Comments Add Comment

‘विवेकशील साझामा गाँठो बनाउन सक्थें तर, कठोर बाटो रोजेँ’

विवेकशील साझा पार्टीबाट अलग भएपछि विवेकशील नेपाली दल ब्युँताउने अभियानमा जुटेका युवाहरु आन्तरिक छलफलमा जुटेका छन् । यसको अगुवाई उज्वल थापाले गरेका छन् । यो समूहमा रञ्जु दर्शनासमेत छिन् ।

आइतबार अन्तरवार्ताका लागि पुग्दा उनीहरु बानेश्वरमा छलफलमै व्यस्त थिए । लगत्तै खाजा खान निजामती अस्पतालको क्यान्टिनमा पुगेका यो समूहका नेता उज्वल थापासँग त्यहीको चौरीमा बसेर अनलाइनखबरले कुराकानी गर्‍यो ।

कुराकानीका क्रममा थापाले धेरै तीतो पोख्नुभन्दा सँगै बस्न नसक्ने भएपछि अलग बाटो रोजेको प्रष्ट पारे । ‘मैले चाहेको भए त त्यहीँ बसेर गाह्रो गाँठो बनाउन सक्थें । तर, विवेकशील साझामा गुटैगुट छ भनेको कसैलाई मन पर्दैन’ थापाले अनलाइनखबरसँग भने, ‘त्यसैले कठोर बाटो रोज्यौं र आज सडकमा छौं ।’

प्रस्तुत छ थापासँग गरिएको कुराकानी-

रविन्द्र मिश्रजीले हिजो पत्रकार सम्मेलनमा गुनासो गर्नुभयो कि छुटि्टएर जाने साथीहरुले धेरै आरोप लगाउनुभयो, यसमा असाध्यै दुःख लागेको छ । तर, म हिलो छ्यापाछ्याप गर्दिनँ । तपाईहरु सुसंस्कृत राजनीति गर्ने भन्नुहुन्थ्यो तर, पार्टी फुट्नासाथ धेरै नै हिलो छ्याप्नुभयो कि क्या हो ?

मैले हिलो छ्याप्ने भन्दा पनि सन् २०१८ को अन्तिम दिन केही महिना लगाएर बनाएकै समीक्षा पार्टी सदस्यहरुमाझ प्रस्तुत गरेको थिएँ । राम्रो प्रतिक्रिया आओस् नआओस् तर, त्यसमा इन्टरटेन त गर्नुपथ्र्यो । एउटा संयोजकले आम सदस्य, नेतृत्व र समाजका व्यक्तित्वसँग सुझाव मागेर समीक्षा रिपोर्ट बनाएपछि त्यसमा छलफल गर्ने वातावरण त बनाउनुपर्थ्यो ।

५/६ वर्षदेखि वैकल्पिक राजनीति गर्ने भनेर चिन्दै नचिनेका युवाहरुलाई चिनिने बनायौं, स-सानो भए पनि परिर्वतन ल्यायौं ।त्यसको कदर भएन । त्यस्तो पनि राजनीति हो भन्न थालियो ।

तर, छलफल नहुने, उल्टो विधि प्रक्रियाको प्रश्न उठाउने, मिडियामा पुर्‍यायो भन्ने ढंगले आरोप लगाउने काम भयो । मलाई अचम्म के लाग्यो भने मैले आफैंमाथि समेत निर्मम समीक्षा गरेर बनाएको रिपोर्ट पार्टी सदस्यहरुलाई दिँदा पनि तैंले पाउँदैनस्, पार्टी सदस्यहरुलाई भेट्दा हामीलाई नसोधी जिल्लामा जान पाउँदैनस् भन्ने जस्तो गरियो । यसले हामी कस्तोखालको राजनीति गर्दैछौं ? एक किसिमले निषेधको राजनीति त गरिरहेका छैनौं भन्ने प्रश्न मेरो मनमा उब्जियो ।

पछिल्लोपटक आफू खुसी केन्द्रीय सदस्य थप गर्ने, युवा संगठनहरु खोल्ने काम भयो, जब कि भ्रातृ संगठन खोल्ने कि नखोल्ने हामीले निर्णय नै गरेका थिएनौं । यस्ता गतिविधिले विश्वासमा ह्रास आयो र हामीले अलग भयौं ।

अहिले एकअर्काप्रति गुनासो हुनु स्वाभाविक हो । तर, राजनीतिमा व्यक्तिगत रिसिवी वा मायाले पनि एकहदसम्म अर्थ राख्छ । धेरै इमोसनल हुनुभएन ।

पार्टीमा नयाँ केन्द्रीय सदस्य थप गर्ने प्रस्ताव आएपछि अब वाइपास गर्ने भए, पेलेर जाने भए भन्ने लाग्यो कि ?

फिल मात्र भएको होइन, श्रृखलावद्ध निर्णयहरुले देखाउँछ । मैले मात्र होइन, धेरै साथीहरुले यो समीक्षा गर्नुपर्छ भन्दाभन्दै एजेण्डामा नपर्नु, मलाई पनि राम्ररी थाहा नहुनुले पार्टीमा विश्वासको खडेरी भन्दै देखाउँछ ।

तर, उहाँहरुले ३० गते बैठक बोलाइएको थियो, त्यसमाथि छलफल गर्ने एजेण्डा थियो । उज्वल थापा भनेर नाम मात्र पो नलेखेका हौं भन्नुभएको छ त ?

म त्यसलाई मान्दिनँ । हामीले इमेल कुराकानी हेेरेका छौं । मैले पनि जवाफ लेखेको छु । तर, अझ कठोर प्रतिक्रिया आएको छ र उहाँ (रविन्द्र मिश्र) ले साथीहरुलाई थप राजनीतिक कदम मात्र चाल्ने कुरा गर्नु भयो रे ?

यो सबै देखेपछि लाग्यो कि पार्टी अझै सुध्रिने बाटोमा जाँदैन । पार्टीमा सुधार नहुने र हामीले गरेको राजनीतिको पनि अर्थ नहुने भएपछि हामीले गरेको सम्झौताको अर्थ भएन । त्यसैले सम्झौता भंग गरेका हौं ।

के तपाईहरुबीच भेटघाट र छलफल इमेल वा च्याटमा सीमित हुन थालेको थियो ?

सम्वादको वातावरण विस्तारै ह्रास हुँदै गएको थियो । किनभने हामी समान हैसियतले आएका हौं र महाधिवेशनसम्म त्यसरी नै जाने हाम्रो सम्झौता हो । तर, जब समानको अनुभूति हुँदैन, संयोजक समिति शक्ति केन्दि्रत गर्ने ठाउँ बन्न थाल्छ र आफूले बोकेको एजेण्डाहरु मात्र हाबी हुने माहोल बनाउन थालिन्छ, त्यसभित्र पनि अबाञ्छित प्रभाव गर्ने माहोल हुन्छ, यसलाई हामी मूल्यमान्यताको होइन, पुरातनवादी राजनीति मान्छन् र हामी यस्तो राजनीति गर्न आएका होइनौं ।

यसरी हेर्दा यो एउटा निर्णय वा सम्वादले हामीबीच विश्वासमा ह्रास आएको होइन । तिमीहरुले राजनीति बुझेकै छैन, हामीले मात्र बुझेका छौं जस्तो गरियो । अचम्म छ ! ५/६ वर्षदेखि वैकल्पिक राजनीति गर्ने भनेर चिन्दै नचिनेका युवाहरुलाई चिनिने बनायौं, स-सानो भए पनि परिर्वतन ल्यायौं । नेपाल बन्दविरुद्ध होस् कि लोकमानसिंहलाई ढाल्न होस्, त्यसको कदर भएन । त्यस्तो पनि राजनीति हो भन्न थालियो । समाजसेवा गर्ने पनि राजनीति हो भन्ने माहौल बनाइयो ।

अरुले गरेको काममा प्रश्न उठाएपछि आफूले भनेअनुसार काम गरेर देखाउनुपर्छ । त्यसैले हामीले एक वर्ष त हेर्‍यौं । हामी गलत हुन सक्छौं, तपाईहरुले भनेको तरिकामा अगाडि बढौं भन्यौं । तर, नतिजा प्रवुद्ध व्यक्तिहरुले पनि पार्टी छाडे । यसबाट पनि उहाँहरुले सिक्नुभएन । आफूले बुझेको राजनीतिमात्रै राजनीति हो भन्ने दम्भको राजनीति नगरौं ।

पार्टी सदस्यहरुले जिम्मेवारी पाएका छैनन्, प्रदेश संयोजक तोक्छौं, त्यसपछि जिल्लामा जान्छौं, त्यसपछि तल भन्दाभन्दा १६/१७ महिना भयो । अझै प्रदेश १ र २ मा संयोजक छैनन् । २ लाख बढी भोट पाएको पार्टीले एउटा प्रदेश संयोजक पनि खोज्न सकेन । आम सदस्यहरुले मन पराएको प्रदेश संयोजक सिफारिस गर्नुभएको थियो तर, अस्वीकार गरियो । सदस्यहरुको सदभावको सम्मान गरौं न भन्दा यो त हुँदैहुँदैन भनियो । कतै उहाँहरुलाई एसम्यान चाहिएको त होइन ?

तपाईंको कुरा सुन्दा यस्तो लाग्छ कि तपाईहरुको असन्तुष्टि एकपछि अर्को थपिएको थियो । र, एउटा विन्दुमा आएपछि यो बिस्फोट हुन स्वभाविक हो….

बिस्फोट हुनु स्वाभाविक भन्दा पनि यस्तो नहोस्, पार्टीमा ठूलो सुधार हुनुपर्छ, धेरै समय तदर्थतामा रहनुहुुँदैन भनेर हामीले प्रत्यत्न गर्‍यौं । लोकतन्त्रमा तदर्थवाद राम्रो होइन, १६/१७ महिना भइसक्यो एकता भएको ।

एक लाख सदस्य पुर्‍याएपछि तामझामका साथ महाधिवेशन गर्नुपर्छ भनियो । तर, एक वर्षमा १५/१६ सय सदस्य मात्र थपियो । यसरी त कहिले एक लाख पुग्ने ? नेपाल कम्युनिस्ट पार्टीले जस्तो २०/३५ वर्षमा महाधिवेशन गर्ने त होइन होला । यसले त सहभागितामूलक लोकतन्त्र भएन । हाम्रो बोली र व्यवहारमा धेरै भिन्नता भयो ।

त्यसैले सँगै बस्न नसकिएको हो ?

त्यसपछि उहाँहरुले गरिरहेको प्रयोगमा हामीले विश्वास गर्न सकेनौं, हामीले साथ धेरै दियौं तर, सुधार गर्न खोज्दा पनि धेरैको इच्छा भएन । त्यसैले तपाईहरुले आफूले चाहेजस्तो प्रयोग गर्न पाउनुपर्छ, गर्नुस् भनेर छाडेको हो ।

हामीले बुझेको राजनीति गर्न पाउने हाम्रो अधिकार पनि हो । हाम्रो दायित्व त्यही नागरिकप्रति हो, जसले हामीले गरेको राजनीतिलाई हेरेर भोट वा सपोर्ट गर्नुभएको छ । यो छोड्ने आफैंले नबुझेको वा नपत्याएको राजनीति गर्नु नागरिकलाई धोका हुन्छ । त्यसैले यसलाई मैले फुटभन्दा पनि निकास मानेको छु, जुन कहिलेकाँही क्रुर पनि हुन्छ ।

तपाईहरुबीच कस्तो राजनीति गर्ने भन्नेमा ठूलो विमति रहेछ, होइन त ?

उहाँहरु र हाम्रा लागि अभियान कसरी फरक छ भने हामीलाई लागेको अभियान नागरिकमुखी हो । भ्रष्टाचारविरुद्ध होस् कि महिला हिंसाविरुद्ध होस्, विभिन्न मुद्दामा आउँछ । तर, उहाँहरुले सार्वजनिक मञ्चमा हाम्रो मुख्य तीन अभियान भनेर सदस्यता, कोष र संगठन विस्तार भन्नुभयो ।

यसले हाम्रोबीचमा आधारभूत भिन्नता देखियो । हामी मान्छौं कि एउटा राजनीतिक दलका लागि सिक्काको दुई पाटोमध्ये एउटा संगठन हो भने अर्को अभियान हो, जसले नागरिकलाई मल्हम पट्टी लगाउँछ । तर, हामीले ४/५ वर्ष अभ्यास गरेर आएको कामलाई बैकल्पिक राजनीति नमान्ने अनि राजनीति नै नगरेका साथीहरुले गर्ने राजनीतिलाई वैकल्पिक राजनीति हो भन्दा हामीले विश्वास गर्न सकेनौं ।

कहिलेकाँही लाग्दैन, पार्टी एकता गर्ने समय नै गलत थियो वा हतार गरियो ? किनकि भर्खर पार्टी बनेको थियो, एकअर्कालाई बुझ्न बाँकी नै थियो…..

मलाई के लाग्छ भने विवाह आस्थाका आधारमा हुन्छ, शंकाका आधारमा हुँदैन । हामी पनि आस्थाको राजनीति गर्न आएका हौं, डरको होइन । यदि राम्रो मान्छे छ र विचार मिल्छ भने स्वागत गर्नु सक्नुपर्थ्यो ।

आम नागरिकको भावना पनि एक होस् भन्ने थियो, एकता गर्‍यौं । यो एउटा प्रयोग पनि थियो । प्रयोग कहिले सफल हुन्छ, कहिले असफल । हाम्रो सामाजिक परिवेशमा छुटि्टने भन्ने शब्दलाई नराम्रो मानिँदोरहेछ । तर, छुट र फुट भनेको समयको श्रृंखला हो, यसबाट सिक्दै जाने हो, माझिँदै जाने हो ।

मलाई के लाग्छ भने लुटतन्त्रविरुद्ध सहकार्य गर्ने वातावरण जहिले पनि रहन्छ । अबको २/३ हामी दुबैले आफूलाई राम्रो लागेको प्रयोग गर्ने मौका पाउँछौं । यसले एकअर्कामा प्रतिस्पर्धा पनि हुन्छ, सहकार्य पनि हुन्छ । तर, एउटै डुंगामा दुईतिर बसेर दुबैले खियाउने हो भने कहिँ पनि पुगिँदैन ।

उसोभए रविन्द्रजीले भनेको जस्तो एउटा विन्दुमा पुगेपछि मिल्ने सम्भावना पनि छ ?

अवश्य । यसलाई म स्वागत पनि गर्छु । तर, हामीले बोलीबाट होइन, व्यवहारबाट एउटै बाटो हिँड्न सक्ने बनाउनुपर्छ । अहिले पछाडि फर्किएर हेर्दा पार्टी एकता गर्दा हामीले एकअर्काको व्यवहार देख्न पाएका थिएनौं । विवेकशीलको त देख्नुभएको थियो तर, साझा पार्टी भर्खर बनेको थियो । शायद सडकको धरातलमा आउन पाएको भए उहाँहरु पनि खारिनुहुन्थ्यो ।

उसोभए अब दुई वैकल्पिक पार्टीमध्ये कुन उपयुक्त छ भनेर जाँच्ने रहर छ ?

हामीले कति मलमपट्टी लगाएका छौं भनेर आम नागरिकले पनि देख्नुपर्छ । नत्र कसरी पत्याउने ? कोही सेलिब्रेटी हुँदैमा, एकजना विज्ञ वा एक्टर आउँदैमा आम नागरिकले पत्याउँदैनन्

मेरो आशा र विश्वास छ, मानिसहरुले दुबै पार्टीले गरेको कामको मूल्यांकन गर्ने वातावरण बन्छ । यसले बैकल्पिक राजनीतिबारे बहस होस् । बैकल्पिक शक्ति भनेको आफूले जित्ने र अरुलाई हराउने मात्र होइन । सबैले जित्ने वातावरण बनाउने पनि हो । जब कांग्रेस र कम्युनिष्टले पारदर्शिता कायम गर्छ, त्यसबेला वैकल्पिक राजनीतिको प्रभाव देखिन्छ ।

पार्टीमा रविन्द्र मिश्र हावी हुनुभयो, रविन्द्रजीको पार्टी भन्ने भयो । छायाँमा परियो भन्ने त्रासले पनि काम गर्‍यो कि भन्ने कतिपयको अनुमान छ नि ?

तपाईले कत्तिको थाहा पाउनुभएको छ, म धेरै मिडियामा आइरहने मान्छे होइन । चाहेको भए नसकिने थिएन । डा. गोविन्द केसीको अभियानमा लाग्न पनि बोलेको छैन । बोल्न चाहने हो भने त मञ्च कति पाइन्छ कति ।

तर, मलाई के लाग्छ भने पार्टी संयोजकको काम भनेको नेतृत्वको विकास गर्नु पनि हो । एउटा ठूलो रुखले अरुलाई छायाँमा पार्नुभन्दा पनि आफू एक कदम पछाडि बसेर अरुलाई अगाडि बढाउनुपर्छ । यसको अर्थ रविन्द्रजीले गलत गर्नुभयो भन्ने होइन । उहाँले पनि राम्रै सोचेर गर्नुभएको होला ।

तर, मलाई के लाग्छ भने पार्टी बनाउने हो भने युवालाई अगाडि सार्नुपर्छ । एउटा नगरपालिकाको अब्बल मेयर बनाउन चाहिने सिप सिकाउनुपर्छ । हामीले त्यो अभ्यास गरेका छौं त ? यसको विश्लेषण गर्नुपर्छ । मार्केटिङ मात्र त हुँदैन । तर, बाहिर मात्र जोड दिँदा भित्र कमजोर भयौं ।

तर, तपाईहरु माइतीघर मण्डलामा मात्र रमाउनुभयो, सशक्त राजनीतिक पार्टी बनाउने आँट गर्नुभएन भन्ने भावमा पनि कुराहरु आएका छन् नि ?

हो, हामी अहिल्यै जुम्लाको गाउँसम्म पुन सक्दैनौं होला । तर, हामी माइतीघरमा उभिँदा बन्दको संस्कार हटेको छ । यसलाई पनि कदर गर्नुपर्छ । माइतीघरमा गरेको प्रदर्शनकै कारण देशभर निषेधित क्षेत्र तोक्ने सरकारको प्रयास असफल भयो । त्यसैले माइतीघरलाई मजाकमा उडाउनुको साटो माइतीघर अभियानले दिएको न्यायलाई सम्झिनुपर्छ ।

फेरि, पार्टी भनेको आजको भोलि बन्ने होइन । अरविन्द कजेरीवालले पनि १० वर्ष आन्दोलन गरेका थिए । हामीले कति मलमपट्टी लगाएका छौं भनेर आम नागरिकले पनि देख्नुपर्छ । नत्र कसरी पत्याउने ? कोही सेलिब्रेटी हुँदैमा, एकजना विज्ञ वा एक्टर आउँदैमा आम नागरिकले पत्याउँदैनन् । उसको त्यागलाई हेर्छन् ।

त्याग भनेको हिजोजस्तो कति वर्ष जेल बस्यो भन्ने होइन, विवेक जगाउने यात्रामा कति लागेका छन् भन्ने हो । त्यस्तै सादगीपन, जवाफदेही, पारदर्शिता होस् भनेर हिँडेका छौं । शायद त्यसलाई उहाँहरुले बुझ्नुभएन ।

सबै कुरा सुन्दा नयाँ पार्टी गठनसँगै तपाई उत्साहित हुनुहुन्छ जस्तो लाग्यो….

गुम्सिएको वातावरणमा बसेर एकअर्कार्का कमजोरी केलाइरहनुभन्दा स्वतन्त्र वातावरणमा हिडौं र एकाअर्कालाई सिकाउने माहौल होस् भनेर छुटि्टएका हौं ।

मैले चाहेको भए त त्यहीँ बसेर गाह्रो गाँठो बनाउन सक्थें, संयोजकमध्ये एक छँदै थिएँ । तर विवेकशील साझामा गुटैगुट छ भनेको कसैलाई मन पर्दैन । त्यसैले हामीले कठोर बाटो रोज्यौं र आज सडकमा छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment