Comments Add Comment

गोविन्द केसीविरुद्ध उत्रिने विजय थापा को हुन् ?

२९ पुस, इलाम । चिकित्सा शिक्षामा सुधारको माग गर्दै इलाममा आमरण अनुसन बसिरहेका डा. गोविन्द केसीलाई जिस्क्याउन अर्का एक युवाले पनि अनसन थालेका छन् । विजय थापा नाम गरेका ती युवाको अनसनचाहिँ गोविन्द केसीको भन्दा ठीक उल्टोखालको छ ।

यसअघि इलाम बजारमा कहिल्यै नदेखिएका थापाले आफ्नो जन्म पनि इलाम जिल्लामै भएको र आफू सामाजिक अभियन्ता एवं विद्यार्थी रहेको स्थानीयबासीलाई बताउने गरेका छन् ।

यसअघि काठमाडौंको खुल्लामञ्चमा आमरण अनसन बसेको बताउने थापाले इलाममा डा. गोविन्द केसी आमरण अनसन बस्न थाल्नासाथ करिब एक किलोमिटर पर आफूले पनि आमरण अनसन थालेको बताएका छन् ।

गोविन्द केसीको विरोधमा अनसन बस्न थापासहित अन्य केही युवा इलाम आएका छन् । उनीहरुले इलामका मेयर र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । भलै उनीहरुले आफ्नो अनसन कसैको विरोधमा नभएको दाबी गरेका छन् ।

थापाले डा. गोविन्द केसी र सरकारवीच भएको सम्झौता खारेज हुनुपर्ने माग गरेका छन् । त्यसैगरी उनले डा. केसीले अनसन बसेका बेलाको तलबभत्ता त्रिवि शिक्षण अस्पतालबाट लिए/नलिएको छानविन गरी तलब लिएको भए राज्यकोषमा फिर्ता गरिनुपर्ने मागसमेत गरेका छन् ।

डा. गोविन्द केसी इलाममा आमरण अनसन बस्न आएकै बेला थापा पनि इलाममै अनसनका लागि आइपुगेपछि स्थानीय मानिसहरुले यो प्रकरणलाई चासोपूर्वक हेरेका छन् । डा. केसीको विरोधमा उत्रिएका थापा सत्तापक्ष वा नेकपाबाट परिचालित हुन सक्ने गोविन्द केसी पक्षधरहरुको आशंका छ ।

हुन पनि इलाममा अकस्मात् झुल्किएका थापालाई नेकपा समर्थित केही कार्यकर्ताहरुको सहानुभूति र समर्थन देखिएको छ । यद्यपि थापाको समर्थनमा इलामे जनता खुलेर लागेका छैनन् । उनलाई यसअघि इलाम सदरमुकामका मानिसहरुले चिनेका पनि थिएनन् । भलै उनले आफूलाई सामाजिक अभियन्ता बताउने गरेका छन् ।

थापाको फेसबुक आइडी हेर्दा केही मधेसतिर घुमफिर गरेका तस्वीरहरु भेटिन्छन् भने केही तस्वीरमा उनले साथीहरुसँग बसेर रक्सी पिइरहेको देखिन्छन् ।

इलाम बजारमा एकातिर डा. केसीको समर्थनमा जुलुस निस्कने र बाटैमा थापाको अर्को अनसन भेटिने अवस्थाले शान्ति सुरक्षामा चुनौती थपिएको महसुस इलामे जनताले गर्न थालेका छन् ।

भलै जिल्ला प्रशासनले भने सुरक्षा व्यवस्था दह्रो पारेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment