Comments Add Comment

अमेजन मालिक डिभोर्स प्रकरणः अमेजनको भविष्य के हुन्छ ?

बिहे गरेलगत्तै म्याकेन्जी बेजोसले आफ्नो पति जेफ बेजोसलाई गाडीमा चढाएर न्युयोर्कदेखि सिएटल सम्म पुर्‍याइन् । त्यो यात्राका क्रममा नै बेजोसले भावी व्यावसायिक योजना तयार गरे, जसले अन्ततः अहिलेको विश्वको सबैभन्दा मूल्यवान कम्पनी अमेजनको सूत्रपात गर्यो ।

अहिले २५ वर्ष पछाडि पनि म्याकेन्जी पुनः ड्राइभर सिटमा छिन् । तर, फरक प्रसंग र परिस्थितिमा । २५ वर्षअघि जेफले अमेजन कम्पनीको खाका कोरेका थिए । तर अहिले उनकी डिभोर्सी म्याकेन्जी यस्तो हस्तक्षेपकारी अवस्थामा पुगेकी छिन् जसले विश्वको सबैभन्दा मूल्यवान कम्पनी अमेजनमाथि उनका भूपू लोग्नेको नियन्त्रणलाई कटौती गर्न सक्छिन् ।

विश्वको सबैभन्दा धनी दम्पति जेफ र म्याकेन्जीले गत बुधबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु वैवाहिक सम्बन्धबाट अलग्गिएको घोषणा गरे । त्यो डिभोर्स विश्वको सबैभन्दा महंगो डिभोर्स पनि भएको छ ।

यो सम्बन्ध विच्छेदसँगै कम्पनीका मालिक जेफको अमेजनमा रहेको शेयर स्वामित्व उल्लेखनीय रुपमा घट्नेछ भने म्याकेन्जी अमेजनको सबैभन्दा ठूलो शेयर होल्डर मध्येकी एक बन्नेछिन् ।

अमेरिकाको वाशिङटनको कानून अनुसार दम्पत्तीले वैवाहिक सम्बन्धमा रहँदा जोडेको सम्पत्ति डिभोर्स हुँदा आधा आधा बाँड्नु पर्दछ ।

सोही कानून अनुसार अब जेफ र म्याकेन्जीको आफूहरुको विवाहपछि स्थापित अमेजन कम्पनीमा रहेको शेयर आधा आधा बाँड्नुपर्नेछ । अर्थात् जेफ बेजोसको हालको १ खर्ब ३७ अर्ब डलरको सम्पत्तीको आधा हिस्सा म्याकेन्जीले प्राप्त गर्नेछिन् ।

यद्यपि, यो दम्पत्तिले वैवाहिक जिवनअघि वा पछि कुनै अलग सम्झौता गरेको वा डिभोर्सपछि सम्पत्तिको बाँडफाँडको सम्बन्धमा अरु कुनै समझदारी गरेको पनि हुनसक्छ । तर अहिलेसम्म त्यस्तो विषय जानकारीमा आएको छैन ।

बेजोस दम्पत्तिको क्यालिफोर्निया, टेक्सास, वाशिङटन डिसीलगायतका ठाउँमा घरजग्गा तथा सम्पत्ति रहेको छ । त्यो सबै सम्पत्ति पनि आधा आधा बाँडिनेछ ।

वकिलहरुका अनुसार बेजोसको अहिले अमेजन कम्पनीमा १६ प्रतिशत शेयर रहेको छ । डिभोर्सपश्चात् उनले पूर्वपत्नीलाई त्यसको आधा शेयर बिक्री गरेर वा ट्रान्सफर गरेर दिनुपर्नेछ ।

आफ्नो हातमा कम्पनीको ८ प्रतिशत शेयर हिस्सा परेसँगै म्याकेन्जी पनि जेफसँगै सबैभन्दा धेरै शेयर हुने मालिकमध्येमा पर्नेछिन् र उनले अमेजनमा आफ्ना निर्णयहरु लाद्ने प्रयत्न गर्न सक्छिन् । तर उनको त्यो शेयर स्वामित्व खर्बौँ डलरको कम्पनीमा नियन्त्रण कायम गर्नका लागि पर्याप्त नभएको वकिलहरु बताउँछन् ।

अमेजनका एकजना उपाध्यक्ष ड्रिउ हर्डनरले अमेजनको हरेक पक्षमा जेफ उत्तिकै तल्लीन भएर लागिरहेको बताएका छन् ।

विश्लेषकहरुका अनुसार अमेजनमा जेफ बेजोसको नेतृत्व तथा पकड फेसबुकका मार्क जुकरबर्ग तथा स्नापच्याटका इभान स्पाइजेलको जस्तो होइन । अन्य कम्पनीका मालिक तथा सीईओहरु आफ्नो बहुमत शेयर स्वामित्व तथा भोटिङ पावरको धाकमा कम्पनीमाथि नियन्त्रण जमाइरहेका हुन्छन् । तर जेफ बेजोस भने त्यसभन्दा बेग्लै सशक्त नेतृत्वदायी क्षमताका कारण दुई दशकदेखि अमेजन हाँकिरहेका छन् । त्यसैले डिभोर्ससँगै शेयर स्वामित्व घटे पनि कम्पनीमा उनको प्रभाव नघट्ने विश्लेषकहरु बताउँछन् । उसै पनि पछिल्ला वर्षहरुमा जेफ बेजोसको अमेजनमा रहेको शेयर घटिरहेको छ । उनले अमेजनको शेयर बेचेर त्यो पैसा आफ्नो रकेट कम्पनी ब्लु ओरिजिनमा लगानी गरिरहेका छन् ।

तथापि, यदि जेफ र म्याकेन्जीबीचमा अप्रत्यासित तनाव वा खिचातानी पैदा भएमा त्यसले अमेजनमा अप्रिय अवस्थाको सिर्जना गर्ने विश्लेषकहरुको भनाइ छ ।

यद्यपि, म्याकेन्जी स्वयं पनि ८ प्रतिशत शेयर स्वामित्वको आधारमा अमेजनमा घुसेर लफडा गर्ने पक्षमा नरहेको बताइन्छ । उनका सल्लाहाकारहरुले अमेजनमा नियन्त्रण गर्ने प्रयत्न प्रत्युत्पादक हुने भनी उनलाई सुझाउने गरेको बताइन्छ ।

उता, न्योयोर्क पोष्टमा प्रकाशित समाचार अनुसार म्याकेन्जीसँगको डिभोर्सलगत्तै जेफ बेजोसले अर्की एकजना महिलामाथि आँखा लगाइसकेका छन् ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment