Comments Add Comment

‘ऋणी बनाऊ, परदेशी नबनाऊ सरकार’

३० पुस, काठमाडौं । उतिमलाल यादव उमेरले ५० वर्षका भए । सिराहाका उतिमको जवानी विदेशमा काम गर्दागर्दै ढल्कियो । उनलाई अब आफ्नो भन्दा बढी पीर लाठे भएका छोराहरुको छ । छोराहरुलाई आफूजस्तै विदेशमा नोकरीमा लागि जान नपरोस् भनेर उनी सरकारबाट ऋण लिन चाहन्छन् ।

उनीजस्तै झण्डै १८ हजारभन्दा बढी युवाले सरकारसँग निवेदन नै दिएर ऋण मागेका छन् । सरकारले विदेशबाट रोजगारी गरेर फर्किएका युवालाई विना धितो ऋण दिने भनेपछि ऋणीको सूचीमा सामेल हुन धेरैजना नयाँ बानेश्वरस्थित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा टन्टलापुर घाममा लाइनमा उभिएका छन् ।

सोमबार उतिमसँगै २ हजार हजारभन्दा बढी युवा पनि यहाँ लामबद्ध भेटिए ।

लाइनमा उभिएका उतिमलाल यादव

‘मेरो त विदेश बसेरै उमेर गयो । अब छोराहरुले यहीँ केही गुरुन् भनेर ऋण लिन खोजेको,’ यादवले भने,’छोराहरुले ब्यापार गर्छु भनेका छन् । अलिकति ऋण पाइयो भने सजिलो हुन्थ्यो ।’

यादवको छेवैमा भेटिए रामेछापका चन्द्र प्रधान । उनी पनि भर्खरै मलेसिया बसेर फर्किएका हुन् । उनी युवालाई बरू ऋणी बनाउन तर, कसै गरी परदेशी नबाउन सरकारसँग आग्रह गर्छन् ।

‘देशभित्रै काम गरी खाने र परिवारसँगै खुसी भएर रहर कसलाई हुँदैन ?’ आफ्नो अघि क्यामेरा तेर्सिना साथ उनले भने, ‘सरकारले ऋण दिन्छु भनेको छ, यो ऋण पाइयो भने हामीजस्ताको दुःख टर्छ । पाइएन भने सरकारमाथिको भएको विश्वास हट्छ ।’

ऋणका लागि फारम भर्ने अन्तिम दिन भएकाले सोमबार बानेश्वर क्षेत्रमा भीड बाक्लो छ । यो भीडमा हिमालदेखि तराईसम्मका अनेकन दुःख, कथा व्यथा भएकाहरु भेटिन्छन् । तर, सबैको लक्ष्य र आशा एउटै छ, ‘सरकारबाट १० लाख ऋण लिने र स्वरोजगार बन्ने ।’

‘अनुदान दिन्छौं भनेको भए पत्याउँदिनँ थिएँ, तिर्नु नपर्ने गरी पैसा त नेताहरुले सबै आफ्ना कार्यकर्तालाई बाँड्छन्,’ प्रधानले भने, ‘ऋण लिएरै केही गर्ने सोच हो, अब यहाँ पनि सोर्सफोर्स लाउनुपर्ने हो कि भन्ने शंका चाँही छ ।’

प्रधान

ऋण पाए भने उनी गाउँमै तरकारी खेती गर्ने योजनामा छन् । ‘१० लाख ऋण सरकारले पत्यायो भने १० जनालाई गाउँमै रोजगारी दिन्छु,’ उनले भने,’पत्याएन भने साहुँसँग सय कडा तीनको ऋण काडेर म्यानपावरलाई सुम्पिएर उडिन्छ ।’

नुवकोटका श्याम प्रसाद पौडेलको योजना पनि प्रधानको भन्दा फरक छैन । भर्खरै दुबैबाट फर्किएका उनलाई पनि ऋण पाइयो भने तरकारी खेति सुरु गर्न मन छ । व्यवसायिकरुपमै तरकारी फलाएर आफ्नो जन्मथलोलाई नै ‘विदेश’ बनाउन मन छ उनलाई ।

‘यत्रो वर्ष विदेशमा दुःख गरियो, त्यो पसिना यहीँ बगाउन पाएको भए देश अर्कै हुन्थ्यो, जिन्दगी अर्कै हुन्थो होला,’ उनी भनछन्, ‘केही गरौं भन्दा पुँजीकै अभाव भइहाल्छ । यो पटक सरकारले नै दिन्छु भनेको छ, हेरौं न !’

उनलाई सरकारले आफ्नो विश्वासमा घात गर्ला भन्ने लागेको छैन । ऋण पाएपछि जमेर देशभित्र माटोसँग खेल्ने र रम्ने रहर पौडेलको छ ।

ओखढुंगाका शम्भुबहादुर क्षेत्रीले विदेशबाट फर्किएर यहाँ काम थालिसकेका छन् । काठमाडौंको पेप्सीकोलामा उनको खाजा होटल छ । तर, लगानी नपुगेकाले विस्तार गर्ने योजना अधुरै छ ।

त्यही अधुरो योजना सरकारले विनाधितो ऋण दियो भने पुरा गर्ने सोचमा छन् उनी । ‘अहिले होटल उत्ति राम्रो चलेको छैन, लगानी नै पुगेन,’ उनी सुनाउँछन्, ‘त्यत्रो वर्ष मलेसिया बसेर फर्किएँ । अब यतै केही गरौं न भन्दा पैसाले नै सताउने रहेछ । प्लान बनाएर मात्रै के गर्नु र ?’

काठमाडौंका सविन नेपाली पनि अब विदेश नजाने सोचमा छन् । दाइले चलाइरहेको कपडा पसलमा लगानी थपेर त्यसमै दाजुभाईले जोडबलका साथ बिजनेस बढाउने योजना उनको छ । त्यसैले उनी पनि यही भीडमा मिसिएर सरकारलाई आफ्नो व्यवसायिक योजना बुझाउँदैछन् ।

‘ऋण लिन पनि घन्टौं लाइन बसेर फारम बुझाउनुपर्ने देश त हाम्रो मात्रै होला’ उनी भन्छन्,’हामीसँग राम्रो योजना भएपछि त सजिलै गरी बैंकले नै दिनुपर्ने हो । अब सरकारले सिफारिस गर्नुपर्ने अरे Û’ उनलाई यो कुरा त्यति चित्त बुझेको छैन ।

पनौतीका कोकेन तामाङ पनि दुबई बसेर फर्किएका हुन् । उनी स्थानीय फर्निचरमा काम गर्दैछन् । अब आफ्नो सीप र अनुभवलाई प्रयोग गरेर उनी मालिक बन्न चाहान्छन् ।

‘ऋण गरेर भए पनि आफ्नै फर्निचर खोलौं भनेको हो, कसैले ऋण पत्याउँदैनन । अब सरकारले दिन्छु भनेको छ,’ उनी भन्छन्, ‘दियो भने त विदेश जानुपर्दैनथ्यो ।’

लमजुङका अविन न्यौपाने पनि यही हुलमा चेपिएका छन्, ऋणकै आशमा । उनलाई कसैगरी यो ऋण हात पार्न पाए हुन्थ्यो भन्ने लागेको छ । ३८ महिना विदेशमा बसेर फर्किएका उनलाई अब पनि विदेश उड्न नपरोस् भन्ने लागेको छ ।

क्याफे खोल्ने योजना लिएर सरकारको ढोकामा आइपुगेका उनलाई आफ्नो ‘पावर’ नभएकाले ऋण पाइएला भन्ने आशा झिनो मात्रै छ ।

‘अब यहाँ पनि सरकारमा भएकाहरुले आफ्नैहरुको नाम त छान्ने होलान्,’ उनी भन्छन्,’त्यसो भयो भने अर्को चुनाव पनि त आउँछ नि Û’

१० लाखसम्म सहुलियत ऋण

सरकारले विदेशबाट फर्किएर ब्यापार, व्यवसाय र इलम गर्नेहरुलाई १० लाखसम्म सहुलियत ब्याजको ऋण दिन लागेपछि यस्ता हजरौं युवाले सरकारलाई आफ्नो व्यवसायिक प्रस्ताव बुझाएका छन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले ब्याज अनुदान सम्बन्धी कार्यविधि-२०७५अनुसार विदेशबाट फर्किएकालाई पनि सहुलियत दरमा ब्याज दिन लागेको हो । त्यसका लागि राम्रो व्यवसायिक योजना भने आवश्यक पर्छ ।

सरकारले युवाले आफ्नै परियोजना नै धितोमा राखेर १० लाखसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो । त्यसका लागि परियोजना नै धितोमा राख्नुपर्छ । विदेशमा कम्तिमा ६ महिना काम गरेर फर्केकाहरुले पनि सहुलियत ब्याजदरको ऋण प्राप्त गर्नेछन् ।

५ वर्षका लागि दिइने यो ऋणमा बैंकले ब्याजको आधार दरभन्दा दुई प्रतिशत बढी ब्याज तोक्न पाउने छैनन् । सरकारले यस्ता क्षेत्रमा ऋणहरू परिचालन गर्दा ब्याजमा ५ देखि ६ प्रतिशत अनुदान दिनेछ ।

यो हुँदा ऋणीले बैंकको ब्याजदरमा आधा वा त्यसभन्दा बढी सहुलियत पाउने अवस्था बन्नेछ । यस्तो ऋणमा अतिरिक्त कुनै पनि शुल्क लिन नपाइने व्यवस्था छ ।

तर, विदेशबाट फर्किएको ३ वर्ष नाघेकालाई यस्तो ऋण दिइने छैन । यसका पनि सरकारले ५ प्रतिशत ब्याज अनुदान दिनेछ ।

१० लाखभन्दा कम ऋण दिँदा अनिवार्य निक्षेप सुरक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । कर्जा सुरक्षण गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत सरकारले नै तिर्नेछ भने बैंकले २५ प्रतिशत ब्यहोर्नेछन् । तोकिएको अवधिसम्म ऋण नतिरिए बैंकले सुरक्षण कोषबाट रकम लिन सक्छ ।

यदि लिएको ऋण नतिरेमा ऋणीलाई कालोसूचीमा राखिनेछ । सरकारले राहदानी पनि रोक्का गर्ने र ऋणीको चल/अचल सम्पत्तिको विक्री वितरणमा रोक लगाउनेछ । बैंक खाताहरु रोक्का गरेर सरकारी सेवा सुविधा खोस्ने व्यवस्था कार्यविधिमै छ ।

यही व्यवस्थामा टेकेर ऋण लिन चाहाने हजारौं युवा सरकारको ढोकामा लामबद्ध छन्, जो ऋण लिएर मालिक चाहन्छन् । तर, सरकारका मान्छेले यहाँ पनि ‘आफ्ना’लाई मात्रै मौका दिने हुन् कि भन्ने आशंका धेरैलाई देखिन्छ ।
तस्वीरः शंकर गिरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment