Comments Add Comment

छापामा आजः एनएसीले सकेन वाइडबडीको दोस्रो किस्ता तिर्न

३० पुस, काठमाडौं । प्रदेश मन्त्रीबाट सचिव कुटिएकोदेखि कांग्रेसले गठन गर्न लागेको छाया सरकारका मन्त्रीहरुसम्मको चर्चाले आजका दैनिक पत्रिकाहरु रंगिएका छन् । त्यस्तै, चिनीको मूल्य बढाउन चलखेल भएको, भारतले पानी र क्षतिपूर्ति दिन इन्कार गरेकोलगायत समाचारलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकतामा राखेका छन् ।

नयाँ पत्रिकाले आज सरकारको निगरानी गर्न कांग्रेसले गठन गर्न लागेको छाया सरकारका मन्त्री आकांक्षीबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार, छाया सरकारको मन्त्री बन्न आवेदन माग भए पनि सांसद्हरुले उत्साहजनक सहभागिता जनाएका छैनन् । रुचि भएका तीनवटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्र नाम टिपाएका छन् ।

नयाँ पत्रिकाका अनुसार, छाया सरकारको गृहसहित संघीय मामिला र युवा तथा खेलकुद मन्त्रालयमा दिलेन्द्रप्रसाद बडुले आकांक्षा देखाएका छन् । बडुजस्तै देवेन्द्रराज कँडेलले पनि छाया सरकारको गृह मन्त्री हुने रुचि देखाएका छन् । गृहको अलावा उनले पर्यटन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका लागि पनि आवेदन हालेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।  यसअघि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका भीमसेनदान प्रधानले छाया सरकारमा शिक्षा, स्वास्थ्यसँगै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने चाहना देखाएका छन् ।

नयाँ पत्रिकाका अनुसार, छाया सरकारको मन्त्री बन्ने दौडमा तीन महिलासमेत छन् । डा. डिला संगौला, सुजाता परियार र मीनाक्षी झाले पार्टीले अघि सारेको छाया मन्त्रिपरिषद्को सदस्य हुन रुचि देखाएका हुन् । त्यस्तै देवप्रसाद तिमिल्सेना, तेजुलाल चौधरी, जिपछिरिङ लामा र रामबहादुर विष्टले पनि मन्त्री हुने रहर गरेको नयाँ पत्रिका समाचारमा उल्लेख छ ।

कान्तिपुरले चिनीको मूल्य बढाउन चलखेल भएको लेखेको छ । स्वदेशी उद्योग प्रवद्र्धनको नाममा दसैंको मुखमा आयात बन्द गराउन सफल उद्योगीहरु अहिले मूल्य बढाउने चलखेलमा लागेको समाचारमा उल्लेख छ ।

इन्भेष्टमेन्ट बैंकलाई व्यापारी अजयराज सुमार्गीको रकम फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको खबरसँगै नेपाल वायुसेवा निगमले किस्ता तिर्न नसकेको समाचार पनि कान्तिपुरमा छ । दुई वाइडबडी र २ न्यारोबडीसहित चार विमानको पुसमा तिर्नुपर्ने ब्याजसहितको १ अर्ब १३ करोड किस्ता तिर्न निगम असफल भएको हो ।

कान्तिपुर लेख्छ– पुस मसान्त वाइडबडीको दोस्रो किस्ता तिर्ने बेला हो भने चार वर्षअघि ल्याइएका दुइटा न्यारोबडी विमानको १३ औं किस्ता हो ।

अन्नपूर्णले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथि गरेको हातपात र यसको कारण खोतलेको छ ।

कोसी, गण्डक र महाकाली नदीमा एकलौटी संरचना निर्माण गरेको भारतले नेपाललाई क्षतिपूर्ति दिन अस्वीकार गरेकोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा छापेको छ । सम्झौताअनुसार नेपालले पठाउनुपर्ने पानी दिन भारतले अनेक प्राविधिक बहाना भिकी पुरानै आलटाललाई निरन्तरता दिएको समाचारमा उल्लेख छ ।

नागरिकले विदेशमा प्रतिबन्धित औषधि नेपालमा बिक्री–वितरण भइरहेकोबारे गम्भीर विषय उठाएको छ ।

नागरिक लेख्छ– उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्यावलेटलाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ । तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ ।

नागरिकका अनुसार, भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनविज्ञता देखाएको छ । औषधि व्यवस्था विभागसँग यस्ता किसिमका औषधिको खराब पक्षबारे कुनै जानकार िछैन र अनुसन्धान गर्न पहल पनि भएको छैन ।

नागरिककै पहिलो पृष्ठमा तिब्बतीलाई सघाउने निर्णय अमेरिकी सिनेटले गरेको खबर पनि छ । अमेरिकी सिनेटले सन् २०१९ देखि २०२३ सम्मका लागि नेपाल र भारतमा रहेका तिब्बतीलाई सहयोग गर्ने नीति पास गरेको हो ।

नेपालले एक चीन नीति लिइरहेका बेला अमेरिकी सरकारले भने नेपालमा शरणार्थी जीवन बिताइरहेका तिब्बती नागरिकलाई सहयोग गर्ने भएको नागरिकको समाचारमा उल्लेख छ ।

राजधानी दैनिकले सरकारको सदाचार नीतिबारे प्रश्न उठाएको छ भने गोरखापत्रमा योगदानमा आधारित पेन्सन विधेयक पारित भएकोलगायत समाचार छापिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment