Comments Add Comment

रिडीमा माघे संक्रान्ति मेला, श्रद्धालुलाई निःशुल्क खानपीनको व्यवस्था

१ माघ, गुल्मी । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल गुल्मीको रिडीमा माघे संक्रान्ती मेला लागेको छ । मेलामा श्रद्धालु भक्तजनको घुइँचो छ । माघे संक्रान्तिदेखि तीन दिनसम्म रिडीस्थित कालीगण्डकी नदीमा नुहाएर ऋषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । साथै देव ऋण, पितृ ऋण तिरिने र पाप नष्ट हुने बताइन्छ ।

रुरु क्षेत्र पनि भनिने रिडीमा प्राचिन समयमा देवऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । माघे संक्रान्तिको अवसरमा रिडीमा लाग्ने ठूलो मेला पाँच दिनसम्म चल्छ । मेलामा विशेषगरी कम्बल, राडी पाखी, बाँस तथा चोयाबाट निर्मित सामग्रीहरु, ओखरका घाँजी लगायतकाको राम्रो व्यापार हुने गर्दछ । रिडीमा बिभिन्न सामाग्री बिक्रीका लागि १ सय ३० वटा स्टल निर्माण गरिएको छ । मेलामा सांस्कृतिक कार्यक्रम पनि आयोजना हुन्छ ।

रुरुस्थित रुरु फ्रेण्ड क्लब, रुरु गाउँपालिकालगायत तीन जिल्लाका बिभिन्न संघ संस्थाले यस क्षेत्रमा लाग्ने मेलाको आयोजना तथा व्यवस्थित रुपमा कार्यक्रमहरु गर्दै आएका छन् । व्यापार तथा धार्मिक पर्यटनका लागि व्यापारीहरु रुकुम, रोल्पालगायतका ठाउँबाट रिडी आउने गर्दछन् ।


मन्दिर तथा मेला व्यवस्थापन समितिले टाढाटाढाबाट आउने दर्शनार्थीहरुका लागि निःशुल्क खानपानको व्यवस्था मिलाएको छ । ऐतिहासिक क्षेत्र रिडीमा माघे संक्रान्ती, एकादशी, साउने संक्रान्ती, कृष्ण अष्ठमीलगायतका पर्वहरुमा पनि मेला लाग्ने गर्दछ ।

माघे संक्रान्तिको अवसरमा गुल्मीका सेतीवेणी, रुद्रावेणी, लेक पोखरा, छापहिले, छल्दी लगायतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment