Comments Add Comment

छक्कबहादुर लामाका छक्कै पार्ने कुरा !

३० पुस, काठमाडौं । आमनिर्वाचन २०७४ मा हुम्लाबाट वाम गठबन्धनका विद्रोही उम्मेदवार उठेका छक्कबहादुर लामाले कांग्रेसका उम्मेदवारलाई ४७ मतले पराजित गरे । वाम गठबन्धनका आधिकारिक उम्मेदवार छिमी दोर्ची लामा उनकै आफन्त हुन् ।

कैलाश मण्डला पुस्तकका लेखक छक्कबहादुर यार्सागुम्बा आफैंले पत्ता लगाएको बताउँछन् ।

स्वतन्त्रबाटै चुनाव जितेपछि नेकपामा फर्केका लामा शाहीकालमा स्थानीय विकास सहायक मन्त्री थिए । ०४८ सालमा संयुक्त जनमोर्चाबाट सांसद निर्वाचित उनी नेकपा (माओवादी) को केन्द्रीय सदस्य पनि बने ।

०३१ सालमा काठमाडौंमा पढ्न आएका लामाले प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरे । बिरामी भएपछि घर फर्केका उनले अनुसन्धानको क्षेत्रमा लामो समय काम गरेका छन् ।

आध्यामिक गुरुका छोरा लामाले मार्क्सवाद र तान्त्रिक बुद्धिज्मको शिक्षा लिएका छन् । उनी भन्छन्, ‘आध्यामिक शिक्षा र कम्युनिष्टहरूले बुर्जुवा भन्ने गरेको आधुनिक शिक्षा पनि पढेकाले होला म आलोचनात्मक दृष्टिकोण राख्छु ।’

अहिलेको पुस्तामा अध्ययनको कमी छ । अध्ययन गर्दा पनि गाउँठाउँमा जोड्ने तन्तुहरूको अध्ययन गर्दैनन् । लिमीले लिमी पढ्दैन, हुम्लीले हुम्ला पढ्दैन । नेपालीले नेपाल पढ्दैन । अमेरिका, अस्ट्रेलिया, बेलायत पढिरहेका छौं

अब जनतासँग जोडिएका काम प्रदेश सरकारले गर्ने भएकाले उनमा जनतासँग प्रत्यक्ष जोडिने कामबाट टाढिने डर रहेछ । उनी भन्छन्, ‘कर्णालीको मुख्य चिन्ता जनताका आधारभूत आवश्यकताहरु नै हुन् । संघीय सांसद भएर काठमाडौंमा बस्दा जनताबाट टाढिने अवस्था आउन सक्छ ।’

‘वामपन्थी नेता पनि बनेँ, दक्षिणपन्थी सरकारमा बसेर पनि काम गरेँ’ लामा भन्छन्, ‘सबै भएँ, केही भइनँ, जिन्दगी बुझेर ल्याउँदा पर्यवेक्षक भइएजस्तो लाग्छ !’

हिमाली जिल्लाको कुरा !

हुम्लामा बाटोघाटो निर्माण, खाद्यन्न परियोजना जस्ता काम गरेको बताउने लामासँग हामीले उनको राजनीतिक आरोहअवरोहको विषयमा कुरा गरेका छैनौं । अनलाइनखबरले उनीसँग हिमाली जिल्ला हुम्लाको पनि माथिल्लो भेगमा पर्ने सुन्दर उपत्यका लिमीको विषयमा कुराकानी गरेको छ ।

५१ सय मिटर उचाइमा रहेको लिमीको जनजीवनमा विश्वव्यापीकरणले पारेको प्रभाव, बहुपतिप्रथा, गुम्बा संस्कृति आदिको विषयमा लामासँगको कुराकानी उनकै शब्दमाः

लिमी उपत्यकामा जाने उपर्युक्त समय भनेको चैत–बैशाखदेखि साउन–भदौ हो । नेपालगंज वा सुर्खेतबाट सिमीकोटसम्म विमानबाट जान सकिन्छ । सिमीकोटबाट तीन दिन हिंडेपछि लिमी उपत्यका पुगिन्छ । लिमी ट्रान्स हिमालय क्षेत्रमा पर्छ । यसको सिमाना चीनसँग जोडिएको छ । वैज्ञानिक रुपमा आवतजावत गर्न मिल्ने हिल्सा सिमीकोट सिमाना पुग्न भने त्यहाँबाट साढे एक दिन हिंड्नुपर्छ ।

लिमी उपत्यकाबाटै घाँसे मैदान शुरु हुन्छ । यो पाटन वा पठार क्षेत्र हो । क्षेत्रफलको हिसाबले हुम्ला देशकै दोस्रो ठूलो जिल्ला हो । जिल्लाको तल्लो भागको तुलनामा लिमीमा बसोबास भने कम छ । आवतजावत गर्न कठिन भए पनि यो लिमी अत्यन्तै सुन्दर उपत्यका हो ।

लिमी तिब्बतको बोर्डर हो । उत्तरपट्टि मानवसरोवर कैलाश पर्छ, दक्षिण पट्टि लिमी उपत्यका पर्छ । लिमीको सांस्कृतिक सम्बन्ध तिब्बतसँग छ । राजनीतिक रुपमा नेपाल भयो । विवाहवारी, भाषा, चालचलन सबै तिब्बतसँग मिल्छ ।

उनीहरूको आयस्रोतको प्रमुख आधार पशुपालन र खेतीपाती हो । जग्गा थोरै र पशुपालनमा आधारित अर्थतन्त्र बलियो छ । बर्खा यामलाई पुग्दो घाँसे मैदान छ । तर हिउँदमा ती घाँसे मैदानहरू हिउँले ढाकिन्छन् । त्यस्तो बेला उनीहरू वस्तुभाउ तिब्बततिर चराउन लैजान्थे ।

पछिल्लो समय चरण क्षेत्र तिब्बत आफैलाई पनि पुगेन । त्यसपछि लिमीवासी वस्तुभाउ लिएर तिब्बत जान पाएनन् । २०४८ सालताकासम्म तिब्बत चरण हाम्रो लागि पनि खुल्ला थियो । उता लान नपाउने भएपछि लिमीका धेरै याक, च्याङ्ग्राहरू बेचिए, केही मरे ।

त्यतिबेलासम्म तिब्बत जाने हुम्लाको सबैभन्दा ठूलो नाका लाप्चा नै थियो । तल्लो भेगका हुम्लीहरू पनि त्यही बाटो भएर जान्थे । व्यापार गर्न पनि त्यहीबाटो जाने, जनावर पाल्न पनि सजिलो थियो ।

वस्तु विनिमय बजार

तिब्बतसँग जोडिएको दुईवटा बोर्डरमा घाँसे मैदान छ । च्यापालुङ र शाक्य खोलामा घाँसे मैदान छ । बर्खा याममा यि दुबै ठाउँमा वस्तु विनिमय गर्ने बजार (बार्टर ट्रेड मार्केट) लाग्थ्यो । त्यस्तो बजार वर्षमा एक दुई महिनाका लागि खुल्थ्यो । त्यो पनि पालोपालो हुन्थ्यो । एक साल नेपालतर्फ खुल्यो भने अर्को साल तिब्बततर्फ ।

छोपा (याक, च्याङ्ग्रा पाल्ने मान्छे)हरू हाम्रो अनाज लिएर जान्थे । हामी उनीहरूसँग ऊन र नुन लिन्थ्यौं ।

ताक्लाकोट तुलनात्मक रुपमा कृषि उत्पादन पनि हुने क्षेत्र हो । सीमानामा कडाई गर्न थालेपछि चीनले ताक्लाकोटलाई व्यापारिक केन्द्रको रुपमा महत्व दिन थाल्यो । त्यसपछि सिमीकोट हिल्साको रुटलाई खुला गरिदियो । त्यो ट्रेलमा चहल–पहल बढ्ने बनाएपछि लिमीतिरको बाटो ओझेलमा पर्‍यो  ।

जनावर सबै बेचिसके । ऊन पनि बेच्न नपाउने, नुन पनि बेच्न नपाउने भएपछि हुम्लाका तीनवटा गाउँलाई धेरै गाह्रो पर्‍यो  । त्यसपछि स्थानीय रुपमा पहल गरेर हामीले छ, सात वर्षअघि मात्रै लिमीका लागि यताको बोर्डर खोल्यौं । डोजर लिएर गएर बाटो खोल्यौं ।

बाटो जोडिएको छ । तर वैधानिक रुपमा भने त्यो नाका खुलेको छैन । नीतिगत भन्दा पनि आपसी सहमतिमा आउजाउ हुन्छ ।

काठमाडौं पुग्न भारत र चीनको बाटो

लिमीबाट काठमाडौं आउन चीनको बाटो भएर आउनुपर्छ । त्यसमा पनि पछिल्लो समय चीनले कडाइ गरेको छ । काठमाडौं जानु पर्‍यो  भने लिमीबाट दुई दिन हिँडेर तक्लाकोट जानुपर्छ । त्यहाँबाट हिँडेर दार्चुला फर्कनुपर्छ । त्यहाँसम्म आउनका लागि चार–पाँच दिन लाग्छ ।

त्यसपछि भारतको पिथौरागढतिर लाग्नुपर्छ । त्यो भारतीय आर्मी क्षेत्र हो । विशेष पास लिएर मात्रै त्यहाँ जान सकिन्छ । त्यस्तो पास भएन भने भारतीय सेनाले दुःख दिन्छ ।

पिथौरागढबाट वनवासा हुँदै महेन्द्रनगर पुगेरमात्रै काठमाडौं आउन सकिन्छ । लिमीवासीलाई राजधानी आउनका लागि छिमेकी दुबै देशमा पुग्नुपर्छ ।

नेपालमा संकटकाल लागेताका चीनले कडाई गरेको हो । आफ्नो देशसँग सिमाना जोडिएका १३ वटा जिल्लाका वासिन्दालाई मात्रै चीनले आवतजावत गर्न दिने व्यवस्था गर्‍यो  । त्यसो गर्दा पनि आफ्नो जिल्लाबाट गएर त्यहीबाट फर्कनुपर्ने हुन्छ । जस्तो हुम्लाको मान्छे हुम्लाबाट आउजाउ गर्न पाउने तर अन्य जिल्लाबाट नपाउने बनायो चीनले । जसले गर्दा लिमीको मान्छेलाई दार्चुलाबाट जान गाह्रो भएको छ ।

दैनिक पाँच हजार ज्याला

हिजो तिब्बत गरिब थियो । हामी पनि गरिब थियौं । तर त्यतिबेला तिब्बत भन्दा भने हामी धनी थियौं । एक हिसाबले भन्दा हामी गरिबको धनी थियौं ।

अहिले तिब्बत धनी भएको छ । हामी गरिब छौं । लिमीवासीको श्रम बजार तिब्बत हो । उनीहरू धनी भएकाले मजदुरी गर्न जाँदा राम्रो ज्याला आउँछ । दैनिक एक सय पचासदेखि तीन सय युआन (करिब ५१०० रुपैयाँ) सम्म ज्याला पाउँछ ।

चीनमा धार्मिक मान्छे धेरै छन् । लामाहरू कम छन् । ‘कल्चरल रिभुलेसन’ले गर्दा लामा उत्पादनमा उनीहरूको ध्यान जान सकेन ।

गुम्बामा हुने ठूल्ठूला पुस्तक पढेर सुनाउन पनि लिमीका मान्छेहरू त्यहाँ जाने गरेका छन् । उनीहरूले लामा पढेर पनि राम्रो आम्दानी गरिरहेका छन् ।

बहुपति प्रथा क्रमशः हट्दै गएको छ । तर, लिमी त्यस्तो ठाउँमा हो जहाँ बहुपतिप्रथा कडाईका साथ लागु हुन्थ्यो । सामाजिक संस्थाको रुपमा रहेको गुम्बाको नियम पनि कडा मानिन्थ्यो । गुम्बा त्यसक्षेत्रको सांस्कृतिक केन्द्र पनि हो । त्यहाँको समाज त्यही गुम्बाको नियम अनुसार चल्ने हो । गुम्बा भनेको धर्म, लिखित वाङमय र संघको संयोजन हो ।

त्रिरत्न भनिन्छ नि त्यो भनेको बुद्धरत्न, धर्मरत्न र संघरत्न हो । सही नेतृत्व (बुद्धरत्न), सही विचार (धर्मरत्न) र सही संस्था (संघरत्न) हो । त्यसै अनुसारको सामाजिक मूल्य मान्यता बनेको हुन्छ । गाउँमा सामाजिक अनुशासनको काम पनि त्यसैले गरेको हुन्छ ।

दुब्लाउन थाल्यो बहुपति प्रथा

बहुपति प्रथा र गुम्बाको नियम कडा नगरी त्यहाँ मान्छे बाँच्नै गाह्रो छ । त्यही नियम मानेर मान्छेहरू फर्केर त्यही बस्न आउने हुन । हाल्जी भन्ने ठाउँमा यो अझै पनि कडा रुपमा लागु गरिएको छ । जाङ र तील गाउँमा भने दुबै नियम कमजोर बन्दै गएको छ ।

गुम्बाको नियम अनुसार त्यहाँबाट बसाईसराई जान पाइँदैन । तर धनी मान्छेहरू पैसा तिरेर, माफी माग्दै धमाधम बसाई सरिरहेका छन् । लिमीका लागि यो ठूलो दुर्भाग्य हो ।

हिमालयको उत्तरी बेल्ट सांस्कृतिक रुपमा तिब्बतको आसपासमा पर्छ । तिब्बतसँग लिंक छुटिसकेपछि लिमीमा समस्या देखिएको छ । किनभने गाउँबाट शहर र शहरबाट विदेश जाने ‘ब्रेन ड्रेन’को प्रभाव त्यहाँ पनि देखिएको छ ।

लिमी चिसो ठाउँ भएकाले उर्वरभूमिको कमी छ । त्यसैले त्यहाँ जग्गाको असाध्यै महत्व छ । मूल्य पनि महँगो छ । बहुपतिप्रथाका कारण त्यो जमिन खण्डीकरण हुन पाउँदैन । अंशबन्डा भएर जग्गा टुक्राटुक्रानहोस् भनेरी बहुपतिप्रथामा कडाई गरिएको हो । आठ–नौ पुस्तासम्म पनि मान्छे सगोलमा बसेका छन् ।

घरको बनावट हेरेर पनि बहुपतिप्रथा भएनभएको अड्कल लगाउन सकिन्छ । बहुपतिप्रथा भएको गाउँमा घर ठूला ठूला हुन्छन् । तीन तले घर हुन्छन् । बहुपतिप्रथा नभएको तल्लो क्षेत्रमा साना घर हुन्छन् ।

बहुपतिप्रथा मातृसत्ताको अवशेष पनि हो । सामान्यतया यो प्रथामा मागी विवाह हुन्छ । विवाह गर्ने बेलामा सल्लाहकार नातेदार नै हुन्छन् ।

अर्थशास्त्रमा संरचनाले उपरीसंरचना निर्धारण गर्छ भनिन्छ नि । हो त्यस्तै अर्थव्यवस्था भनेको संरचना हो । संस्कृति, राजनीति त्यसको उपरीसंरचना हो । पशुपालनमा आधारित अर्थतन्त्र पनि बहुपतिप्रथाको एउटा कारक हो । जनावर धेरै चराउनुपर्ने ठाउँमा लोग्नेमान्छेको काम धेरै आउने भयो ।

खसआर्यहरूको बसोबास रहेको तल्लो भेगमा पितृसत्ता छ । कृषिमा बढी महिलाको काम हुने भएकाले एकभन्दा बढी श्रीमती ल्याउँथे । माथिल्लो भेगमा बहुपतिप्रथा भए जस्तै तल्लो भेगमा बहुपत्नीप्रथा थियो ।

अहिले भने एक श्रीमान, एक श्रीमतीको चलन उन्मुख छ ।

क्यास इकोनोमीको प्रभाव

खासगरी ‘क्यास इकोनोमी’ले गर्दा बहुपतिप्रथामाथि चुनौति आयो । १९८० को दशकसम्म सट्टा बजार (बार्टर इनोनोमी)को चलन थियो । त्यसभन्दा अगाडि मेरो समाज पनि बहुपतिप्रथा थियो ।

गाउँको जात्रा, पुजामा जसरी पनि गाउँ फर्कन्थे । गुम्बाको क्यालेण्डरको पुरै पालना गर्थे । उनीहरू रमाउन आफ्नै गाउँघरमा फर्कन्थे । राम्रो लगाउन, मिठो खान घरमै आउनु पथ्र्यो । कालीकोटबाट मार्सी चामल ल्याएर, काँसको थालमा राखेर खान्थे । सारा कुटुम्बलाई बोलाईन्थ्यो । त्यसरी खानुपिउनुलाई शानको रुपमा हेरिन्थ्यो । त्यतिखेरको ठूलो इज्जत थियो । म साना हुँदासम्म पनि यस्तो हुन्थ्यो ।

बहुपतिप्रथामा खास श्रीमान जेठो दाइ नै हुन्थ्यो । बाँकी भाइहरू सहपति मात्रै हुन । एक किसिमले भाइहरू सहयोगी जस्ता हुन । भाइहरूको कमाइ दाइलाई बुझाउनुपथ्र्यो । खास घर चलाउने भनेको दाजु र भाउजूले नै हो । जब कि क्यास इकोनोमी भएपछि त चलाख मान्छे, धेरै कमाउने मान्छे घरमा पावर सेन्टर हुने भयो । गणतन्त्रमा राष्ट्र प्रमुख फेरिए जस्तै ।

तल्लो भेगमा भने सामुदायिक वनको प्रभाव देखियो । पहिला वनहरू सबै केन्द्र मातहत थियो । सामुदायिक वनको अवधारणा आएपछि भेडाको चरण हरायो । नौ–दश पुस्तादेखि भेडा चराउँदै आएकालाई पनि सामुदायिक वनले चरण दिएन । चराउने अधिकार नै पाएनन् । मनोमानी ढंगले उठाइएको करले पनि उनीहरूलाई सकस पार्‍यो  । जसले गर्दा भेडा पाल्ने चरणमा कमी आउन थाल्यो ।

भेडा बेचेर बोर्डिङमा पढ्न पठाएकाहरू शहरतिरै बसे । गोठालो बनाउँदा त हामीलाई हेर्छ भने विद्धान बनाउँदा झन कति राम्ररी हेरचाह गर्ला भन्ने बाबुआमाको सपना साकार भएन । जसले गर्दा वृद्धाश्रम चाहिने अवस्था बन्यो ।

अहिलेको पुस्तामा अध्ययनको कमी छ । अध्ययन गर्दा पनि गाउँठाउँमा जोड्ने तन्तुहरूको अध्ययन गर्दैनन् । लिमीले लिमी पढ्दैन, हुम्लीले हुम्ला पढ्दैन । नेपालीले नेपाल पढ्दैन । अमेरिका, अष्ट्रेलिया, बेलायत पढिरहेका छौं ।

नयाँ र पुरानोपुस्ताबीच ब्रिजिङको आवश्यकता छ । ऋषिमुनिहरू समयको हिसाब कल्पमा गर्थे । अहिले हामी मिनेट र सेकेन्डमा समयको हिसाब गरिरहेका छौं ।

छोराछोरी शहरमा बसेका परिवारका दुई/तीनजना ज्येष्ठ नागरिकको त एकदमै नराम्रो तरिकाले मृत्यु भयो । काठमाडौंमा दुईवटा घर हुनेका बाबुआमा कस्तो बिजोग तरिकाले बिते । कतिलाई त मैले नै सहयोग गरेँ ।

बाबुआमाको त्यस्तो विचल्ली भइसकेपछि दुईवटा घर काठमाडौंमा छ भनेर धाक लगाउनुको के अर्थ ? गाउँको घर भत्किएर, मक्किएर बसेको छ भने तपाई धनी भएर शहरमा बसेर मात्रै के गर्नुहुन्छ ?

तस्वीरहरूः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment