Comments Add Comment

प्रयागराजमा कुम्भ मेलाः गंगामा डुबुल्की मार्दा अमरत्व मिल्ने विश्वास

१ माघ, काठमाडौं । विश्वकै ठूलो मानिने कुम्भ मेला आजबाट भारतको प्रयागराजमा सुरु भएको छ । पहिलो दिन शाही स्नान सुरु भएको छ । राजयोग स्नान पनि भनिने शाही स्नानलाई कुम्भ मेलाको सुरुवात मानिन्छ ।

४९ दिनसम्म चल्ने कुम्भ मेलामा करोडौं व्यक्तिहरुले गंगा नदीमा स्नान गर्छन् । कुम्भ मेलाको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई शुभकामना दिएका छन् र कुम्भ मेलामा सहभागी हुन अपिल पनि गरेका छन् ।

आजबाट सुरु भएको कुम्भ मेला ४ मार्चमा समापन हुने छ । यसबीच मुख्य पर्वहरुमा शाही स्नान हुन्छ । शाही स्नान हेर्नका लागि प्रयागराज जिल्लाका स्कुल–कलेजमा समेत तीन दिनसम्म बिदा दिइएको छ । सवारी साधनहरुलाई शहर प्रवेशमा रोक लगाइएको छ ।

४५ वर्ग किलोमिटरसम्म मेला, १२ करोड उपस्थित हुने अनुमान

यस वर्षको कुम्भ मेलामा १२ करोड सहभागी हुने अनुमान गरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । करिब १० लाख विदेशी नागरिक पनि सहभागी हुने अनुमान छ ।

उत्तर प्रदेश सरकारले यस वर्षको कुम्भ मेला सबैभन्दा भव्य भनेको छ र सरकारले यसको प्रचार प्रसारमा निकै मेहनत गरेको छ ।

कुम्भ मेला आयोजना हुने प्रयागराज ब्रह्माण्डको उदगम स्थल मानिन्छ । पृथ्वीको केन्द्र पनि यहीँ पर्ने मान्यता छ । धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार सृष्टि निर्माण गर्नुभन्दा अगाडि ब्रह्माले यही स्थानमा अश्वमेघ यज्ञ आयोजना गरेका थिए । यहाँको गंगा नदीमा स्नान गर्नाले सुख, समृद्धि र पाप मोचन हुने धार्मिक विश्वास छ । त्यसैले प्रयागराजमा हुने कुम्भ मेलामा करोडौं मानिसहरु ओइरन्छिन् ।

यस पटक कुम्भ मेला क्षेत्र करिब ४५ वर्ग किलोमिटरसम्म फैलिएको छ । जबकी यसअघि २० वर्ग किलोमिटर क्षेत्रमा मात्र हुन्थ्यो । मेला स्थल फराकिलो बनाइएपछि स्नान क्षेत्र पनि थपिने र भिडभाड कम हुने अपेक्षा गरिएको छ ।

कुम्भ मेलाको क्रममा प्रयागराजमा टेन्टको विशाल अस्थायी शहर निर्माण हुन्छ । सरकारी तथ्यांकअनुसार कुम्भ मेला आयोजनामा यस वर्ष चार हजार करोड भारतीय रुपैयाँभन्दा बढी खर्च गरिएको छ ।

अमरताको वरदान मिल्ने विश्वास


स्थानीय प्रशासनले साधु सन्तहरुका लागि कुल १३ क्षेत्रमा शाही स्नानको समय र अवधि तोकिदिएको छ । १५ जनवरी अर्थात् आज बिहान ५ बजेर १५ मिनेटबाट शाही स्नान सुरु भएको छ र साँझ चार बजेसम्म चल्ने छ । शाही स्नानका लागि हरेक क्षेत्रमा ४५ मिनेट समय छुट्टाइएको छ ।

शाही स्नान गर्न साधुसन्तहरु सुन–चाँदीले बनेका पालकी र हात्ती–घोडा चढेर जान्छन् । उनीहरुले परम्परागत शस्त्र–अस्त्र बोकेका हुन्छन् । यसक्रममा साधु सन्तहरुले आ–आफ्नो क्षेत्रको शक्ति र वैभवको प्रदर्शन गर्दछन् । साथै शस्त्र र शास्त्रहरुको समन्वयको सन्देश पनि दिन्छन् ।

कुम्भ मेलाको बारेमा पुस्तक लेखिसकेका वरिष्ठ पत्रकार रतिभान त्रिपाठीका अनुसार शुभ साइतमा स्नान गरेमा अमरताको वरदान मिल्ने धार्मिक विश्वास छ । कुम्भ मेलाको क्रममा शाही स्नान भएपछि मात्र सर्वसाधारणलाई स्नानको लागि अनुमति दिइन्छ ।

सवा लाखभन्दा बढी शौचालय


कुम्भ मेलाका अधिकारी विजय किरण आनन्दका अनुसार शाही स्नानमा एक करोड सहभागी हुने अनुमान छ । तर पूरै कुम्भ मेला अवधिभर १२ करोड जनाले स्नान गर्ने सम्भावना छ ।

श्रद्धालुहरुको उल्लेख्य भिडलाई मध्यनजर गर्दै विशेष रेल र बस सेवा सुरु गरिएको छ । प्रशासनले सुरक्षा व्यवस्था पनि कडा पारेको छ ।

२२ हजार प्रहरी बाहेक अर्धसैनिक बलका ८० बटालियन पनि तैनाथ गरिएको छ ।

प्रशासनले पूरै मेला क्षेत्र खुल्ला शौचबाट मुक्त रहेको दावी गरेको छ । मेला क्षेत्रभर सवा लाख भन्दा बढी शौचालयको व्यवस्था गरिएको छ । तर कतिपय स्थानमा शौचालय अपूरा छन् ।

विशेषज्ञको विरोध

भारतका प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार ठाउँमा कुम्भ मेला आयोजना हुन्छ । यी सबै स्थानमा हरेक बाह्र वर्षमा कुम्भ मेला हुन्छ । प्रयागराजमा ६–६ वर्षको अन्तरालमा पनि अर्धकुम्भ मेला आयोजना हुन्छ ।

परम्परा अनुसार प्रयागराजमा यस वर्ष अर्धकुम्भ मेला पनि परेको छ । तर, सरकारले अर्धकुम्भ मेलाको नाम बदलेर कुम्भ र कुम्भको नाम बदलेर महाकुम्भ भनेको छ । सरकारको यस कदमप्रति शास्त्रीय विशेषज्ञहरुले विरोध पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment