Comments Add Comment

आजका पत्रपत्रिकाः ऋण नतिरेपछि प्रदेश प्रमुख २८ वर्षदेखि कालोसूचीमा

काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा अलग–अलग विषय परेका छन् । कुनैले प्रदेश प्रमुख कालोसूचीमा परेको लेखेका छन् भने केहीले जनप्रतिनिधिले कर्मचारीमाथि गर्ने दुर्व्यवहारबारे खोजीनीति गरेका छन् । त्रिवि विद्यार्थी भर्नामा भएको अनियमितता र सरकारी अड्डामा व्याप्त बिचौलियाको बोलवालाबारे पनि आजका पत्रपत्रिकाहरुले समाचार लेखेका छन् ।

गुल्मी र अर्घाखाँचीको संयुक्त शान्ति सुरक्षा समितिको सोमबार बसेको बैठकको तस्वीर छापेको कान्तिपुरले प्रदेश प्रमुख कालोसूचीमा परेको लेखेको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख (गभर्नर) मोहनराज मल्ल २८ वर्षदेखि कोलोसूचीका ऋणी भएको खुल्न आएको हो । मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि ०४७ देखि कालोसूचीमा राखिएको नेपाल बैंकलाई उद्धृत गर्दै कान्तिपुरले समाचार लेखेको छ ।

कान्तिपुरका अनुसार, मल्ल, उनका भाइ मदनबहादुरलगायत मल्ल समूहले ०४१–०४२ सालमा नेपाल बैंकबाट ९८ लाख ५३ हजार रुपैयाँ ऋण लिएका थिए । ऋण लिएको तीन वर्षपछिबाट यो समूहले साँवाव्याज केही नतिरेपछि ०४७ कात्तिक ३० देखि कालोसूचीमा राखिएको हो ।

प्रदेश प्रहरी विधेयकको चर्चा पनि कान्तिपुरले गरेको छ । समाचार अनुसार विधेयकमा डीएसपीदेखिका दरबन्दी केन्द्रमै राख्नेलगायतका व्यवस्था गरिएको छ ।

सरकारी अड्डाहरुको निरन्तर स्थलगत रिपोर्टिङ गर्दै आइरहेको अन्नपूर्णले कम्पनी रजिस्ट्रार कार्यालयबारेको रिपोर्टलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार, यो कार्यालयमा बिचौलियाको बोलवाला छ ।

तरुलमा पनि परनिर्भरता बढेको अर्को पनि अन्नपूर्णमा छ । अन्नपूर्णका अनुसार उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भउको छ । त्यसमध्ये १० प्रतिशत (करिब दुई करोड रुपैयाँको) तरुल भारतको उत्तर प्रदेशबाट आयात भएको छ । यति मात्रै होइन, नौ करोडको सखरखण्डसमेत आयात गरिएको छ ।

नागरिकले जनप्रतिनिधिले कर्मचारी कुट्पिट गर्नुको सोधीखोजीसँगै अजयराज सुमार्गीको खाता रोक्का प्रकरणमा राष्ट्र बैंक मौन बसेको लेखेको छ । माघेसंक्रान्तिमा विदेशी सखरखण्ड भित्रिएकोसम्बन्धी खबर पनि नागरिकको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

राजधानी दैनिकले त्रिवि विद्यार्थी भर्नामा भएको अनियमितताबारे समाचार छापेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको बीएस्सी इन एग्रिकल्चर भर्ना प्रक्रियामा व्यापक अनियमितता भएको हो । त्रिविले मेरिट लिस्टको रोलक्रम मिच्दै पछाडि रोलक्रम रहेका विद्यार्थीलाई भर्ना लिएपछि अनियमितताको खुलासा भएको समाचारमा लेखिएको छ ।

पुराना गाडीले सिंहदरबारका कतिपय स्थानहरुले ग्यारेजको झल्को दिन्छन् । तर अब पुराना गाडी सिंहदरबारभित्र राख्न नपाइने भएको छ । राजधानीको समाचारमा लेखिएअनुसार, थन्किएका २ सय गाडी प्रयोग गर्ने तयारी गरिएको छ ।

गोरखापत्रमा औपचारिक समाचारहरु बढी छन् । यसले भूकम्पपछिको पुनर्निर्माण सही बाटोमा अगाडि बढेको भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाएको छ । त्यस्तै, प्रधानमन्त्री युरोप भ्रमणको तयारीमा जुटेको, प्राडा गोविन्द केसीविरुद्ध इलाममा जुलुस निस्किएकोलगायत खबरलाई पनि गोरखापत्रले प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment