Comments Add Comment

म सँग राजनीति गर्ने समय १० वर्षमात्रै छ : प्रचण्ड

२९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सक्रिय राजनीति गर्ने समय एक दशकमात्र रहेको बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उनले सक्रिय राजनीति, समाजसेवा वा जनताको पक्षमा काम गर्ने समय एक दशकमात्र रहेको बताएका हुन् । आफू जीवनको उत्तरार्धमा रहेको भन्दै प्रचण्डले भने ‘अब सक्रिय रुपमा राष्ट्रको सेवा गर्ने एक दशकमात्रै होलाजस्तो लाग्छ, सबै कुरा एजइटइज रह्यो भने । हुनत मान्छेको जीवनको भर हुँदैन ।’

आफ्नो र देशको जीवनमा हरेक १० वर्षमा ठूला ठूला परिवर्तन भएको भन्दै प्रचण्डले अबको १० वर्ष देशको समृद्धि र जनताको जीवनमा सकारात्मक आर्थिक परिवर्तन ल्याउनका लागि उपयोग गर्ने बताए । ‘म आफ्नो कर्मले गर्दा मधेस, पहाड, हिमाल, महिला सबै समुदायले मलाई विश्वास गर्ने आधार छ’ उनले भने ‘मैले ऋण चुक्ता गर्ने समृद्धिको यात्रामा समाहित भएर नै हो ।’
आफूले भयानक खुशी र गर्व तथा भयानक पीडाको क्षण पनि ब्यहोरेको भन्दै प्रचण्डले अब राष्ट्र निर्माणमा नयाँ संकल्पका साथ लाग्ने उद्घोष गरे ।

मुलुकमा अहिले धेरै परिवर्तन भएको भन्दै प्रचण्डले यो दिगो भने भइनसकेको बताए । ‘के हो, के हो भन्याजस्तो फेरि पनि छ’ उनले भने ‘जबसम्म यो परिवर्तनले जनताको जीवनमा सकारात्मक परिवर्तन गर्‍यो भन्ने महसुस हुदैन, यी सबै चिजलाई जनताले महत्व दिँदैन ।’

जनताको पक्षमा काम नभएमा कांग्रेस वा कम्युनिस्ट कुनै पार्टीको पनि महत्व नहुने उनले बताए । ‘साइनबोर्ड कसले के राखेको छ भन्ने कुरा जनतालाई धेरै अर्थको कुरा हुँदैन । राष्ट्रलाई, जनतालाई कसले के दियो सामाजिक रुपान्तरणमा कसले के दियो भन्ने कुराबाट त्यसलाई जाँचिन्छ’ प्रचण्डले भने ।

विगतमा जस्तो हत्या हिंसा र सरकार परिवर्तन भइरहने अवस्था नरहेको भन्दै प्रचण्डले यो अवसरको सदुपयोग गर्न नसकेमा फेरि देश उल्टो दिशामा जाने खतरा हुने बताए । ‘त्यो अवसरलाई सदुपयो्ग गर्दै जनताको पक्षमा उपयोग गर्न सकिएन भने, त्यहाँ बुमर्‍याङ गर्छ । उल्टो दिशामा जाने खतरा हुन्छ ।’

जनताप्रति इमान्दार हुँदासम्म कुनै पनि पार्टी र नेताको औचित्य हुने भन्दै प्रचण्डले इमान्दार नभएमा पार्टी र नेताको औचित्य सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment