Comments Add Comment

लगानीको वातावरण अध्ययन गर्न जापानी टोली नेपाल आउने

३० पुष, काठमाडौं । वैदेशिक कृषि र व्यापार तथा नेपालमा लगानीको वातावरण अध्ययन गर्न जापानका सरकारी अधिकारी तथा विज्ञहरु सहितको १९ सदस्यीय टोली नेपाल आउने भएको छ ।

जापानको कृषि, बन तथा मत्स्य मन्त्रालयका बैदेशिक मामिलाका उपनिर्देशक ताकामी नकादाको नेतृत्वमा टोली नेपाल आउन लागेको हो ।

माघ ८ गते काठमाडौं आइपुग्ने टोलीले माघ १० गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नार्क लगायतसँग छलफल गर्नेछ ।

सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’सँगको भेटमा जापानी राजदुत मासामिचि साइगोले विज्ञ टोली आउने जानकारी दिएका हुन् ।

भेटमा राजदुत मासामिचिले उच्च प्रविधिमा आधारित फलफुल तथा तरकारी खेती र अर्गानिक कृषि प्रवर्द्धनमा प्राविधिक सहायता उपलब्ध गराउन जापान तयार रहेको बताए ।

जवाफमा मन्त्री खनालले उक्त विषयमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको जापान भ्रमणका क्रममा पनि छलफल भएको भन्दै थप छलफल गरेर त्यसलाई अघि बढाउन सकिने बताए ।

त्यस्तै मन्त्री खनालले बजार प्रवर्द्धन, ठूलो स्केलको फलफुल परियोजना, दीगो विकासलाई प्रत्यक्ष सहयोग पुग्ने खालका कृषिजन्य उत्पादन र यान्त्रिकरण तथा नेपाली युवा कृषकलाई कृषि तालिममा जापान पठाउने विषयमा सहयोग गर्न राजदुत मासामिचिसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment