Comments Add Comment

प्रस्तावित ५ राजदूतविरुद्ध उजुरी परेन

३० पुस, काठमाडौं । संसदीय सुनुवाई समितिले विभिन्न पाँच देश तथा नियोगका लागि प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी आहृवान गरेकोमा कुनै उजुरी परेको छैन ।

१० दिनको म्याद दिएर समितिले यहि पुस १८ गते प्रस्तावित पाँच राजदूतहरुविरुद्ध उजुरी आहृवान गरेको थियो । तर, निर्धारित समय गत आइतबारसम्म कुनै उजुरी प्राप्त नभएको सुनुवाई समितिले जनाएको छ ।

उजुरी नपरेकाले अब राजदूतहरुको सीधै सुनुवाई हुनेछ । ‘हिजो (आइतबार कार्यालय समयसम्म) उजुरी दिने म्याद थियो तर, एउटै उजुरी प्राप्त भएको छैन,’ समितिका उपसचिव केशव अर्यालले भने ।

आगामी माघ २ वा ३ गते प्रस्तावित राजदूतहरुको सुनुवाई गर्ने तयारी भइरहेको छ ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले नयाँ राजदूत नियुक्तिको सिफारिस गरेको थियो । परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय तथा एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्तिको सिफारिस गरेको थियो ।

यसैगरी, दुर्गाप्रसाद भण्डारी कुवेतका लागि नेपाली राजदूतमा, भृगु ढुंगानालाई क्यानाडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा, मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment