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख चिरञ्जिवी गुरागाँइले जानकारी दिए । यस्तै, धनगढीमा रहेको चन्दन टाकिजलाई पूर्ननिर्माण गरेर अत्याधुनिक बनाउने तयारी थालिएको छ ।

यसरी हेर्दा, दर्शकले राम्रो हल खोज्न थालेपछि अहिले देशभर नै मल्टिप्लेक्स हल खुल्ने क्रम मात्र बढेको छैन, पुराना हललाई पूर्ननिर्माण गरेर आधुनिक हल बनाउने क्रम पनि तिब्र भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment