Comments Add Comment

सुईबाट एन्टिबायोटिक लिन राजी भए डा. केसी

१ माघ, इलाम । स्वास्थ्य अवस्था बिग्रदै गएपछि इलाममा अनसनरत डा. गोविन्द केसीलाई सुईबाट एन्टिबायोटिक (आईभी एन्टिबायोटिक) औषधी दिन सुरु गरिएको छ ।

मंगलबार अस्पतालले जारी गरेको सूचनामा केसीको स्वास्थ्य अवस्था अझ कमजोर हुँदै गएकाले उनकै सहमतिमा आईभी एन्टिबायोटिक औषधी दिन सुरु गरिएको जनाइएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. वृजेशकुमार साहले केसीलाई अन्य कुनै पनि औषधी प्रयोग नगरिएको बताएका छन् ।

केसीको दायाँ फोक्सोमा निमोनिया भएको, रगतमा चिनीको मात्रा कम हुँदै गएको, मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुगेको, शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म पुगेको पनि अस्पतालले जनाएको छ ।

उनको टाउको दुखेको, पेट पोलेको, खुट्टाको मांशपेशीको दुखाइ बढेको र स्वास फेर्न अप्ठेरो हुन थालेको छ । अस्पतालले इन्फेक्सन हुन सक्ने हुनाले केसीलाई भेट्ने मानिसलाई सीमित गरी माक्स, गाउन र क्याप लगाएर मात्र भेट्न मिल्ने व्यवस्था मिलाएको छ ।

उनको मुटुको चाल अनियमित भएको हुँदा आईसीयू वा सीसीयूमा राखेर उपचार गर्न आवश्यक भएको भन्दै इलाम अस्पतालले आफ्नोमा उक्त सेवा नरहेको पनि बताएको छ ।

१५ औं अनसनका क्रममा आफूसँग सहमति भएको बुँदाको अक्षरस पालना गरी चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायत ६ बुँदे माग राखेर केसी १६ औं पटक पुस २५ गते इलाममा अनसन बसेका छन् । स्वास्थ्य अवस्था बिग्रिएपछि इलाम अस्पताल लगिएका केसीले त्यहीँ नै अनसन जारी राखेका छन् ।

यो पनि पढ्नुहोस इलामबाट डा. केसीलाई तत्काल सार्नुपर्ने अवस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment