Comments Add Comment

इलामबाट डा. केसीलाई तत्काल सार्नुपर्ने अवस्था

१ माघ, इलाम । अनसन सुरु गरेको सातौं दिन पुग्दानपुग्दै डा. गोविन्द केसीलाई निमोनियाले चापेको छ ।

चिकित्सकहरुले उनलाई तत्काल आइसीयुमा राख्नुपर्ने सुझाएका छन् । तर, इलाममा आइसीयु छैन । अब डा. केसीलाई तत्कालै बिर्तामोड, धरान, विराटनगर वा काठमाडौं सार्नुपर्ने भएको छ ।

अनसन थालेको सातौं दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य स्थिति नाजुक बन्न थालेको छ । तर, केसीले औषधि उपचार लिन अस्वीकार गरिरहेका छन् ।

डा. केसीलाई निमोनिया भएको र रोग प्रतिरोध क्षमता कम हुँदै गएकाले तत्काल आइसीयूमा राख्नुपर्ने सल्लाह इलाम अस्पतालले दिएको छ । इलाम अस्पतालमा यो सेवा उपलब्ध छैन । ‘तर, डा. केसीले अस्पतालबाट एक इन्च पनि कतै नसर्ने र उपचार पनि नलिने भनेका छन्,’ केसीका सहयोगी धर्म गौतमले भने ।

जुम्लाको नियति दोहोरिने डर

सदरमुकामको फुलगाँछीस्थित सुरेन्द्र लिम्बूको निजी घरमा अनसन बसिरहेका डा. केसीलाई अनसनस्थल र अस्पताल नजिकै भएकाले बल्लतल्ल सहमत गराएर सोमबार जिल्ला अस्पताल ल्याइएको गौतमले बताए । तर, उनी जिल्ला अस्पतालबाट अन्यत्र नजाने अडानमा छन् ।

यसअघि जुम्लामा अनसन बसेका बेला पनि डा. केसीले उपचारका लागि काठमाडौं आउन मानेका थिएन् । सरकारले जबरजस्ती उनलाई उठाएर काठमाडौं ल्याउँदा अस्पतालमै झपडसमेत भएको थियो ।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा इलाममा पनि जुम्लाकै अवस्था दोहोरिने खतरा बढ्न थालेको स्थानीयको चिन्ता छ । भलै, जुम्लामा जस्तो इलाममा केसीका समर्थकहरु ठूलो संख्यामा नभएकाले उनलाई यहाँबाट सार्न झडपै गर्नुपर्ने अवस्था देखिँदैन ।

जुम्लामा डा. केसीका समर्थकहरु जसरी ठूलो संख्यामा देखिएका थिए, इलाममा भने सातौं दिनसम्म आइपुग्दा समर्थकहरु खासै बढ्न सकेका छैनन् । डा. केसीको समर्थनमा निकालिएको र्‍यालीमा एक/डेढसय मानिसहरु देखिने गरेका छन् । त्यसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य सरकार बाहिरका दलसँग आस्था राख्नेहरुको सहभागिता देखिँदै आएको छ ।

डा. केसीले राखेको ६ बुँदे मागमा कतिपय राजनीतिक र द्वन्द्वकालीन विषय पनि रहेकाले उनको अनसनलाई राजनीतिक कित्तामा राखेर हेर्न थालिएको छ । यसले गर्दा डा. केसीको समर्थनमा सत्तापक्षीय दलका कार्यकर्ताहरु सहभागी हुन हिच्किचाइरहेका छन् ।

वार्ता पनि नगर्ने अडान

औषधि लिन नमानिरहेका डा. केसीले सरकारसँग वार्ता पनि नगर्ने बताएका छन् । ‘हिजोको सहमति पूरा नगरी वार्ताको औचित्य पनि छैन, उनका सहयोगी गौतमले भने, ‘सरकारले चाहेमा संसदबाट डा. केसीको सम्झौता हुबहु कार्यान्वयन गराउन सक्छ ।’

१५ औं अनसनकै बेला वार्ता भएर सहमति भइसकेकाले अब वार्ता नगर्ने डा. केसीलाई उद्धृध गर्दै गौतमले बताए ।

समर्थन र विरोधमा दुईथरी प्रदर्शन

जुम्लामा डा. केसीको समर्थनमा मात्रै जुलुस निस्कन्थ्यो, इलाममा भने उनको विरोधमा समेत प्रदर्शन हुन थालेको छ । डा. केसीले अनसन थालेकोे दोस्रो दिनदेखि नै उनको विरोधमा लाकुरी चौतारामा अनसन शुरु गरेका विजय थापाको पक्षमा सत्तापक्षीय नेकपाका कार्यकर्ता र समर्थकहरु जुट्न थालेका छन् ।

डा. केसी र थापा दुबैको समर्थनमा दैनिकजसो स–साना प्रर्दशनहरु भइरहेका छन् । अहिलेसम्म दुबै गुटले पालो मिलाएर प्रदर्शन गरिरहेका छन् ।

डा. केसीकै विरोधमा अर्का एक युवकले इलाममा एकैपटक अनसन शुरु गरेपछि यहाँको समाज पनि दुई ध्रुबमा बाँडिन थालेको छ । दुई भिन्न–भिन्न स्वार्थ राख्ने समूहले सदरमुकामको एकै ठाउँमा प्रदर्शन गरिरहँदा चिसिएको इलामको मौसम तातिएको अनुभव गरिरहेका छन्, स्थानीयबासीले ।

तर, दुई अनसनकारी समर्थकबीच कुनै पनि बेला मुठभेड हुन सक्ने आशंकाले सर्वसाधारणमा मनोवैज्ञानिक त्रास पनि थपेको छ ।

डा. केसीका समर्थकहरुले दलीय आस्थाका आधारमा नभई डा. केसीको माग जायज भएकाले समर्थन गरेको बताइरहेका छन् भने उता सत्तापक्षीयले चाहिँ विपक्षीहरुले सरकारको विरुद्धमा डा. केसीको काँधमा बन्दुक राखेर पड्काउन खोजेको आरोप लगाउने गरेका छन् ।

इलाममा मेडिकल कलेजले सेन्टिमेट

डा. केसीको यसपटकका मागहरु मध्ये पूर्वीपहाडी जिल्लाहरुका लागि इलाममा एउटा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने भन्ने पनि छ । तर, काठमाडौंबाट आएर आफ्नै जिल्लाका लागि माग बोकेर अनसन बसेका भए पनि केसीको मागले जिल्लाबासीलाई खासै छोएको देखिँदैन ।

डा. केसीलाई विपक्षी दलको एउटा समूहले साथ दिइरहेको छ । साथै महिला र ज्येष्ठ नागरिकहरुको सानो समूहले केसीलाई सडकमा निस्केर साथ दिएको छ ।

इलाम जिल्ला वामपन्थी कार्यकर्ताहरुको गढ मानिन्छ । केसीको अनसनमा राजनीतिक गन्ध देखिएको प्रचार भएपछि वामपन्थीहरुले उनीबाट टाढै बस्न रुचाएको अहिलेसम्मको अवस्थाले संकेत गरेको छ ।

यो पनि पढ्नुहोस इलाम नै किन रोजे डा. गोविन्द केसीले ?

काठमाडौंमा बस्ने गोविन्द केसीलाई चाहिँ इलाममा सरकारी मेडिकल कलेज चाहिने तर इलामबासीलाई चाहिँ यसको खासै मतलब नभएको पो हो कि ? अनसनको विरोधमा रहेको इलामे जनमतले त्यस्तै संकेत गरेको छ ।

अनसनका लागि इलाम आउनुपूर्व काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा डा. केसीले युवा नेता योगेश भट्टराई लगायतको खुलेर विरोध गरेका थिए । यसले पनि मेची अञ्चलमा वामपन्थी युवाहरुको सहानुभूति बटुल्न केसीका समर्थकलाई संकट परेको नेकपाका कार्यकर्ताहरु बताउँछन् ।

तर, डा. केसीका समर्थक चाहिँ अनसनलाई विस्तारै इलामबासीको साथ बढ्दै जाने विश्वासमा छन् ।

डा. केसीको सहयोग र समर्थनका लागि काठमाडौंबाट डा. अभिषेक सिंह, अभिवक्ता सुरेन्द्र भण्डारी र प्रदेश नं. ३ का एकजना सांसद इलाम आएका छन् ।

यो पनि पढ्नुहोस गोविन्द केसीको स्वास्थ्यबारे इलामका सीडीओ भन्छन्- जिल्ला अस्पताल छ, धेरै सुविधा छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment