Comments Add Comment

आउ, अब राजनीति गरौं

केही साता पहिले एशियाकै अतिविकसित मुलुक सिंगापुर पुग्ने मौका जुर्‍यो । तीतामीठा ऐतिहासिक घटनाक्रम भोगेको सिंगापुर कस्तो होला भनेर जान्ने हुटहुटी भित्रैदेखि थियो । केही दिनमात्रको बसाइ र औपचारिक कार्यक्रमको व्यस्तताका कारण त्यहाँको विकासका सबै पक्षलाई गहिराइमा बुझ्ने अवसर त पाइएन, यद्यपि तीव्र विकास भएको मुलुकको दिनचर्या र माहोल बुझ्ने मौका स्वभाविकरुपमा पाइयो ।

सन् १९६५ मा सिंगापुर स्वतन्त्र राष्ट्र भए पनि सामुन्दि्रक व्यापारको हिसावले १४ औं शताब्दीदेखि नै उक्त भूभाग जलमार्गमा आधारित विश्वव्यापारको व्यस्त नाका थियो । प्रशान्त महासागर र हिन्द महासागरका दुबै जलमार्गको नाकामा पर्ने सिंगापुरको साँघुरो नाका भएर अहिलेपनि विश्वको ४० प्रतिशत सामुन्दि्रक व्यापार चल्ने गरेको द इकोनोमिस्टले लेखेको छ ।

त्यसैले सिंगापुरलाई मलाक्का नाकाको मुख पनि भन्ने गरिन्छ । १९ औं शताब्दीमा युरोपियनहरुले उपनिवेश विस्तार गरेसँगै विश्वबजारका व्यापारीहरुको आँखा सिंगापुरमा पर्‍यो । त्यसैले पनि उक्त देश व्यापारीहरुका लागि उत्कृष्ट गन्तव्य बन्यो । तर, आजको समृद्ध सिंगापुर बन्न भने त्यो नाकामात्रै मुख्य कारण भने होइन ।

सिंगापुर एउटा राजनेताको अद्वीतीय इमानदारिता, दृढ लगाव र परिश्रमले सम्वृद्ध बनेको हो । संयुक्त मलाया राष्ट्रिय संगठनसँगको सम्बन्ध विच्छेदसँगै सन् १९६५ मा स्वाधिन भएको सिंगापुरलाई त्यहाँको प्रजातान्त्रिक दक्षिणपन्थी पार्टी पिपल्स एक्सन पार्टीका संस्थापक महासचिव ली क्वान यूले ३० वर्षको अन्तरालमा तेश्रो विश्वको हैसियतबाट उठाएर पहिलो विश्वमा दर्जा दिलाए । देश स्वतन्त्र भएयता उक्त पार्टीले लगातार जनपक्षीय र इमान्दार काम गर्न थालेपछि अहिलेसम्म पनि त्यहाँका विपक्षी पार्टीले टाउको उठाउन सकेका छैनन् ।

प्रधानमन्त्रीका रुपमा तीन दशक सिंगापुरको शासन गरेका ली क्वान युले कसरी सिंगापुर बनाए भन्ने जिज्ञासा आज नेपालका सम्पूर्ण चेतनशील जमातले राख्नैपर्छ । स्वाधीनताको लडाईं, संविधानको पुनर्लेखन, राजनीतिक अस्थिरता सबै भोगेको गरिब र सानो मुलुक सिंगापुर आज कसरी एशियाको पावर हाउस बन्यो भन्ने तथ्य सबैले बुझे नेपाललाई समृद्धिमा जान ठूलो प्रेरणा मिल्ने छ ।

सिंगापुरका राष्ट्रपिताका रुपमा मानिने लि क्वान युको केही हदसम्मको निरंकुश तर इमानदार एवं दृढतापूर्ण योगदानले सिंगापुर बनेको हो । उनले कतै भनेका थिए, म सधैं सही काम गर्न प्रयत्न गरिरहन्छु तर, त्यो राजनीतिक रुपमा सही होइन । अर्थात उनले राजनीतिक लाभभन्दा माथि उठेर देश निर्माण गरे ।

सिंगापुर बन्नुमा मुख्य तीन कारण मान्न सकिन्छ । पहिलो, विश्वव्यापी सीमापार व्यापारको सामुन्दि्रक नाकाको भरपुर उपयोग । दोश्रो छरितो, चुस्त एवं इमानदार सरकार । र, तेस्रो विदेशी लगानी प्रवर्द्धन र व्यापारको सहजता । यीनै मुख्य आधारमा सिंगापुर समृद्धिको शीरमा पुगेको हो ।

अहिले पनि लीकै पार्टीको नेतृत्वमा रहेको सिंगापुरमा उनकै जेठा छोरा तीनपटकदेखि लगातार प्रधानमन्त्री छन् । सैनिक बिग्रेडियर भएपछि राजनीतिमा हामफालेका उनी ८० कै दशकमा सांसद निर्वाचित भएर सिंगापुरको मन्त्री बनेका थिए । सन् २००४ यता प्रधानमन्त्री रहेका उनमा विरासतको केही प्रभाव भए पनि बाँकी सबै उनकै परिश्रम र बुबाबाट सिकेको इमानदारिताको परिणाम हो । न कि नेपालको जस्तो खोक्रो विरासतको धङधङी ।

सिंगापुर सरकारको मूल नारा नै इमानदारिता, सेवा र उत्कृष्टता रहेको छ । तर, यो नारा नेपालका १४ वर्ष जेल बसेका नेता तथा दुई तिहाई बहुमतका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिपादन गरेको सम्वृद्ध नेपाल, सुखी नेपालीजस्तो सतही लाग्दैन ।

सिंगापुरका हरेक नागरिकमा सरकारप्रतिको उच्च सम्मान छ । विश्वास छ । र, देशप्रतिको समर्पण छ । भौतिक, आर्थिक र समाजिक विकासको न्यानोले सबै नागरिक सिञ्चित छन् । भ्रष्टाचार गर्नुहुँदैन भन्ने भावना र प्रतिवद्धता गहिरो रुपमा सबै नागरिकको मानसपटलमा भएको गुञ्जायस त्यहाँ पुगेका जोकोहीले महसुस गरेको हुनुपर्छ ।

त्यसैले त सन् २०१७ को ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सूचकांकमा सिंगापुर १७५ राष्ट्रमध्ये कम भ्रष्टाचार हुने ६ वटा मुलुकमा पर्न सफल भएको छ । भ्रष्टाचारमा शून्य सहनशीलता, उत्तरदायी सरकार र वैदेशिक लगानी मैत्री व्यापार कानून भएकै कारण सिंगापुर यहाँ पुगेको हो भन्ने मेरो निश्कर्ष रहृयो ।

अब कुरा गरौं नेपालको ।

कुनै प्राकृतिक स्रोत साधन नभएको एउटा सामुन्दि्रक टापुको दाँजोमा नेपाल इश्वरीय वरदान मिलेको भूभाग हो । भूपरिवेष्ठित राष्ट्र हुनु तथा भारत र चीनको सामरिक स्वार्थमा रहनु जस्ता कुटनीतिक र भौगोलिक असहजता बाहेक नेपालसँग सिंगापुरले जस्तो विकास गर्न नसक्नुपर्ने कारण केही छैन ।

नेपालले इतिहासमा थुप्रै निरंकुशता भोग्यो, न्यून सामाजिक चेतनाको फाइदा उठाउँदै राजा, राणा र जमिनदारहरुले प्रत्यक्ष र अप्रत्यक्ष शासन गरे । ती सबैलाई छिचोल्दै तीनपटकसम्म नेपालले जनक्रान्तिमार्फत जनतालाई सार्वभौम सम्पन्न बनाएको छ । त्यसमध्ये सन् १९९० को प्रजातन्त्रबहाली यता माओवादी द्वन्द्व र शाही कू बाहेक अरु कुनै प्रतिक्रान्तिकारी कदम भएका छैनन् ।

ती कदम पनि प्रजातन्त्रका हिमायती भनिनेहरुको अकर्मण्यता र भ्रष्टनीतिका कारण जन्मिएका स्वभाविक प्रतिक्रिया हुन् । तिनलाई पनि जनताले परास्त गरेर पुनः बुहदलीय प्रतिस्पर्धात्मक मुलुक बनाइदिइसकेका छन् । सन् १९९० यता नै नेपालले तीन दशकको यात्रा तय गरिसकेको छ ।

योबीचमा राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र गरी विश्वभर अभ्यास भइसकेका तीनैथरी शासकीय व्यवस्था हामीले स्थापना र सञ्चालन गरिसकेका छौं । अझै अहिले आएर संघीयतामार्फत राज्यको भौगोलिक पुनसंरचना गरेर अघि बढिसकेका छौं ।

यति हुँदा पनि किन मुलुक विकास भएन त ? वा किन विकासको छनक देखिएन ? यही प्रश्न आजको पेचिलो सवाल हो ।

हो, हामीले वादहरुको राजनीति गर्‍यौं । समाजलाई स्वाधीन बनायौं । मानवहरुबीचको विभेदलाई संविधानतः खारेज गरिदियौं । निरंकुश शासन व्यवस्थालाई भित्तामा पुर्‍याइदियौं । जनताको मतलाई सर्वोच्च बनायौं । अल्पसंख्यक र सीमान्तकृतहरुको अधिकारलाई सुनिश्चित गर्‍यौं । मान्छे र समाजलाई आन्दोलित हुन सिकायौं, अधिकार माग्न र नपाए खोस्न सिकायौं ।

तर, हामीले उत्तरदायी र इमानदार राजनीतिको संस्कार बसाल्न सकेनौं । गरिब र मजदूरका नाममा राजनीति गर्नेहरु हेर्दाहेर्दै पुँजीपति र धनाढ्य भएको टुलुटुलु हेरेर बस्यौं । दास मानसिकतालाई मलजल गर्दै नवसामन्तहरुको बोलवालालाई अनुमोदन गर्‍यौं । खुलेआम रुपमा नातावाद, कृपावाद र भ्रष्टाचारको हिस्सा बन्यौं । समाजका कथित नयाँ ठालूहरुका अगाडि विद्रोह बोल्न सकेनौं । नेताहरुसँगको आश र त्रासबाट मुक्त हुन सकेनौं । सार्वजानिक प्रशासनलाई भ्रष्टाचार मुक्त बनाउनुका साटो थप भ्रष्ट बनाउन योगदान गर्‍यौं । देशलाई तल्लो तहको श्रमिक उत्पादन गर्ने कारखाना बनाएर युवाशक्तिलाई खाडी र युरोप अमेरिका पठाएर उनका पसिनाको धनमा उपभोगमुखी विलासी जीवनयापनतिर लाग्यौं ।

बाँकीलाई राजनीतिक भरौटे बनाएर ठगी खान सिकायौं । अझै उनै विचारशून्य, थकित र फेजआउट अनुहारहरुलाई राजनीतिको आदर्श मान्यौं । काका, मामा, मितज्यू र गोरु बेचेको साइनो खोजेर नेता चुन्यौं । दिनमा तीनचोटि लुगा फेरेर सामाजिक सञ्जालमा फोटा प्रदर्शन गर्ने हामीले समाज परिवर्तन गर्ने मूलधार र शक्ति राजनीतिमा भने विकल्पको खोजी कहिल्यै गरेनौं । यथास्थितिवाद यतिसम्म फस्टायो कि हामी परिवर्तनलाई आत्मसाथ नै गर्न नसक्ने बिन्दुमा पुग्यौं ।

अनि, आज आएर हामी फेरि उनै चुनिएका नेतालाई गाली गरिरहेका छौं । सय किलोका माला चाहिने र राज्यकोष दोहनमा लिप्त नवसामन्ती मानसिकताका नेतालाई भोट हाल्ने अनि युरोप, अमेरिकाको डाह गरेर देशका नेतालाई गाली गर्ने ?

राजनीतिजस्तो गतिशील अवधारणालाई हामीले तीव्र यथास्थितिको शिकार बनायौं । मुखियातन्त्रको झल्को दिनेगरी दैनिक नेताका घरमा चाकडी गर्न जाने अनि भरे नेताले देश बिगारे भनेर मुख बजाउने ?

राजनीतिक शुद्धीकरण बाहेक अब नेपालमा विकास गर्ने कुनै एक आधार पनि बाँकी छैन । मुखले तीन भकारी गफ दिने, तर काममा पञ्चे र राणाभन्दा पनि पश्चगामी देखिएका अहिलेका मूलधारका पार्टी र नेताहरुबाट देश विकासका लागि इमानदार प्रयत्न होला भनेर चुप लागेर बस्नु भनेको जानाजान आउँदो पुस्तालाई पनि माग्ने युगकै नागरिक बनाउनु हो ।

हाम्रो पुस्तालाई भ्रष्टाचार, कुशासन र परनिर्भरताको खाडलमा देश लगातार फस्दै गरेको टुलुटुलु हेरेर बस्ने छुट छैन र हुनुहुँदैन । व्यक्तिवाद र परिवारवादबाट माथि उठेर साँचो अर्थमा नैतिकताको राजनीति सुरु गर्नु छ । पैसा र मान्छेको भीडका भरमा राजनीति गर्ने र सत्ता प्राप्तिपछि उही भ्रष्टाचारको दलदलमा फस्ने डेटएक्स्पायर राजनीतिक मोडललाई परिवर्तन गर्नुछ । उद्यमशीलतासहितको राजनीति अबको समाज विकासको सुत्रधार हो । राजनीतिलाई आम्दानीको स्रोत बनाउँदिनँ भन्ने दृढ संकल्प र इमानदारिताका लागि उद्यमशीलता आवश्यक छ । जसले व्यक्तिगत जीवनयापन गर्न राज्यकोषको बलात्कार गर्न नपरोस् ।

समाजमा भइरहेका खुलेआम भ्रष्टाचार सहेर बस्ने, मौका परे आफै भ्रष्टाचारमा उत्रने अनि सामाजि सञ्जालमा आदर्श खोकेर मात्रै देश बन्दैन । यसर्थ, देश बनाउने हो भने नयाँ पुस्ताका अग्रगामी सोच भएका युवा राजनीतिमा होमिनपर्छ । हाम्रो इमानदारिता र दृढताले मात्र देशको मुहार फेरिन्छ । त्यसैले आउ, अब राजनीति गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment