Comments Add Comment

पश्चिमबाट हवाई रुट दिन भारतको आनाकानी

३० पुस, काठमाडौं । लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्नै लाग्दा पनि भारतले पश्चिमतर्फबाट नयाँ हवाई रुट दिन आनाकानी गरेको छ । यसले एयरपोर्ट सञ्चालनमै गम्भीर समस्या पर्ने देखिएपछि पर्यटन मन्त्री रविन्द्र अधिकारी भारतको मुम्बईतर्फ लागेका छन् ।

भारतमा हुन लागेको ‘एभीएसन समिट’मा भाग लिनका लागि भन्दै उडेको नेपाली प्रतिनिधिमण्डलको मूल लक्ष्य भने भारतसँग नयाँ एयर रुट लिने वातावरण तयार गर्नु नै रहेको पर्यटन मन्त्रालयका एक उच्च अधिककरीले बताए ।

चार वटा हवाई रुट थप्ने सहमतिबाट भारत नाटकीय रुपमा पछि हटेपछि सरकारले भारतसँग विभिन्न तवरबाट पहल गरिरहेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले भारतबाट नेपाल प्रवेशका लागि नयाँ रुट प्राप्त गर्न परराष्ट्रमनत्री स्तरबाट पहल गरिररहेको बताएका छन् ।

तर, गाँठो नफुकेपछि पर्यटनमन्त्री अधिकारी पनि आफैं आफ्ना समकक्षीसँग कुराकानी गर्ने गरी भारत उडेका छन् । उनीसँगै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम पनि भारत गएका छन् ।

‘उहाँहरु एउटा कार्यक्रमका लागि भारत जानु भएको हो । मन्त्रीज्युले कार्यक्रमलाई सम्बोधन पनि गर्नुहुनेछ । तर, अब त्यहाँ गएपछि एयर रुटसहितका जद्यल्दाबल्दा विषयमा छलफल हुन्छ नै’  प्राधिकरणका एक अधिकारीले भने,’भारतलाई पश्चिमतर्फबाट रुट लिने गरी सहमत गराउन मन्त्रीज्युको स्तरबाट हुने पहल हाम्रो तबारबाट गरिनेभन्दा केही अर्थपूर्ण नै हुन्छ ।’

गत असारको पहिलो साता काठमाडौंमा भएको वार्तामा महेन्दद्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगर रुट थप्ने सम्झौतापत्रमा हस्ताक्षर नै भएको थियो । यसलाई ओली सरकारले भारतसँग सम्बन्ध थप सुमधुर भएको प्रमाणका रुपमा अथ्र्याएको थियो ।

उक्त सहमतिअनुसार उडान सुरक्षा मूल्याकंन टुंगो लगाउन असोजमा नेपाली टोली दिल्ली गएको थियो ।  तर, ‘सेनाले मानेन’ भन्दै भारत हवाई रुट थप्ने सहमतिबाट एकाएकपछि हटेको थियो । प्राविधिक टोली फर्किएपछि सो विषय त्यसै अल्भिmएर बसेको छ ।

‘भारत जनपुर विराटनगरबाट एयर रुट दिइहाल्न सहमत छ । तर, हामीलाई नेपालगञ्ज र महेन्द्रनगरबाट तत्कालै हवाई रुट चाहिएको हो,’ प्राधिकरणका अधिकारी भन्छन्,’ प्राधिकरणको तहबाट जति प्रयास गर्दा पनि भएन । राजनीतिक तवरबाटै यसलाई टुंग्याउन जरुरी भएको  छ ।’

ती अधिकारीका अनुसार हाल नेपालगञ्ज र महेन्द्रनगरमध्ये एउटा मात्रै रुट भए पनि अत्यावश्यक छ । किनभने लुम्बिनीमा अन्तर्राष्ट्रिय एयरपेार्ट चलेपछि पश्चिमतर्फबाट आउने जहाजलाई ल्यान्डिङका लागि यी रुट सहज हुनेछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि प्रतावित पश्चिमी रुट उपयोगी हुन्छन् ।

नेपालमा अहिले चीनबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गरेका छन् ।

नेपालले नेपालगञ्ज, महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट रुट माग गरेको थियो । त्यसमा पहिले सहमति जनाएर पछि हटेको भारतलाई मन्त्रीस्तरको पहलले पनि काम गर्ला भन्नेमा प्राधिकरणका अधिकारी खासै आशावादी भने छैनन् ।

‘फेरि प्राविधिक टोली लगाऔं भनेर विषय हामीतिरै फर्काइन्छ होला, त्यसपछि अन्योलमा राखेर बाहना बनाउने काम भइरहन्छ,’ प्राधिकरणका अधिकारीहरु भन्छन्,’भारतसँग आश गरौं, भर नपरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment